एमाले–माओवादीको एकता भोलि नै, केन्द्रीय सदस्य ४ सय ४१ हुने

काठमाडौं– एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर बन्ने नेपाल कम्युनिष्ट पार्टीमा चार सय ४१ जना केन्द्रीय सदस्य रहने भएका छन्। बुधबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले स्थायी समिति बैठकमा अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग केन्द्रीय सदस्य चार सय ४१ रहने सहमति भएको जानकारी गराएका हुन्।

यसमा दुई सय ४१ एमाले र २ सय माओवादीबाट रहनेछन्। स्थायी समिति बैठकपछि प्रवक्ता योगेश भट्टराईले दिएको जानकारीअनुसार ४३ सदस्यीय स्थायी समिति बनाउने सहमति भएको अध्यक्ष ओलीले बैठकलाई जानकारी गराएका छन्।

यसमा एमालेबाट २५ जना र माओवादीबाट १८ जना रहनेछन्। महाधिवेशनसम्म ओली र दाहाल दुवैजना अध्यक्ष रहने भएका छन्। यस्तै उपाध्यक्ष वामदेव गौतमले बिहीबार बिहान पार्टी एकता समन्वय समितिको बैठक आवश्यक निर्णय लिने र बेलुकी औपचारिक घोषणा हुने जानकारी दिए। एकीकृत पार्टीको चुनाव चिन्ह सूर्य रहने सहमति भएको छ। बुधबार बिहान ओली र दाहालबीच बसेको ‘वान टु वान’ छलफल गरेका थिए।

सहमतिबारे जानकारी गराउन माओवादी केन्द्रको हेडक्वाटर बैठक पनि अध्यक्ष दाहालको निवास खुमलटारमा बसिरहेको छ।

बिहीबार बिहान १० बजे बस्ने एकता संयोजन समितिको बैठकपछि दुवै पार्टीले केन्द्रीय समितिको अन्तिम बैठक बोलाएका छन्।

जेष्ठ २, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू