एमाले र माओवादी एकीकरणका लागि यस्तो छ कानुनी व्यवस्था

काठमाडौं– एकीकरणको संघारमा पुगेका एमाले र माओवादीले कानुनी रुपमा एकीकरण भएको मान्यता पाउन बढीमा ९० दिन लाग्ने भएको छ। दल एकीकारणको घोषणा गरेको ४५ दिनभित्र निर्वाचन आयोगमा निवेदन दिनुपर्ने र निवेदन दिएको अर्को ४५ दिनभित्र आयोगले छानबिन गरेर प्रमाणपत्र दिने कानुनी व्यवस्था भएकाले एमाले माओवादीले एकीकरण भएको मान्यता पाउन बढीमा ९० दिन लाग्ने देखिएको छ।

एकता सम्बन्धी अन्तिम निर्णय गर्न बिहीबार बिहान पार्टी एकता संयोजन समिति र दुवै पार्टीको केन्द्रीय समितिको बैठक बोलाइएको छ।

एकीकरणको कानुनी मान्यताका लागि एमाले माओवादीले शुक्रबारसम्म निर्वाचन आयोगमा निवेदन दिने तयारी गरेका छन्। फागुन ७ गते ७ बुँदे सहमति गर्दै एकीकृत पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ राख्ने निर्णय भइसकेको छ।

राजनीतिक दल सम्बन्धी ऐन, २०७४ अनुसार गाभिने वा एकीकरणमा जाने राजनीतिक दलहरुले केन्द्रीय समिति बैठकबाट औपचारिक निर्णय गराउनु पर्नेछ।

राजनीतिक दल सम्बन्धी ऐनको दफा १० (२) अनुसार पार्टी एकता गर्ने घोषणा गरेको पैँतालीस दिनभित्र एकीकरण हुने वा गाभिने दलले आफ्नो विधान, केन्द्रीय समितिको निर्णय र एकीकरण हुँदाको सम्झौतापत्रसहित निर्वाचन आयोगमा निवेदन दिनुपर्नेछ।

दलहरुले दिएको निवेदनमाथि निर्वाचन आयोगले गरी आवश्यक सम्पूर्ण प्रक्रिया पूरा भएको पाइएमा निवेदन दर्ता भएको अर्को ४५ दिननभित्र दलहरु एकीकरण भएको निर्णयसहित प्रमाणपत्र दिने व्यवस्था ऐनमा छ। यसअघि नै एकीकरण गर्ने घोषणा गरेका दुई दलले शुक्रबारसम्म औपचारिकताका लागि निवेदन दिने बताएकाले असारको मध्यसम्म एकीकृत पार्टीको मान्यता पाउने छन्।

दल एकीकरण भएको सूचना आयोगले राजपत्रमा समेत निकाल्नुपर्नेछ।

ऐनअनुसार एकीकरण हुनु दलले प्रयोग गरेको नाम, झण्डा वा चिन्ह पार्टी एकीकरण भएको एक वर्षसम्म कसैले प्रयोग गर्न पाउनेछैनन्। दुई दलबीच चुनाव चिन्ह एमालेको सूर्य राख्ने सहमति जुटेको छ।

जेष्ठ २, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू