बाम एकतालाई उपेन्द्र यादवको शुभकामना

काठमाडौँ- एमाले र नेकपा माओवादीबीचको एकतालाई संघीय समाजवादी फोरम नेपालले सकारात्मक रुपमा लिएको छ।

विराटनगरमा बिहीबार आयोजित सञ्चारकर्मी भेलाका क्रममा फोरमका अध्यक्ष उपेन्द्र यादवले दुइ बाम दलबीच हुने एकताले लोकतन्त्रलाई बलियो बनाउनेतर्फ उन्मुख रहन शुभकामना दिए। उनले भने, ‘दुई दलबीचको एकता नीति र सिद्धान्तको आधारमा हुने भएकाले त्यसले मुलुकको लोकतन्त्रलाई बलियो बनाउनेछ।’

एकताबारे विभिन्न टिकाटीप्पणी भइरहेको अवस्थामा अध्यक्ष यादवले भने, ‘दलहरु एक हुनुनै आजको आवश्यक्ता हो, फुट्नु भन्दापनि जुटेर कार्य गर्नु नै राम्रो पक्ष हो।’

त्यसैगरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुईदिन नेपाल भ्रमणका क्रममा प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतको अभिब्यक्तिलाई अध्यक्ष यादवले विवादको विषय बनाउन नहुने तर्क गरे।

उनले भने, ‘उक्त अभिब्यक्तिलाई विवादमा ल्याउनुको कुनै अर्थ छैन। उहाले प्रदेशको बस्तुस्थितिलाई उजागर गरेको मात्र हो।’

अध्यक्ष यादवले भ्रमणका क्रममा सरकारकोतर्फबाट गम्भीर त्रुटिहरु भएको आरोप लगाए।

नेपाल सरकारले भारतीय प्रधानमन्त्री मोदीलाई सुरक्षा प्रत्याभूति गराउन नसक्नु नेपाल सरकारको कमजोरी भएको आरोप लगाए।

फोरमको सरकारमा जाने सम्भावना कत्ति छ भन्ने प्रश्नमा अध्यक्ष यादवले स्पष्ट पार्दै भने, ‘आफुहरुले उठाएको मुद्धामा विचार नगरुञ्जेल र संशोधनको ग्यारेन्टी नहुन्जेल फोरम सरकारमा सहभागी हुनेछैन।’

जेठ ३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्