मेरो माटो, मेरो चन्दन (अनुभव र अनुभूतिको श्रृंखला- १०)

वीर अस्पतालका ती दिनहरु

वीर अस्पतालका काम गर्ने चिकित्सकहरु र त्यहाँका कन्सल्टेन्टहरुको बीचमा मैले कसैको माया मोलाहिजाले हैन कि मेरो क्षमताले आफूलाई स्थापित गरेको पुष्टि भइसकेको थियो। वीर टिचिङ हस्पिटल नभए पनि त्यहाँ यदाकदा क्लिनिकल मिटिङहरु हुन्थे। ती मिटिङ घरभित्र आफ्नो क्षमता प्रदर्शन गर्न राम्रो मौका हुन्थे। नयाँ–नयाँ केसहरु डिस्कस हुँदा त्यसमा डाइग्नोसिस के होला, सम्भाव्य अरु डाइग्नोसिस के होलान् भन्ने हुन्थ्यो। जसले पढेको छ त्यसले भन्न सक्ने भयो। अनि दुईचारपटक अलिक अनौठा प्रकारका रोगहरुको डाइग्नोसिस गर्दा मेरो निष्कर्ष तथ्यको धेरै नजिक पुगेको सावित भयो।

धेरैका बीचमा फलानो अलि सिपालु छ भन्ने चर्चा हुन थाल्यो। त्यहाँ इज्जत कायम गर्न सकेको थिएँ मैले।

विज्ञापन

अर्को त मैले भनिसकेँ, मेडिकल एसोसिएसनको दुई वर्षमा एकपटक हुने मिटिङमा पेपर प्रस्तुत गरेर मैले पुरस्कार पाएको थिएँ। त्यो एक किसिमले मेरो क्षमताको मान्यता पनि थियो। त्यही बेला हेक्स्ट भन्ने ड्र्ग कम्पनीले एउटा शैक्षिक सिम्पोजियम गर्‍यो याक एण्ड यति होटलमा।

नेपालका सबै जानेमानेका सर्जनहरुलाई आफ्नो कार्यपत्र प्रस्तुत गर्न सबैको समराइज गरेर त्यो टपिक्सको विषयमा ‘किनोट’ एड्रेसका लागि त्यो बेलाका अत्यन्त चर्चित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेजका प्रोफेसर आत्मप्रकाशलाई बोलाइयो। आत्मप्रकाशको सर्जरीमा अत्यन्त इज्जत-सम्मान थियो। उहाँ एउटा सानो सिम्पोजियममा भाग लिन नेपाल आउनु नै अत्यन्त ठूलो कुरा थियो।

बेलायत र क्यानडामा तालिम लिनुभएका अत्यन्त क्षमतावान शिक्षक हुनुहुन्थ्यो उहाँ। उहाँले नै एम्सको सर्जरी डिपार्टमेन्ट पुरै रिस्ट्रक्चर गर्नुभएको थियो।

आत्मप्रकाश सर्जरीमा भगवान नै मानिने। सबै अति प्रभावित उहाँसँग।

यता उहाँ आउनुभन्दा पहिला सिम्पोजियमको तयारीबारे अलिकति कुरा गरौं।

नेपालीहरु आ–आफ्ना विषयको तयारी गरिराखेका थिए। वीरका एक जना कन्सल्ट्यान्ट असाध्यै चतुर हुनुहुन्थ्यो। उहाँ कन्सल्ट्यान्ट भइसक्दा पनि आफ्ना प्रतिस्पर्धी र अरुलाई सधैं पछार्न पर्ने। वीरमा त्यो बेला एउटै लाइब्रेरी थियो। अध्ययन तथा स्रोत सामग्रीको असाध्यै अभाव। सिम्पोजियम ‘सक’ को विषयमा थियो। ‘सक’ जुन बिरामीको ब्लड प्रेसर लो भएर, इन्फेक्सनले, एलर्जिक रियाक्सन र ब्लड लस भएर हुने गर्छ। कहिलेकाहिँ मुटुले काम गर्न छाडेर पनि हुन्छ। विभिन्न किसिमका सक र कारणलाई उल्ट्याउने, पल्टाउने अवसर थियो त्यो सिम्पोजियम। सर्जनको लागि यो महत्वपूर्ण कुरा थियो।

तर त्यो सिम्पोजियम हुनुभन्दा एक महिनाअगाडि नै ती कन्सल्ट्यान्टले ‘सक’ सम्बन्धी सबै किताबहरु लाइब्रेरीबाट आफ्नो तयारीका लागि लिएर जानुभयो। अरु कन्सल्ट्यान्टहरु १५/२० दिनपछि मात्र तात्न थाल्नुभयो।

त्यो बेला परिवेशले म ६ महिना डाक्टर मुडभरीसँग काम गर्न गएको थिएँ। उहाँले पेपर सबैभन्दा कम्लिकेटेड विषयमा छान्नु भएछ।

‘सेप्टिक ‘सक’ त्यो बेलामा अत्यन्त चर्चित विषय थियो। १५ दिन बाँकी छँदा त उहाँ आत्तिन थाल्नुभयो। अनि मलाई भन्नुभयो, ‘कसरी तयार गर्नेहरु तपाईंसँग केही सामग्री छ भने तयार गर्नुस् न।’ अनि के खोज्छस् काना आँखो भनेजस्तै भयो मलाई।

मसँग सेप्टिक ‘सक’को विषयमा पहिले नै पढ्दाखेरि बनाएका नोटहरु पनि थिए। त्यसबेला अत्यन्तै चर्चित विषय भएकोले ब्रिटिस जर्नल अफ सर्जरीमा एउटा रिभ्यू आर्टिकल छापिएको थियो। त्यसको धेरैजसो अंश मैले उतारेर राखिसकेको थिएँ।

ती कन्सल्ट्यान्टले लाइब्रेरीका सबै किताब लिएर जानु हुन्छ भन्ने ‘सेन्स’ले त्यो भन्दा अगाडि नै एउटा किताब मैले लिएर गइसकेको थिएँ। उहाँ सधैं त्यसै गर्नुहुन्थ्यो। क्लिनिकल मिटिङमा आफूभन्दा जुनियरलाई नभन्ने के प्रस्तुत गर्दैछु भनेर। अनि सबैलाई उल्लु बनाएर आफूमात्र स्मार्ट बन्ने।

मैले सेप्टिक ‘सक’को सबै मेटरियल तयार गरेर त्यो सबै हुने ‘क्यासकेड’, कसरी केमिकल सिक्रेसन हुन्छ, अन्तिममा कसरी बिरामीलाई त्यसले कसरी घात गर्छ आदि सबै कुराको राम्रो स्लाइड बनाएँ। त्यो बेलामा स्लाइड दुर्लभ हुन्थ्यो। त्यो एसिटेड सिटमा लेख्नुपर्थ्यो।

एसिटेड सिट एउटाको ९० रुपैयाँ पर्ने। ६/७ सय रुपैयाँ खर्चमा। तलबभन्दा बढी। जुन पायो त्यही मसीले लेखिँदैनथ्यो। इन्डेलिबल मसी प्रयोग गर्नु पर्थ्यो। यी सबै महँगा सामाग्री किनेर स्लाइड तयार गरें।

सम्पूर्ण सामग्री डा. मुडभरीलाई देखाएँ। त्यहाँ पनि मैले स्लाइडहरुको बारेमा बताएँ। अनि उहाँले त्यो लिएर पढ्नुभयो। अरु भएको भए भन्थेनन् होला। तर डाक्टर मुडभरीले आफ्नो प्रस्तुतिको सबैभन्दा पहिले मलाई धन्यवाद दिनुभयो। यो तयार गर्न फलानाले सहयोग गर्नुभएको मात्रै हैन, यसमा उहाँको धेरै हात छ भनेर मेरो नाम लिनुभयो। त्यसमा कन्जुस्याइँ गर्नुभएन।

हामी जुनियरहरु पछाडि बसिरहेका थियौं। त्यो बेलामा सबैभन्दा थ्योरी जान्ने चर्चित नेपाली सर्जनहरुमध्ये डा.मोइन शाह हुनुहुन्थ्यो। उहाँको प्रस्तुति अरुभन्दा फरक हुने गर्थ्यो। बेलायतमा धेरै वर्ष बस्नु भएकाले होला, अलि बढी नै हेप्नुहुन्थ्यो अरुलाई। मौका पायो भने यिनीहरु कसैलाई केही आउँदैन पनि भन्दै हिँड्नुहुन्थ्यो।

उहाँले ‘सक’को ओभरभ्यू प्रस्तुत गर्नुभयो। मैले पछाडि बसेर सहकर्मी रजिस्ट्रार साथीहरुलाई भने– आज म प्रश्न गर्छु उहाँलाई। म त्यसका लागि तयार भएर गएको थिएँ। पढेर गएको थिएँ। साथीहरुका अगाडि देखाउन पनि राम्रो हुने, एम्सका प्रोफेसरले पनि थाहा पाउने, आफूलाई प्रोजेक्ट गर्ने ठाउँ पाएँ मैले। पछाडि गएर खासखुस गरेँ साथीहरुको कानमा। साथीहरुले दुनियाँलाई ठेगान लगाउने मान्छे, प्रश्न गरिस् भने तँलाई खाइदिन्छ, तेरो दुर्गति हुन्छ, चुप लागेर बस् भने मलाई। तीमध्ये अर्का रजिस्ट्रार साथी एनडी कार्की र प्राध्यापक डा. गोविन्द शर्मा जो पछि ‘भाइस चान्सलर’ पनि हुनुभयो त्रिभुवन विश्वविद्यालयको।

त्यो बेला सहकर्मी साथीहरुलाई ‘बोस’ भन्ने चलन थियो। अनि अन्तिममा म पछाडिबाट उठेँ। मैले उहाँलाई दुईवटा प्रश्न गरें। ‘सक’लाई रिभर्सिवल र इर्रिभर्सिवल दुई श्रेणीमा वर्गीकृत गर्नुभयो डा. शाहले।

इर्रिभर्सिवल भनेको फर्कन या सामान्य अवस्थामा लैजान उपाय नलाग्ने खालको भन्ने बुझिन्थ्यो। मैले डिबेट पनि गर्नु थियो। अनि मैले त्यहीँबाट उहाँमाथि अट्याक गरें। तपाईंको रिभर्सिवल र इर्रिभर्सिवलको क्लासिफिकेसन गलत छ। इर्रिभर्सिवल भनेपछि त रिभर्सिवल सकको पनि ट्रिटमेन्ट नहुने भयो। यसले नकारात्मक सन्देश दिन्छ। त्यसले गर्दा उपचारमा यथेष्ट प्रयत्न हुँदैन। त्यसकारण इर्रिभर्सिवल शब्दको साटो ‘रिफ्र्याक्टरी ‘सक’को प्रयोग गर्नु राम्रो हुन्छ, अर्थात यसमा उपचार जारी राख्नुपर्छ भन्ने सन्देश पनि जान्छ। ट्रिटमेन्टले नछुने खालको ‘सक’ ‘रिफ्र्याक्टरी स्टेज’मा पुगिसकेपछि सामान्यतया ‘इर्रिभर्सिवल’ हुन्छ। मेरा सहकर्मीहरुले ताली पिटे। प्रश्न गरेर एक किसिमले उहाँलाई निरुत्तर पारें। यद्यपि दोस्रो प्रश्नको उत्तर ठिकै दिनुभएको थियो उहाँले, जुन अहिले मैले बिर्सें।

त्यो समर्थन र डा. मुडभरीले मलाई एक्नलेज गरेपछि राति डिनरमा सबै सर्जनहरुले आत्मप्रकाशसँग मलाई चिनाउन लैजानुभो, पालैपालो। सबैको भनाइ एउटै थियो। खालि डा. गंगोलमात्रै चुप लागेर बस्नुभयो। उहाँ खालि देखाउनलाई मात्रै केही कुरा गर्नुहुन्नथ्यो। ठोस काममा विश्वास राख्ने, गर्ने पनि तर सस्तो लोकप्रियताका लागि केही नबोल्ने, यस्तो थियो उहाँको बानी। सबैले प्रशंसा गरे उहाँले किन गर्नुभएन? मलाई केही समय लागिरह्यो मनमा। सबै सर्जनको आत्मप्रकाशसँग भनाइ के रह्यो भने यो एकदम क्षमतावान डाक्टर हो, सरले आज दिउँसो देखिहाल्नुभो। उसले पढ्न पाछैन। आत्मप्रकाशले पनि त्यो लेबलको डिवेट गर्न सक्ने, पेपर तयार गर्न सक्ने र फरक मान्छे हो भन्ने बुझिसक्नु भाथ्यो।

आत्मप्रकाशको अन्तिम भनाइ के थियो भने यसलाई तीन वर्षको कोर्स पनि चाहिँदैन। यसले प्राक्टिकल सबै गरिसकेको छ, थ्योरी पनि पढ्याछ। खालि थेसिसका लागि डेढ वर्ष पायो भने म डेढ वर्षमा यसलाई एमएस गराएर पठाउन सक्छु, तीन वर्षको साटो। तपाईंहरुले यहाँबाट सरकारको अनुमोदन (अप्रुवल) लिएर पठाइदिनुभयो भने म उसलाई डेढ वर्षमा ट्रेनिङ गराएर पठाउँछु भन्नुभयो। मेरो समस्या नेपाल सरकारको सिफारिस पाउनु नै थियो। त्यो बेला प्रसंशा पाएँ तर एम्स जाने मेरो भाग्यचाहिँ बन्द थियो। छात्रवृत्ति पाउन तीन वर्षको नोकरी पनि पुगेको थिएन मेरो। अध्ययन बिदा पाउने अवस्था नै थिएन। एम्समा एप्लाइ गर्ने बितिकै देशभरिको प्रतिस्पर्धाबाट जानु पर्थ्यो। आत्मप्रकाशले भन्नु भाको भनेर चल्दैनथ्यो।

नेपालको आफ्नै कानुन, सिनियरिटी, दुर्गममा काम गरेको, सबै नम्बर जोडेर जसले पाउँथ्यो, उसैलाई पठाइन्थ्यो। म दुर्गममा पनि कहिल्यै नगाको, सिनियर पनि नभाको, मेरो त सम्भावना नै थिएन। सिम्पोजियम पछिका १/२ दिन रमाइला भए, त्यो अध्याय त्यसै समाप्त भएर गयो।

यसरी नै यी दुई चार घटनाले मैले आफूलाई अरुभन्दा बेग्लै क्षमता भएको व्यक्तिका रुपमा चिनाइसक्या थिएँ। म सर्जरीको रजिस्ट्रार भएपछि थुप्रै इन्ट्रेस्टिङ घटनाहरु भए, तर पहिला छुटेका एक दुईटा घटनाबारे म अहिले भन्न चाहन्छु।

त्यसताका हाम्रो अर्थात डाक्टर गंगोलको युनिटमा कहिल्यै पनि केस पेन्डिङ नहुने। हप्ताको दुईदिन हाम्रो रुटिन अप्रेसनको दिन पर्थ्यो। त्यो दिन नसकेका केसहरु हामी अरुलाई थाहै नदिई इमरजेन्सी भनेर शनिबार गर्थ्यौँ। अरु छुट्टी मनाउन जाने दिनमा हामी सर्जरी केस गर्थ्यौँ। डा. गंगोल सधैं ८ बजे आउने मान्छे, शनिबार चाहि साढे दस, एघारतिर आउनुहुन्थ्यो। त्योचाहिँ एउटा उद्देश्यले प्रेरित थियो। किनभने वीर हस्पिटलको अप्रेसन थिएटर सधैँ ९ बजेदेखि सफा गर्न थाल्थे र ११ बजे सिध्याउँथे। त्यो हामीलाई मात्रै थाहा थियो।

सफाइ सिद्धिएपछि हामी ओटी इन्चार्ज नर्सलाई बोलाउँथ्यौं अनि भन्थ्यौ, साँच्चि एउटा इमर्जेन्सी केस छ, हाम्रो अप्रेसन गर्नुपर्छ है! त्यसमा उनीहरु नाइँनास्ती गर्दैन थिए।

त्यसपछि एनेस्थेसिस्ट बोलायो, कसैले इमरजेन्सी होइन भनेर हामीसँग डिबेट गर्न सक्दैनथे। हामी थ्योरिटिकल कुरा उहाँहरुलाई जवाफ दिन सक्थ्यौँ। त्यसरी हामी केस क्लियर गर्ने गर्थ्यौँ।

लक्ष्मीनारायण प्रसाद डाक्टरसाप अध्याध्यै मृदुभाषी, नरम स्वभावको, इएनटीको हेड हुनुहुन्थ्यो। एक दिन बुधबारको दिन उहाँसँग भेट भयो। कताकता उहाँले थाहा पाउनु भाको रछ, डा. गंगोलको युनिटमा कहिल्यै पनि केस पेन्डिङ हुँदैन। ओटीको दिन थियो, डा. गंगोल हुनुहुन्थ्यो त्यहाँ। १२ बजे सामान्यतया हामी चिया खान जान्थ्यौं। डा. प्रसाद पनि त्यहाँ आउनुभयो। त्यही बेलामा उहाँले सोध्नुभो, ‘ए डा. गंगोल, तपाईँ कहिल्यै पनि केस पेन्डिङ राख्नुहुन्न, मैले थाहा पाएँ। तर यत्रोविधि केसहरु कसरी सिध्याउनुहुन्छ तपाईँहरु? हाम्रोमा त (इएनटी) दुई बजेपछि एनेस्थेसिया पनि दिँदैनन्। के गरी सिध्याउनुहुन्छ?’

डा. गंगोलले सोझो जवाफ दिनभो, बाँकी रहेका केसहरु इमर्जेन्सी बनाएर शनिबार गर्छु नि।

त्यो भनेको दुई मिनेटपछि डाक्टर प्रसादले त्यहाँको थिएटर इन्चार्ज नर्स हुनुहुन्थ्यो, दुर्गा शर्मा, उहाँलाई बोलाउनु भो।

ए दुर्गा यता आउ त।

 

दुर्गा आउनु भो, अनि डा. प्रसादले फ्याट्ट भन्नुभो, मेरो एउटा इमर्जेन्सी केस छ है शनिबार अप्रेसन गर्नुपर्छ। आज बुधबार मात्रै भाछ। के केस हो भनेर दुर्गाले सोध्नुभो। नाकको बीचको पार्टेसन बाँगिएको त्यसलाई नेजल डेभिएसन भन्छन्, त्यसको सेप्टोप्लास्टी। त्यो डेभिएटेड नेजल सेप्ट्रमको सेप्टोप्लास्टी गर्नु छ एउटा बिरामीको शनिबार।

अनि दुर्गाले जवाफ दिनुभो– इमरजेन्सी भए आजै गर्नु न त, शनिबारसम्म किन कुर्ने? अनि त्यो केस पनि इमर्जेन्सी हुन्छ त? दुर्गाले जवाफ दिनुभो।

डा. गंगोल ट्वाइलेटतिर कता जानुभाथ्यो, आएपछि डा. लक्ष्मीनारायणले भन्नुभो, मैले भन्दा त शनिबार हुँदैन भनिन्, तपाईँ कसरी गर्नुहुन्छ?

‘अनि म शनिबारको इमर्जेन्सी बुधबार भन्छु त? म शनिबार बिहान मात्रै भन्ने गर्छु,’ डा. गंगोलले भन्नुभयो। त्यस्तात्यस्ता रमाइला घटना हुने गर्थे।

हामी शनिबार पनि, बिहान त्यो ओटी सफा गरिसकेपछि मात्र भन्थ्यौँ। एघार बजेतिर भनेपछि साढेएघार बाह्रतिर अप्रेसन सुरु गर्थ्यौँ।

११ बजेतिर तयारी गरेर राखिएको हुन्थ्यो। हामी दुई जनालाई मात्रै थाहा हुन्थ्यो। त्यो एउटा रोचक घटना।

अनि रजिस्ट्रार भइसकेपछि म अप्रेसन गर्न धेरै सिपालु भैसकेको थिएँ। फेरि डा. गंगोलसँग काम गर्ने। उहाँ असाध्यै छिटो अनि मेटिकुलस पनि। उहाँसँग लस्याङलुसुङ गर्ने, अलि फोहोर अप्रेसन गर्ने मान्छे तग्नै नसक्ने। रिसाउन पनि उहाँ जमदग्नि।

एकपल्ट अर्को एउटा रोचक परिस्थिति उत्पन्न भो। डा. भट्टाचार्जीको रजिस्ट्रार एनडी कार्की बाहिर गाथे। उहाँको एउटा बानीबारे सबै त्रस्त हुने गर्थे। सहायकमाथि असाध्यै निर्भर पनि रहने तर चक्कु हातमा लिएपछि गाली पनि गरिहाल्ने। चक्कु हातमा लिएपछि उहाँलाई भूत चढ्ने अनि बिनाकारण पनि गाली गर्ने। अरु समय भने उहाँ एकदम नरम मिजास, नरम बोलीको।

डा. गंगोलले मलाई भट्टाचार्जीको सहायकमा खटाउनुभो। त्यहाँ त नर्सहरुबीच एकदम बाजी थापाथाप भएछ। कारण के भने डा. भट्टाचार्जीले गाली नगर्‍या मान्छे नै छैनन्, डा. देवकोटाले गाली नै खाछैन आजसम्म, अब त्यहाँ के हुने हो? त्यो त एकदमै बाजीकै लायक विषय थियो।
पहिलो पेप्टिक अल्सरको केस थियो। मैले आफ्नो उपस्थिति जनाइहालेँ। सबभन्दा पहिले बिहान साढे आठ बजे नै ओटीमा गएर सबै तयारी गरें, डा. भट्टाचार्जी आउनेबित्तिकै अप्रेसन सुरु गरौंला भन्ने सोचेर। आफ्नो युनिटको रङ्ग देखाइहालेँ। पेप्टिक अल्सरको अप्रेसन पेट खोलेर भेगस भन्ने नसा काट्नु पर्थ्यो एसिड सिक्रेसन कम गर्न। भेगस नसाले आन्द्राको एसिड सिक्रेसनसँगै त्यसको मुभमेन्ट पनि नियन्त्रण गर्छ। त्यो भैसकेपछि आमाशयबाट आन्द्रामा खाना जाने बाटो बनाइदिनु पर्‍यो, अलि ठूलो। भेगस नसा दुइटा हुन्छ। पछाडिको चाहिँ पत्ता लगाउन अलि गाह्रो हुन्छ। जो पायो उही सर्जनले पत्ता लगाउन नसकेर कहिलेकाहिँ फुडपाइप पनि चुँडालिदिन्छन्। कहिलेकाहिँ प्वाल बनाइदिन्छन्, भेगस नसाको फाइबर काटिदिन्छन् तर त्यो पत्ता लगाउन सक्दैनन्।

आमाशय र आन्द्राबीचको प्वाल ठूलो बनाउन स्ट्यान्डर्ड विधि हामीले तोकेका थियौं। डा. भट्टाचार्जी आएको थाहा पाएपछि मैले फटाफट बिरामीलाई एनेस्थेसिया दिन लगाएँ। बिरामीको अप्रेसन गर्ने पार्ट पेन्टसँगै सबै तयारी फटाफट गरेँ। अनि देब्रेतिर असिस्टेन्टको ठाउँमा उभिएँ। डा. साबलाई कुरेनौँ।

ओटीमा छिरेपछि सोध्नुभो, ‘तयार भो?’ त्यति सोधेर हात धुन जानुभो। अनि आएर दाइनेपटि चक्कु लिएर अप्रेसन सुरु गर्नुभो। म त एकदम फास्ट, अभ्यस्त। अनि अप्रेसन गर्दा जहाँजहाँ रगत आउने (ब्लिडिङ प्वाइन्ट) ठाउँमा समात्दै रगत कन्ट्रोल गर्न थालिहालेँ। त्यसपछि त उहाँले अप्रेसन स्पिड बढाउनु पर्नेभो। गर्दै जाँदा पेट खोल्न दुई मिनेट पनि लागेन। त्यही स्पिडमा काम गरेपछि उहाँ थाक्नुभो। त्यसपछि मलाई गाली गर्न त कता हो कता, ‘ल डाक्टरसाब् सिद्याउनुस् तपाईंले नै’ भनेर छोडेर हिँड्नुभो। अप्रेसन मैले आफैंले सिध्याएँ।

बाजी थाप्ने नर्सहरु छक्क परे! डा. भट्टाचार्जीको गाली नखाने मान्छे नै थिएनन्, मैले अघि नै भनेँ। मभन्दा सिनियर र अत्यन्त क्षमतावान सिनियर रजिस्ट्रार डा. एनडी कार्कीले समेत गाली खाए। उहाँ अहिले पनि दाङमा प्राक्टिस गर्नुहुन्छ। उहाँको डिग्री थिएन तर गर्न नसक्ने अप्रेसन केही पनि थिएन।

यसरी म गालीबाट बचेँ।

अनि अर्को कसैले नगर्ने अप्रेसन म गर्ने गर्थें। त्यो मैले आफैंले सिकेको। खुँडे (क्लेफ्ट लिप) लाई मिलाउने।

छुट्टीमा घर गएको बेला नजिकैको आँपपिपल हस्पिटलमा सिकेको टेक्निक थियो त्यो। जो सुकैसँग पनि सिक्नुपर्छ, जो पनि गुरु हुन सक्छ भन्ने मेरो मान्यता रहिआएको छ। म एमबीबीएस अन्तिम वर्ष पढ्दा छुट्टीमा घर गएको थिएँ। त्योबेला आँपपीपलको युएमएन हस्पिटलमा असाध्यै सिपालु सर्जन टोमस हेल हुनुहुन्थ्यो। उहाँसँग परिचय पनि गरौं र यसो दोस्ती गरेँ भने घर नजिकको अस्पतालमा पछि काम पाउने सम्भावना पनि रहने, पैसा पनि राम्रो हुने, यी सबै सोचेर। त्यो बेलासम्म मेरो कुनै ठूलो महत्वाकांक्षा थिएन। गाउँफर्क डाक्टर नै बन्ने मेरो लक्ष्य थियो। अस्पतालका टोमस हेलसँग परिचय गरें।

उनी पनि त्यति पिछडिएको ठाउँमा डाक्टरी पढ्दै गरेको केटो देखेपछि मक्ख परे। उनले ‘ल’ भनेर अप्रेसन थेटरमा आऊ भने। म पनि पसेँ। उनले यस्तो इनोभेटिव काम गर्ने, त्यो ठाउँमा। आफैंले एनेस्थेसिया ट्रेनिङ दिएको, स्टेरिलाइजेसनको टेक्निक आफ्नै तरिकाले बनाएको। सलाइनहरु काठमाडौंबाट लैजाँदा ढुवानी गाह्रो हुने, महँगो पर्ने। त्यसैले सानो प्लान्ट तयार गरेर स्थानीय तहमै त्यसको उत्पादन सुरु गरेको। पछि सरकारले अवैध भनेर त्यो प्लान्ट बन्द गराइदियो। हामी राम्रो काम बन्द गराउन कानुन लगाउँछौं।

सबै कुरा देखाए। अनि ओटीमा पसियो। उनीसँग त्यो सामान्य ८/९ कक्षा पढेका केटाकेटीले एनेस्थेसिया दिने गर्थे। सोफिस्टिकेटेट एनेस्थेसिया दिनसक्ने अवस्था थिएन। उनीचाहिँ आफैँ एनेस्थेसिया दिएर ल हेर है केटाकेटीहरुलाई भनेर अप्रेसन गर्न जान्थे। उनले जन्मिँदैदेखि खुँडे परेकाहरुको अप्रेसन गरेको देखें मैले। उनले ब्याख्या पनि गरे त्यसको। ठ्याक्क आँखामुनिबाट दुईटा नसा निक्लिन्छिन् दुईतिर, तिनलाई त्यही हड्डीबाट निस्कने प्वालमा एनेस्थेसिया झोल राखेर बन्द गरिदियो भने माथिको बंगारालाई पूरै लाटो बनाउँछ। त्यसलाई इन्फ्राअर्बिटल ब्लक भनिन्छ। उनीचाहिँ इन्फ्राअर्बिटल ब्लकपछि केही पनि नगरिकन बस्ने मज्जासँग। रगत यसो अलिअलि चुहियो भने एउटा गजपिस मुखमा राखिदिने अनि आफ्नै रगत हो आयो भने चुस्दै निल्दै गर है भन्ने। अनि रगतसँगै सलाइन पनि निल्थे बिरामीले। उनले त्यो बेला खुँडे सिलाउने मिलार्ड टेक्निक प्रयोग गर्थे।

मैले मेडिकल कलेजमा त्यसबारे सुनेको थिएँ। जाँचमा लेख्थ्यौँ। तर कुनै पनि प्रोफेसरले या क्लास टिचरले गर्न जानेका थिएनन्। त्यहाँ जनरल सर्जनले मिलार्ड टेक्निकबाट मज्जासँग गरेको देखेँ। क्लेफ्ट लिपको फ्ल्याप उठाएर गरेको देखेँ। मेरो मनमा थियो, वीर हस्पिटलमा त्यो अप्रेसन गरौँ। तर, त्यहाँ मलाई गर्न नदिने। म जुनियर नै थिएँ। तर यो अभ्यास मैले क्याम्पमा जाँदा गर्थेँ, क्याम्पमा आफैं सर्बेसर्बा भएका बेला पहाडतिर।

सामाजिक प्रताडनाचाहिँ सबैभन्दा पीडादायी हुन्छ। खुँडेहरुलाई जिस्क्याउने चलन। अनि उनीहरु जुनसुकै मूल्यमा पनि खुँडे सिलाइदे भनेर आउँथे। मैले त्यो मौका छोपेर आँपपिपलमा सिकेको इन्फर्बिटल अप्रेसन प्रयोग गरि नै राखेँ। सुरुमा कागजमा प्राक्टिस गरेँ। ड्रइङ गरेर काट्ने अनि कुन फ्ल्याप कतातिर जान्छ ए, बी, सी, डी मिलाएर सिलाउन सिक्थेँ। २/४ पटक कैंचीले कापीमा काटेर ड्रइङ गरेपछि मलाई आइडिया भैहाल्यो।

वीर अस्पतालमा एक दिन ताराबहादुर खत्री डाक्टर साबको एउटा १२/१३ वर्षको बच्चा थियो खुँडेको अप्रेसन गर्नुपर्ने। उहाँहरुचाहिँ अर्कै टेक्निकले गर्नुहुन्थ्यो। नतिजा राम्रो हुँदैनथ्यो। माथिल्लोपट्टिको ओठको ‘क्युपिड बो’ (धनुष आकृति) नष्ट हुने खालको सिलाइ हुन्थ्यो उहाँहरुको।

डाक्टर खत्री व्यस्त हुनुहुन्थ्यो।

त्यो केटाको अप्रेसन सुरु गरौं डाक्टर साब? मैले सोधें। ‘ल ल गर’ भन्नुभयो।

उहाँ आउँदाचाहिँ मैले त्यो ओठको फ्ल्याप उठाइसकेको थिएँ। उहाँलाई त विभत्स लागेछ। सिलाइ नगरेसम्म त चोसामोसा धेरै हुन्छन्। ‘ए देवकोटा के गरेको, बरबाद गर्‍यौ’ भनेर मलाई गाली गर्नुभयो। अनि मैले उहाँतिर फर्केर ‘डाक्टर साब् मिलार्ड टेक्निक गर्न लागेको’ भनेँ। सबैले मिलार्ड टेक्निक पढेका, गर्न नजानेका। ‘कसले सिकायो?’ भन्नुभयो। ‘डाक्टर साबले सिकाको हैन र’ भनें। मख्ख परेर उहाँले ‘ए हो, ल ल गर’ भनेर छाडिदिनुभयो। त्यो केटाको मैले  सर्जरी गरिदिएपछि यति राम्रो भयो कि टाँका काटेको पाँचौ दिनदेखि ऐना हेरेर बस्थ्यो बिचरा। १३ वर्षको दाङतिरको केटा। बाबुले दिएको मोटो घडी लाउँथ्यो। घडी लाको हातले ऐना समातेर यसो हेर्दै बस्थ्यो।

त्यसपछि त्यहाँका नर्सहरुले पनि थाहा पाए।

म बेलायत जानुभन्दा एकहप्ताजति अगाडि त्यहिँ ओटीमा काम गर्ने एक जना स्टाफ नर्सले राति ११ बजे मलाई विशेष अनुरोध गर्नुभयो। मेरो छिमेकीको एउटा छोरो छ, २८ वर्षको, खुँडेका कारण बिहे हुन सकेको छैन। जुनै पनि केटीले खुँडेसँग के बिहे गर्ने भन्छन्, परिवार अत्यन्तै तनावमा छन्, मैले बोलाइराखेको छु बाहिर, गर्दिनुहोस् न भन्नुभो। अब लिस्टमा राख्यौं भने कसले गर्ने हो, तपाईँले राम्रो गर्नुहुन्छ, गरिदिनुहोस् न भन्नुभो।

मैले राति नै गरिदिएँ। पाँचौ दिनका दिन टाँका काट्न पनि राति नै बोलाएँ। ऊ परेछ, कुनै पूजारीको छोरो। काठमाडौँकै कुनै मन्दिरको पुजारी। उसले म बेलायत जाने पनि थाहा पाएको रहेछ। टाँका काट्न आको दिन बाबु पनि आएका थिए, मलाई एउटा कमिज उपहार अनि, मन्दिरको अक्षता र फूलसहित। उनले डाक्टर साब् तपाईंको राम्रो होस्, कल्याण होस्, मेरो छोराको यति राम्रो गरिदिनुभयो, अब मेरो छोराको बिहे हुन्छ भन्दै खुशी व्यक्त गरे।

त्यसरी थुप्रै केटाकेटीको मैले उद्धार गरेको छु क्लेफ्ट लिपको अप्रेसन गरेर।

क्रमश:

जेष्ठ ४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्