चर्चमा बम विष्फोट गराउने अझै पत्ता लागेन

फाइल तस्बिर।

धनगढी- कैलालीको धनगढी उप–महानगरपालिका– ४ बोराडाँडीको महिमा चर्चमा बम विष्फोट गराउने व्यक्ति प्रहरीले अझै पत्ता लगाउन सकेको छैन । बैशाख २९ गते राति साढे ११ बजेतिर चर्चमा कोही नभएको समयमा बम विष्फोट भएको थियो ।

चर्चको पर्खाल बाहिर अज्ञात समुहले बम विष्फोट गराउँदा पर्खाल, चर्चको दराज, झ्याल–ढोकामा क्षति पुगेको छ । बम विष्फोट भएको १५ मिनेटपछि घटनास्थलमा प्रहरी पुगेको थियो ।

बम विष्फोट गराएको अर्कोदिन विप्लवको बन्द भएका कारण प्रहरीले विप्लव कार्यकर्तामाथि आशंका गर्दै अनुसन्धान सुरु गर्‍यो । तर, घटना भएको एक हप्ता बढी समय हुँदा पनि बम विष्फोट कसले गरायो र किन गरायो भन्ने कुरा पत्ता लागेको छैन ।

महिमा चर्चका पास्टर कैलाश करियाले प्रहरीले घटनाको अनुसन्धानमा ध्यान नदिएको गुनासो गरे । ‘घटना भए लगत्तै प्रहरीलाई जानकारी दिएँ । प्रहरी पनि आए ।’ चर्चका पाष्टर करियाले भने, ‘अनुसन्धान कार्य जारी छ भनेर मात्रै प्रहरीले जवाफ दिने गरेको छ ।’

उनले तत्काल घटनाको सत्यतथ्य छानविन गरी दोषिलाई कारवाही गर्न माग गरे । यता, प्रहरीले भने घटनामा संलग्नहरुको खोजी कार्य जारी रहेको जनाएको छ ।

‘अनुसन्धानमा प्रहरीले चासो नदिएको होईन । घटना भएदेखि नै अनुसन्धानमा लागिरहेका छौं’, कैलालीका प्रमुख प्रहरी उपरिक्षक विनोद घिमिरेले भने, ‘घटना राति भएका कारण पनि अनुसन्धानमा केही जटिलता थपिएको छ ।’

जेठ ४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्