आँखालाई स्वस्थ राख्‍न यी कुरामा ध्‍यान दिनुस्

काठमाडौ-आँखा अत्यन्तै संवेदनशील र सजिलौसँग संक्रमण हुने अंग हो। धूलो, धूवाँ, भाइरस, ब्याक्टेरिया आदिले सजिलै क्षति पुर्‍याउँन सक्छ। यसकारण आँखालाई सधै स्वस्थ राख्‍न चिकित्सहरुले सल्लाह दिने गरेका छन्।

तिलगंगा आँखा प्रतिष्ठानकी रेटिना स्पेसलिस्ट डा. रबा थापाका अनुसार आखाँलाई स्वास्थ्य राख्‍नका लागि नियमित चेक जाँच गर्नुको साथै आँखालाई प्रत्यक्ष हानी पुर्‍याउने चिजबाट समेत सचेत रहनुपर्छ। उनका अनुसार केही यस्ता उपाय छन् जसले आँखालाई स्वस्थ्य बनाउनमा सहयोग पुर्‍याउँछ।

नियमित जाँच


आँखामा समस्या नआउदा सम्म कतिपय व्यक्तिले कहिल्यै पनि आँखाको जाँच गराएका हुँदैनन्।जब समस्या आईपर्छ अनि मात्र उनीहरु आँखा अस्पताल पुग्ने गरेको पाइन्छ। तर बाल्यकालदेखि नै नियमित आँखा जँचाउनु जरुरी हुन्छ।

आँखाको देख्ने शक्ति पनि उमेरसँगै परिवर्तन भइरहेको हुन्छ। जति उमेर बढ्दै जान्छ त्यति आँखामा समस्या थपिंदै जान्छ।बेलैमा सचेत हनुपर्दछ।आँखा धेरै जसो रोग बेलैमा जँचाएर निको पार्न सकिन्छ।

उमेर बढ्दै जदाँ मधुमेह, रक्तचाप, मुटुको रोगजस्ता धेरै किसिमका रोग लाग्ने सम्भावना हुन्छ। मधुमेह वंशाणुगत पनि हुन सक्छ।यो रोगले आँखामा धेरै प्रभाव पार्न सक्ने भएकाले नियमित आँखा चेकजाँच गर्नु पर्छ भने अझै ४० वर्ष पुगेपछि आँखाको बिषेश ख्याल गरी नियमित आँखा जँचाइरहनुपर्छ।

उचित चस्माको प्रयोग


चस्माले आँखालाई धूलो, धूवाँ, कीटाणु आदिबाट बचाउने मात्र होइन, यसले आँखामा चोटपटक लाग्न तथा विकिरणबाट पनि जोगाउँछ।बजारमा व्यापारिक हिसाबमा बिक्री भइरहेका बिभिन्न रंगका चश्माले विकिरण फिल्टर गरी आँखालाई रक्षा गर्छ।बढी चमक आउने स्थान जस्तै हिउँ, पानीको सतह, घाम लागेको स्थानमा जाँदा यस्ता चस्माको प्रयोगले आँखा जोगाउन सकिन्छ। तर डाक्टरले सिफारिस गरेको चस्मा लगाउने गर्नुपर्छ।

सुरक्षा


कलकारखानामा, मेसिनरी उपकरण चलाउने ठाउँमा, घर बनाउनेजस्ता निर्माणसम्बन्धी कार्य हुने ठाउँमा काम गर्दा साना साना कणहरु उडेर आँखामा छिर्ने सम्भावना धेरै हुन्छ।त्यस्ता ठाउँमा काम गर्ने व्यक्तिले आँखाको विशेष ध्यान दिनु आवश्यक पर्छ।

यस अवस्थामा साधारण किसिमको चस्माको प्रयोग गर्न सकिन्छ। जो व्यक्ति वायरिङ गर्ने काम गर्छ उसले चाहिँ बेग्लै किसिमको कालो चस्माको प्रयोग गर्न आवश्यक छ। सामान्य कार्य जस्तै कीला ठोक्दा भित्ताको प्लास्टर उडेर आँखामा पर्न सक्छ र सोही कीला उछिट्टएिर पनि आँखामा पर्न सक्छ । त्यसैले सामान्य कुराबाट आँखालाई बचाउन पनि सधैँ सजग रहनुपर्छ।

कन्ट्याक्ट लेन्स


चस्मा वा लेन्स प्रयोग गर्दा पसलेको परामर्शमा होइन कि सम्बन्धित डाक्टरलाई जँचाएर मात्र प्रयोग गर्नुपर्छ। लेन्स लगाउँदा झनै विशेष ध्यान दिनुपर्छ । यसमा लागेको धूलो राम्ररी सफा गरेर मात्र प्रयोग गर्नुपर्छ। कसैले त मुखमा हालेर थुकले लेन्स सफा गर्ने गरेको पाइन्छ । यसरी थुकले सफा गर्दा आँखामा संक्रमण हुने सम्भावना हुन्छ।त्यसैले उचित तरिकाले लेन्स सफा गर्नुपर्छ।

आँखाको पोषण


आँखा स्वच्छ र निरोगी राख्‍न चाहिने पोषण तत्त्वमा भिटामिन ए महत्त्वपूर्ण मानिन्छ। जुन तत्त्व गाजरबाट पाउन सकिने हुनाले यसको सेवन आँखाका लागि लाभदायक हुन्छ। भिटामिन ए रेटिनाका लागि अति आवश्यक तत्व हो । यस्तै बन्दाकोपी, तोरीको साग, पालुङ्गोमा पाइन्छ।

धूमपान


धूम्रपान गर्नु स्वास्थ्यका लागि हानिकारक छ भन्ने कुरा बारम्बार सुने पनि यसका अम्मलीहरुले धूमपान गर्न छोडेको पाइँदैन। धूमपानले फोक्सोको क्यान्सर हुन सक्ने कुरा प्रायः सबैलाई थाहा भएकै कुरा हो तर डाक्टरहरुका अनुसार धूमपानले फोक्सोको क्यान्सर हुनुभन्दा अगाडि नै आँखाको दृष्टिलाई असर गरेको हुन्छ। त्यसैले आँखाका लागि धूम्रपान त्याग्नुपर्छ।

कम्प्युटरको दुरी र अवस्था विषेश ध्यान


कम्प्युटर चलाउँदा आवश्यक पर्ने केही महत्वपूर्ण कुराहरु कोठाको प्रकाश, कुर्चीको बसाई, आफूले हेर्ने बस्तुको दुरी, कम्प्युटरको मोनिटरको अवस्था र आफूले आँखालाई बेला–बेलामा दिने आराममा भर पर्छ। धेरैजसो मानिसहरु कम्प्युटरलाई आँखाभन्दा तल राख्दा आराम भएको महसुस गर्छन।जसमा कम्प्युटरको स्क्रीन आँखाको लेबलभन्दा १५–२० डिग्री वा ४–५ इन्च तल र २०–२८ इन्च पर हुनु पर्छ।

कम्प्युटरमा धेरै टाईप गर्नुपर्ने व्यक्तिले आफूले टाइप गरिरहेको डकुमेन्ट वा किताब किबोर्डभन्दा माथि र मोनिटरभन्दा तल हुनु पर्दछ।यदि त्यो सम्भब नभएमा मनिटरको छेउमा डकुमेन्ट होल्डर प्रयोग गर्न सकिन्छ।

प्रकाश


कम्प्युटरको सेटिङ गर्दा झ्याल वा चिमको प्रकाश स्क्रीनबाट परावर्तन भै आँखामा नपर्ने किसिमले सेटिंग गर्नुपर्ने हुन्छ। यदि त्यो सम्भव नभएमा झ्यालमा पर्दा र चिम थोरै वाटको राख्नुपर्छ । यदि प्रकाशको परावर्तन अझै पनि राम्रोसँग रोक्न सकिएन भने कम्प्युटरको स्क्रीनमा एन्टी–ग्लेयर फिल्टर पनि प्रयोग गर्न सकिन्छ।

वंशाणुगतका कारण


आँखाको रोग प्रायः वंशाणुगत हुन सक्छ। आफ्ना पूर्वजहरुलाई कुनै आँखाको रोग थियो की भन्‍ने कुरा परिवारबाट थाहा पाइराख्नुपर्छ । यदि त्यस्तो रहेछ भने डाक्टरलाई जानकारी दिनुपर्छ।

पोषण युक्त खाना


हरियो तरकारी, माछा आदिबाट आँखालाई चाहिने तत्व प्राप्त गर्न सकिन्छ।हरियो सागसब्जी तथा व्यायामले मधुमेहका रोगीहरुको आँखा र स्वास्थ्यमा पनि लाभ पुग्छ। समय समयमा गरिने नियमित जाँचले शरीरमा लागेको रोग छिटो पत्ता लगाउन सकिन्छ।आँखामा केही असर भएको महसुस भएमा तुरुन्त डाक्टरबाट परामर्श लिनुपर्छ।

जेठ ४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्