महानगरको विद्यालय: कक्षा एक, विद्यार्थी संख्या दुई!

पोखरा: लेखनाथ महानगरपालिका वडा नं २८ को पुरानो जनक आधारभूत विद्यालयमा अहिले कक्षा १ मा जम्मा दुई विद्यार्थी मात्रै अध्ययनरत छ।

२०१५ सालमा स्थापित स्कुलमा पछिल्लो समयमा विद्यार्थीको आकर्षण बन्न सकेको छैन। सामुदायिक स्कुलप्रति अभिभावकको विश्वास बढ्न नसकेपछि त्यसको मारमा जनक आधारभूत विद्यालय पनि परेको छ।


२०६९ सालमा जीवनाथ कुँइकेल प्रधानाध्यापक भएर आउँदा कक्षा पाँचसम्म जम्मा २५ जना विद्यार्थी थिए, तर त्यस यता निरन्तर विद्यार्थी संख्या घट्दै गयो। गत वर्ष जम्मा एक जना विद्यार्थी पढाएका प्रअ कुँइकेलले अहिले कक्षा एकमा दुई विद्यार्थीलाई पढाउँदै बसेको बताउँछन्।

विद्यार्थी नभएपछि स्थानीय तहबाट विद्यालय मर्ज गर्ने वा खारेज गर्ने भन्ने बारेमा केही निर्णय नहुँदा प्रअ कुँइकेलले जम्मा दुई छात्र छात्रालाई पढाएर मासिक ३०हजार पाँच सय तलब बुझ्दै आएका छन्। त्यसो त प्रअ कुँइकेल पनि कत्ति खुशि छैनन्। उनी भन्छन् – ‘गत वर्ष एक विद्यार्थीलाई मात्रै पढाएर बसे अहिले दुई जना छन्। कत्ति खुशी लाग्दैन। स्थानीय तहको निर्णय कुरेको बसेको, खै केही अत्तो पत्तो छैन।’

विद्यार्थी बढ्न नसक्नुको कारण बारे उनी भन्छन्, ‘अभिभावकले बोडिङ्ग स्कुलमा छोराछोरी पढाउनुलाई आफ्नो प्रतिष्ठाको विषय बनाउन थाले। शहर बजार नजिकैका बोडिङ्ग स्कुल रोज्न थालेपछि यस विद्यालयमा विद्यार्थी संख्या घट्न पुगेको हो।’ ब्यवस्थापनलाई जोड दिएर अग्रेजी माध्यममा पढाउने व्‍यवस्था गर्दा समेत विद्यार्थी बढ्न नसके पछि उनी पनि दिक्क मानेका छन्।

भूकम्पले चर्किएको विद्यालयको भाग। तस्बिरहरु: जमुना बर्षा

गत वर्ष दुई जना शिक्षक दरबन्दी रहेकोमा अहिले एक जनामा सीमित भएको छ। प्रअले नै विद्यालय ब्यवस्थापन र शिक्षकको भूमिका खेलिरहेका छन्। एक जना कार्यालय सहयोगी छन्।

झण्डै २ रोपनी क्षेत्रफलमा २ वटा पक्की भवनमा ६ वटा कोठा छन् एउटा बाल कक्षाको लागि छुट्टै भवन छ। २०७२ को भुकम्पले क्षतिग्रस्त एउटा पक्कि भवनको पुर्ननिर्माण पनि हुन सकेको छैन।

स्थानीय अभिभावक विद्यालयको ब्यवस्थापनको अभाव र गुणस्तरीय शिक्षा हुन नसक्दा छोराछोरीलाई बोडिङ्ग स्कुल खोजेर भर्ना गर्नु परेको बताउँछन्।

वडानं २८ का वडा सदस्य अम्विका बुढाथोकी भन्छिन्, ‘स्कुलको स्तरोन्नतिका लागि स्थानीय बुद्धिजिवी, अभिभावकको भेलाबाट अघि बढाउने धेरै प्रयास भए, तर अभिभावक नै इमान्दार देखिएनन्।’ छोराछोरी नै नपठाएपछि विद्यालयको भौतिक व्यवस्थापन र अन्य पक्षमा लगानी गर्न गाह्रो भो।

वडा अध्यक्ष निर्मल दियाली भन्छन्, ‘अभिभावकको रुचि नै बोर्डिङ स्कुलमा देखिएपछि यस विद्यालयमा विद्यार्थी संख्या घटन पुग्यो।’ उनले भौतिक पूर्वाधार र गुणस्तरीय शिक्षाको बारेमा स्थानीय अभिभावकको भेला गराएर आवश्यक पूर्वधार थपेर अघि बढ्न निष्कर्ष निकाले पनि कुनै अभिभावकले पनि छोराछोरी स्कुल नपठाए पछि समस्या देखिएको बताउँछन्।

उनी भन्छन् ‘ यहाँ ५७ घर धुरीमा एक कक्षा देखि तीन कक्षा पढ्ने जम्मा सात जना छन्। तिनीहरु पनि आसपासका बोडिङ्ग स्कुलमा जाँदा सो विद्यालयमा जम्मा दुई विद्यार्थी छन्।’ महानगरले विद्यालय मर्ज गर्न कि खारेज गर्ने भन्ने विषयमा स्पष्ट नीति र निर्देशन नदिदाँ ठोस कदम चालेर अघि बढ्न नसकिएको उनको भनाई छ ।

‘समुदायले विद्यालय राख्न पर्छ पनि भन्ने तर विद्यार्थी नपठाउने गर्दा अर्को समस्या भएको हो।’पोलेमहानगरपालिका २८ मा अहिले आठ वटा आधारभुत र २ वटा उच्च माध्यमिक तहका विद्यालय छन्। तर आधारभुत विद्यालयमा भने विद्यार्थी संख्या खस्कीदै गएको उनले बताए।

 

जेठ ४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्