चार बुँदे सहमतिपछि कोहलपुर साम्य

नेपालगञ्‍ज- कोहलपुरको तनाव साम्य भएको छ। विंगर भ्यानको ठक्करबाट दुई दिन अघि भएको शिक्षक ऋषिराम शर्मा चापागाईको मृत्युको विषयलाई लिएर बिहानैदेखि कोहलपुर तनावमय भएको थियो।

कोहलपुर नगरपालिका, प्रशसन, शिक्षक, विद्यार्थी र मृतकका आफन्तका बीचमा भएको छलफलमा चार बुँदे सहमति गरिएपछि तनाव साम्य भएको हो।

चार बुँदे सहमतिमा चापागाईले पढाइरहेको राम माविमा उसका परिवारका सदस्यलाई योग्यता अनुसारको रोजगार दिने , कोहलपुर नगरपालिकाले चापागाईका छोराछोरीलाई डिग्रीसम्म निशुल्क पढाइदिने, चालकलाई हदैसम्मको कारबाही गर्ने र अब आन्दोलन नगर्ने र पक्राउ परेकाहरुलाई बिना शर्त छोड्ने सहमति भएको छ।

सहमति पछि आन्दोलन रोकिएको छ भने पीडितले शवलाई बुझेका छन् । शव कोहलपुर मेडिकल कलेजमा थियो । यसअघि बिहान शिक्षक, विद्यार्थी र स्थानीयबासिन्दा उग्र भएर बजार र यातायात बन्द गरेका थिए । नाराबाजी गरेका थिए।

प्रहरीले बजार बन्द गराउदै हिड्ने तथा नाराबाजीमा अगुवाई गर्ने शिक्षक र विद्यार्थीका अगुवालाई नियन्त्रणमा लिएको थियो । यसक्रममा पाँच जनालाई नियन्त्रणमा लिइएको थियो ।

आन्दोलनले उग्ररुप लिएपछि इलाका प्रहरी कार्यालय कोहलपुर र दंगा प्रहरी गणको ठूलो टोली सडकमा उत्रिएको थियो । शिक्षक, विद्यार्थीलाई लखेटेको थियो।

बुधबार घर जाने क्रममा चापागाई चढेको भे ६ प ७८२७ नम्बरको मोटरसाइकललाई भे १ ज ६५५ नम्करको विंगर भ्यानले ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका चापागाईको राती नै उपचारको क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको थियो । आफन्तले शुक्रबार नै चापागाईको सतगत गरेका छन्।

जेठ ४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्