ब्लग

महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्रका केही प्रसङ्ग

म स्कूले विद्यार्थी हुँदा राजाको जन्मोत्सव, प्रजातन्त्र दिवस आदिका दिन स्कूलले टुँडिखेलमा लाम लगाएर लग्थ्यो । त्यसबेला रमाइलै हुन्थ्यो ।

राजा महेन्द्र छत नभएको खुला रसियन जिपमा उठेर नजिकैबाट उपस्थित सबैको अभिवादन लिँदै र हात हल्लाएर सबैलाई अभिवादन गर्दै टुँडिखेलको चारैतिर घुम्थे । राजा वीरेन्द्रको पालादेखि त्यो हट्यो । वीरेन्द्रको कतै सवारी हुँदा पनि बाटोमा सुरक्षा कडा हुन्थ्यो, झ्यालबाट हेर्न पनि मनाही थियो ।

कुनै औपचारिक शिक्षा प्राप्त नगरेका, विदेशमा बसेर राजकाजसम्बन्धी अनुभव नलिएका र राणाशासनको घेरामा हुर्केका महेन्द्रले त्यतिबेला मुलुकलाई एउटा दिशा दिएकै हो । उनको पालामा कोरेका विकासका गोरेटाहरु दूरगामी थिए भन्नुमा कञ्जुस्याईं गर्नु पर्दैन । हुन त, ती सबै उनको दिमागका मात्र उपज होइनन् ।

उनले धेरै त्यस्ता दिमागहरुलाई एकत्रित गरे, विदेशबाट ल्याएर होस् कि स्वदेशमै खोजेर । कतिपय राम्रालाई आफ्नो बनाए । उनमा सोच र दृढता नभएको भए त्यो संभव थिएन । सबै राम्रा उनका आफ्ना भएनन् वा बनाउन सकेनन्, त्यो बेग्लै पाटो हो । मविवि शाहका नाममा रचित ‘म मरे पनि मेरो देश बाँचिरहोस् …’ उनका कट्टर विरोधीलाई पनि पक्कै राम्रो लाग्छ । तथापि, उनी जनप्रतिनिधिसँग किन मिल्न सकेनन् ? एकथरी भन्छन्, महेन्द्र शासक बन्न चाहन्थे, निरंकुश थिए ।

त्यसैले जनप्रतिनिधिलाई निषेध गर्नुबाहेक तिनलाई अधिकार दिने कुरै भएन । अर्कोथरी भन्छन्, उनी राष्ट्रपे्रमी थिए र राष्ट्र बचाउन चाहन्थे । त्यसैले विरोधी (त्यतिखेर ‘अत’ अर्थात अराष्ट्रिय तत्व नाम दिइएका) लाई पाखा लगाएर शासनभार आफ्नै हातमा लिए । अधिकांश शासकको प्रवृत्ति र अभिलाषा शासक नै बन्ने हुन्छ । महेन्द्र पनि त्यस प्रवृत्तिबाट अलग थिएन ।

अशोकले सम्रात बनेपछि म शासक होइन जनताको सेवक बन्न चाहन्छु भनेका थिए । पछि निरंकुश र क्रुर बन्न पुगे, जस्को कारण उनी सबैबाट रित्तिए र अन्ततः बुद्धको शान्ति पथमा लागे । महेन्द्र कति निरंकुश थिए भन्नेचाहिँ समर्थक र विरोधीको आ–आफ्नै ठम्याइ होला ।

दुर्गानन्द झाले जनकपुरमा महेन्द्र चढेको गाडीमा बम हानेवापत मृत्युदण्ड पाए । कैयन विरोधीलाई निर्मम यातना दिएको र हत्या गरेको आरोप उनीमाथि छ । धेरैले भन्थे, महेन्द्रसँग उनका नजिकका पनि डराउँथे रे । यो शासकमा हुनुपर्ने गुण हो ।

जनप्रतिनिधिको कुरा गर्दा त्यतिखेर नेतृत्व गर्नेहरु धेरैजसो भारतमै जन्मेर, हुर्केर, दीक्षित भएर र त्यहीँकै स्वतन्त्र संग्राममा सहभागी भएका नेपाली थिए । नेपालमै बसेर संघर्ष गर्ने प्रमुख व्यक्तित्वहरु त राणाकालमै शहीद बने । यसको अर्थ भारतमा हुर्केका सबै भारतपरस्त थिए भन्न खोजेको होइन ।

राष्ट्रहित र राष्ट्रघातका कुरा गर्दा सन् १९५० को सन्धिलगायत कोशी र गण्डकी सम्झौताहरु प्रमुख विषयवस्तुका रुपमा अगाडि आउने गर्छन् । भलै, १९५० को सन्धि र कोशी सम्झौता महेन्द्रकालअघि भएका थिए । गण्डक सम्झौता पहिलो जननिर्वाचित विपि कोइरालाको सरकारको पाला (विसं २०१६ मंसिर १९) मा भएको थियो ।

त्यतिखेर कोशी र गण्डक सम्झौता भारतको हितमा बढी थियो । सन् १९६४ र १९६६ मा क्रमशः गण्डक र कोशी सम्झौतामा पुनरावलोकन गराई नेपालको पक्षमा केही हदसम्म ल्याएको श्रेय महेन्द्रलाई नै जान्छ । तर सुरुको ९९ वर्षको कोशी सम्झौतालाई १९९ वर्ष बनाएकोमा भने महेन्द्रको आलोचना हुने गरेको छ । यसबारे सत्यतथ्यसहितको विश्लेषण सम्बन्धित विज्ञहरुबाट बाहिर आउनुपर्छ ।

त्यतिखेरै पुनरावलोक हुनसक्ने र भएको विषय अहिले पनि बेमेल हटाउन पुनरावलोक हुनसक्छ, हुनुपर्छ । किन हो कुन्नी, नदिसम्बन्धी असमान सन्धि बहुदलकालमै हुने गरेको पाइन्छ । पछिल्लो पटक भएको बहुचर्चित महाकाली सन्धि त्यसको उदाहरण हो । हुनत, उक्त सन्धि नेपालको हित र अहितमा कति छ, मलाई थाहा छैन । ज्यादै विवादास्पद भएकोले मात्र कुरा उठाएको हुँ ।

महेन्द्रले सधैँको लागि पञ्चायती व्यवस्था ल्याएको थिएन र उनी आपैm चाँडै नै बहुदलीय व्यवस्थालाई पुनस्र्थापित गर्न चाहन्थे भन्ने पनि प्रचारमा आएको छ । त्यसको लागि कानुनविद् शम्भुप्रसाद ज्ञवालीलाई संविधानको मस्यौदासमेत बनाउन लगाएका थिए रे । त्यसैबीच महेन्द्रको देहान्त भयो । बहुदल फर्काउने योजना र देहान्त संयोगमात्र थियो वा अरु केही, त्यसको अब अर्थ नरहला । तर, महेन्द्रको त्यस्तो योजना थियो त उनका उत्तराधिकारी वीरेन्द्रलाई यसको जानकारी पक्कै थियो होला अर्थात उनी त्यसबारे अनभिज्ञ नहुनु पर्ने ।

किन वीरेन्द्रले बाबुको योजनालाई अघि बढाएनन् ? बेलायत, जापान लगायत अमेरिकाको हार्भर्ड विश्वविद्यालयबाट शिक्षाप्राप्त वीरेन्द्र निरंकुश प्रवृत्तिका थिएन भन्ने पनि धेरैले भन्छन् । वीरेन्द्र राजा भएको केही वर्षपछि नै विपि कोइराला राष्ट्रिय मेलमिलापको एजेण्डा लिएर प्रवासबाट फर्के । त्यसपछि विद्यार्थी आन्दोलन चक्र्यो । सुधारिएको पञ्चायती व्यवस्था वा वहुदलीय व्यवस्थाको लागि जनमत संग्रह गराए ।

सुधारिएको पञ्चायतले बहुमत पायो । पुनः २०४६ सालमा आन्दोलन भयो र बहुदलको पुनस्र्थापना भयो । वीरेन्द्रले संवैधानिक राजतन्त्र स्वीकारे । त्यसअघि बाह्यशक्तिसँग झुक्नुभन्दा नेपाली जनतासँगै झुक्ने उनले निर्णय लिएका थिए रे । त्यसपछि संवैधानिक राजतन्त्रलाई कहीँकतै उल्लंघन हुने काम उनबाट भएन ।

त्यसबाट पनि उनको प्रजातान्त्रिक छबीलाई पुष्टि गर्दछ । तथापि उनको पालामा पनि भीमनारायण श्रेष्ठ र यज्ञबहादुर थापाले मृत्युदण्ड पाएका थिए । महेन्द्रको शासनकालमा झैँ वीरेन्द्रको पालामा पनि धेरै विरोधीले यातना भोगेका र ज्यान गुमाएका थिए ।

वीरेन्द्रले नेपाललाई शान्ति क्षेत्रको प्रस्ताव किन ल्याए ? के त्यो प्रस्ताव राजतन्त्रलाई सुरक्षित राख्न र पञ्चायती व्यवस्था लम्ब्याउनमात्रै थियो ? किन विश्वका धेरै मुलुकहरुले समर्थन गरेको उक्त प्रस्ताव भारतले मानेन ? यी कुराहरु अब छर्लङ्गिएको छ कि छैन ? यसमा बहस हुनुपर्छ कि पर्दैन ? शान्ति क्षेत्रको बदला मुलुक द्वन्द्वमा फसेपछि वा फसाइएपछि वीरेन्द्रले के बुझे वा बुझ्न सकेनन् ? त्यसको लेखाजोखा खासै भएको पाइन्न । आखिर छोरीपट्टिको दुइटी नातिनीहरु (गिर्वाणी र सुरंगना राणा) बाहेक सपरिवारको हत्या भयो ।

जेजसरी हत्या भए पनि औपचारिकरुपमा जेजति बाहिर आएका छन् ती धेरैलाई अपत्यारिलो लाग्छ, भलै सत्य त्यही होला । सत्यलाई यथार्थपरक ढंगले बाहिर किन ल्याइएन ? वीरेन्द्रको हत्यापछि हत्यारा नै घोषित दिपेन्द्र (जो सबैले त्यतिबेलै मरिसकेका मान्छन् र म स्वय पनिं त्यसमा विश्वास गर्छु) लाई केही दिनको लागि राजा घोषणा गरे ।

तिनलाई राजा घोषणा गर्नुमा केही रणनीतिक कारण होलान् । उनी साँचिक्कै हत्यारा भएको भए र बाँचेका भए पनि उनलाई राजा मान्न सक्ने त थिएन । अर्थात, संवैधानिक राजतन्त्रमा हत्यारा कसरी राजा बन्न सक्छ ? बाँचेको भए बरु सत्यतथ्य निस्कन्थ्यो ।

यी कुराहरु कोट्याउनुको अर्थ त्यसपछि राजा भएका ज्ञानेन्द्रले केही गल्ती गरे । घट्नाको निस्पक्ष छानवीन अन्तराष्ट्रिय विशेषज्ञ सम्मिलित टोलीबाट गराउनु पथ्र्यो । उल्टै घट्ना भएको त्रिभुवन सदन भत्काए, सबै भौतिक प्रमाणहरु नष्ट भए । होला, त्यसो गर्नुको पछाडि पारिवारीक प्रेम र भावना जोडिएको थियो, जसको कारण घटनालाई भौतिक स्मरणबाट मेटाउन सकियोस् । त्यो पनि एउटा प्रक्रिया पुरा भएपछि गर्न सकिन्थ्यो । त्यसो नहुँदा शंकाको घेरा कहिल्यै नमेटिने भयो ।

अर्को, ज्ञानेन्द्र राजा भएपछि उनले केही कुरा भुले भने केही बढी नै महत्वाकांक्षा राखे । भुलेको कुरा, आफु कुन पृष्ठभूमिमा राजा भएका थिए । आफ्नै बलबुटाले र जनताको चाहनामा राजा भएका भए महत्वाकांक्षा राख्नु स्वभाविकै हुन्थ्यो । तर, विषम परिस्थितिमा राजा भएकाले त्यति धेरै महत्वाकांक्षा राख्नु हुन्थेन । हुनत, जुनबेला ज्ञानेन्द्रले शासन व्यवस्था आफ्नो कब्जामा लिए त्यतिखेर मुलुक एकातिर दलीयभन्दा पनि गुटिए र घोर फोहरी राजनीतिबाट आक्रान्त थियो भने अर्कोतिर मुलुक सशस्त्र द्वन्द्वको आहतमा थियो ।

त्यसैको निहुँमा यी दुबैलाई चुनौती दिँदै देख्न, सुन्न र बोल्न चाहने राजाले सत्ता आफ्नो हातमा लिए । भन्नै पर्दा, त्यतिखेर सामान्य जनताहरु खुशी भएका थिए, मुलुकले केही निकास पाउने आशामा । राजावादीहरु त खुशी नहुने कुरै भएन । त्यसबेला राजनीतिमा शत्रुका शत्रुलाई मित्र बनाउनु पर्छ वा कोही पनि सधैँको लागि शत्रु र मित्र हुन्न भन्ने सिद्धान्तविपरित ज्ञानेन्द्र लागे । त्यतिबेला नेपालका लागि अमेरिकी राजदुत जेम्स मोरियार्तीलगायतले राजनीतिक दलहरुलाई साथ लेउ भनेर दिएका सुझाव पनि उनले नमाने कै हुन् । साथै त्यसबखत जस–जसलाई प्रमुख सहयोगीका रुपमा लिए तीमध्ये धेरै म्याद नाघेका र राम्रा छबी नभएका व्यक्ति थिए ।

२०६२/६३ को आन्दोलन नियन्त्रणभन्दा बाहिर गएपछि आन्दोलनकारीको मागबमोजिम विघटित संसद पुनस्र्थापना गरि दिए । त्यहाँसम्म राजासँग निहित संवैधानिक अधिकार प्रयोग भयो । त्यही संसदमा तत्कालिन माओवादीले मनोनयनको आधारमा प्रवेश पाएपछि तीन तिहाइ मतले राजतन्त्र निलम्बित भयो । जे होस्, परिस्थिति अनुकूल नभएपछि ज्ञानेन्द्रले सहजरुपमा दरबार छोडे र त्योभन्दा पनि महत्वपूर्ण र दुरगामी कदम मुलुकभित्रै बस्ने निर्णय लिए । यो कदमले उनीमाथिको शंका उपशंका हटाउन मद्दत मिल्दै गयो ।

२०६४ साल चैत्र २८ गते सम्पन्न भएको संविधानसभाको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले राजतन्त्रलाई खारेज गरी गणतन्त्र घोषणा ग¥यो । त्यसपछि मुलुकले साढे सात वर्ष लामो संक्रमणकाल बेहोर्‍यो ।

बल्ल दोस्रो संविधानसभाले २०७२ भाद्र ३० गते संघीय लोकतान्त्रिक गणतन्त्रसहितको संविधान पारित गर्‍यो र २०७२ असोज ३ गते प्रथम राष्ट्रपति रामवरण यादवबाट नेपालको संविधान जारी भयो । यसबीचमा राजतन्त्रले कतै न कतै केही न केही ठाउँ (स्पेस) पाउन सक्ने झिनो आशासहित केही प्रत्यक्ष अप्रत्यक्ष कसरत पनि भए । तर त्यो सफल हुन सकेन ।

अहिले संविधानबमोजिमको राज्य व्यवस्था कार्यान्वयन भइसकेको छ । सत्याच्यूत भएदेखि पूर्व राजा ज्ञानेन्द्रले बेलाबेला आफ्ना असन्तुष्टिहरु र सोहीअनुरुपका सन्देशहरु दिँदै आएका छन्, जुन अहिले पनि जारी छ । आगे के हुने हो समयले देखाउला ।

जेठ ५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्