छात्र जीवनदेखि ओशोका किताब पढ्न थालेको सन् २००८ सम्म नै निर्वाधरुपले जारी रह्यो । बेलामौकामा आर्थिक कठिनाईबाट गुज्रिदाँसमेत उनका पुस्तक किन्न र पढ्न छाडिनँ ।

ओशोको निधनपछि ताहाचलस्थित आशीष ध्यान केन्द्र जान छाडेको थिएँ । ओशो प्रेमीहरुले ओशो तपोवन् स्थापना गरेको थाहा पाएर पनि म त्यस दिशामा गएको थिइनँ । बागबजारमा पत्रकारिता प्रारम्भ गरेको केही दिनमै एउटा कार्यक्रममा स्वामी अरुणसँग भेट भयो, उहाँले तपोवन आउने निमन्त्रणा दिनुभयो ।

उहाँको निमन्त्रणा स्वीकार गर्दै एक दिन त्यस दिशामा पुगियो । तपोवन विकसित हुने क्रममा थियो । स्वामी अरुणले अन्य पत्रकार साथीहरुलाई पनि तपोवन ल्याउन र लेख–रचनामार्फत त्यहाँको प्रचारप्रसार गरिदिन अनुरोध गर्नुभयो । स्वामी अरुणको व्यक्तित्व अत्यन्त शालीन रहेको सर्वविदित नै छ । उहाँको अनुरोध स्वीकार गरी मैले त्यहाँ धेरै पत्रकार साथीहरु पुर्‍याएँ । त्यसताका तपोवनले प्रबुद्ध्रवर्ग आकर्षित गर्न अनेकौ कार्यक्रमहरु आयोजना गथ्र्यो । कुनै महीना कवि, लेखकहरुलाई आमन्त्रण गर्थ्यो भने कुनै महिना ललितकलाका कलाकारलाई ।

म प्रायः सबै निम्तोमा सम्मिलित हुन्थेँ । तपोवनको तीन दिने भ्रमणमा रहँदा पनि खगेन्द्र दाइले आफ्नो बेलुकीको कार्यक्रम छाड्नु भएन । उहाँको भनाइ थियो, प्रदीपजी यहाँ कोठा बनाएर बस्नुहुन्छ, के उहाँ यहाँ आउँदा नखाई बस्न्नुहुन्छ ? मैले खाँदा के बिग्रिन्छ ? तपोवनकै एउटा यस्तै कार्यक्रममा सरिता मिश्रसँग चिनजान भएको थियो, जुन मित्रतामै परिणत भयो । उनी जुन प्रसङ्गमा पनि खुलेरै बोल्ने खुला हृदय र मष्तिष्क भएकी संगीतकार हुन् । राजधानी दैनिकको जागीरबाट निष्कासनमा परेपछि म बेरोजगार थिएँ ।

एक दिन उहाँले भन्नुभयो, ‘ल कवि, तिमी बेरोजगार छौ खर्चपानी कसरी चल्छ ? मसँग बिहे गर, तिम्रो समस्या समाधान हुन्छ ।’ मैले पनि ठट्टामै जवाफ फर्काए, ‘बिहेको संज्ञा नदिउँ । म पतिको जागीर गर्न सक्छु । हाम्रो समाजमा पतिले कमाएर पत्नीले घर हेर्ने चलन छ । हामी भने त्यस्को उल्टा गरौं ।’ यही कुरा पद्म गौतमले काठमाडौँका बेरोजगार युवा र युवा मनस्थितिमाथि लेख लेख्ने क्रममा हाम्रो यस वार्तालापको चर्चा गरिदिए ।

सरितासँग मेरो मित्रता अझै कायम छ । सांसारिक जीवनबाट विरक्तिएको दिन वा समयमा उनले सम्पर्क गर्ने साथी म नै भएको हुन्छु ।
ओशोसँग मेरो सम्बन्ध सधै झगडालु दम्पत्तिझैँ रह्यो, अन्ततः २००८ सम्म आउँदा सम्बन्ध विच्छेद नै भयो । मलाई उनको धर्मदर्शन, जीवनदर्शनमा कहिल्यै गहिरो रुचि बसेन । स्वामी अरुण पनि विस्तारै ‘गुरुडम्’ मा ओर्लिदै जानुभयो, विस्तारै उहाँसँग पनि संगत छुट्यो ।

उहाँको शालीनता र सौम्यताको भने म सधै कायल रहेँ । एक पटक भारत प्रवासमा रहँदा फोन गरेकै भरमा उहाँ मलाई भेट्न हरिद्वार कनखलस्थित पाइलट बाबा आश्रम पनि आउनु भएको थियो । आश्रम भ्रमणमा रहँदा उहाँले पाइलट बाबाद्वारा लिखित सबै पुस्तकहरु लिएर आउनुभएको मलाई स्मरणमा अझैँ ताजा छ ।

सन्यासमा हिँड्नु अगाडिसम्म तपोवन अनवरत गइन्थ्यो । ओशोका ध्याान विधिमा मलाई कहिल्यै आकर्षण भएन । मेरा लागि सधै ती ‘जिम्नास्टिक’ थिए, नाचगान थिए, त्योभन्दा बढी केही थिएनन् । तर उनको पुणे कम्युन पुग्ने धोको भने सधैं रहिरहन्थ्यो । त्यो इच्छा पूर्ण भयो, सन्यासको पहिलो यात्रामा नै । नासिक कुम्भबाट म सोझै पुणे गएर कम्युन भित्रको गेस्ट हाउसमा तीन दिनसम्म बसें । ओशो कम्युन भने सबै कुरामा पूर्ण । ध्यान कक्ष, भान्साघर, स्वीमिङ्ग पुल, साउना बाथ, जकुजी, खेल मैदान, टि–शप, पुल साइड क्याफे, पार्कका हरेक ठाउँका द्वार खुल्ने निर्दिष्ट समय ।

अति सुन्दर व्यवस्था, खोट लाउने कही, कतै, केही थिएन । तर त्यो तीन दिनको बसाइमा नै मलाई सबै कुरा कृत्रिम लाग्न थाल्यो । मानौं त्यो कुनै आश्रम नभएर अति व्यवस्थित रिसोर्ट थियो । ओशोमार्गीहरुको व्यवहार, मुस्कान, अंकमाल सबै नक्कली र देखावटी लाग्यो, मलाई । मेरो जर्मन साथी भने प्रतिदिन कम्युन जानु हुन्थ्यो म भने कोरेगाँव डुलेर बस्थे ।

२००६ को पुणे बसाइमा फेरि एकपटक कम्युन गइरहने अवसर मिल्यो । महीनामा दुई तीन पटक हामी चर्को शुल्क तिरेर त्यहाँ पुग्थ्यौं । २००७ को जनवरी महीनामा अर्को महिला मित्र यात्रो जर्मनीबाट पुणे आइन् । उनी १९८० दशककै ओशोगामी, ओशोको पछि लागेर घरपरिवार क्यारिएर सबै छाडेर अमेरिकाको ‘रजनीशपुरम्’ सम्म पुगिन् । अमेरिकाले ओशोलाई निष्काशन गरेपछि उहाँ जर्मन फर्केर ‘तन्त्र गुरु’ बन्नुभयो । ओशोको निधनपछि उहाँको यो पहिलो पुणे भ्रमण थियो ।

कम्युन, आफ्नो गुरुस्थल नजाने कुरै थिएन । हामी सबै कम्युन गयौं । ओशो कम्युनको गेटमै बनाइएको ‘वेलकम सेन्टर’ मा कार्ड नबनाइकन भित्र जाने अनुमति थिएन । हामी सबैसँग कार्ड थियो, मित्र यात्रोको कार्ड बनाउन हामी भित्र पस्यौं । डेस्कमा बसेको व्यक्तिसँग उहाँले आफु पुरानो ओशोको सन्यासी भएको र धेरै पटक पहिला कम्युन आइसकेको भनी कार्ड बनाइदिन अनुरोध गरिन् । डेस्कमा बसेको ओशो सन्यासीले नयाँ कार्ड बनाउन ठाडै भन्यो । यात्रोले एक पटक कम्प्युटरमा हेर्न अनुरोध गरिन्, उसले करले हेरे जस्तो गरेर ‘छैन, तपाईको नाम यहाँ छैन’ ओशोमार्गी पाराले जवाफ फर्कायो ।

यात्रोले नयाँ कार्ड बनाउने सबै प्रक्रिया पूरा गरिन् । कार्ड अर्को दिन मात्र बन्ने भएकाले त्यस दिन हामी फर्कियो । दोस्रो दिन काउन्टरमा जाँदा कार्ड तयार भइसकेको थियो, डेस्कमा अर्कै व्यक्ति थिए । यात्रोले एक पटक कम्प्युटरमा आफू पुरानो सन्यासी भएको विवरण छ कि हेरिदिन अनुरोध गरिन् । त्यहाँ उनको नाम मात्र होइन, फोटोसमेत र ओशोबाटै सन्यास ग्रहण गरेको प्रमाण पाइयो । यात्रो खुशी भइन्, तर यो खुशी धेरैबेर टिकेन । उनलाई ‘वेलकम टुर’ मा जान भनियो । त्यहाँ जाने नवागन्तुकलाई पहिलो दिन कम्युनमा कार्यरत मानिसले के कुरा कहाँ छ ? कुन समयमा, कुन हलमा के कार्यक्रम जानकारी दिदै कम्युन घुमाउने चलन छ ।

यात्रोले आपत्ति जनाइन्, ‘वेलकम पनि कहीँ बाध्यताले हुन्छ ? र ‘वेलकम सेन्टर’मा प्राप्त भएको कार्ड, पेपर मनी सबै च्यातेर फ्यालिदिदै भनिन् ‘बाइ ओशो, नो मोर फ्राम दिस मुमेन्ट !’ हामी सबै हतप्रभ भयौं र उनका साथ फर्कियौं । उनी एक महिनाका लागि हामीसँग बिदा मनाउन भारत आएकी थिइन् । उनलाई त्यहाँ बस्ने थप कुनै आकर्षण भएन । मैले उनलाई नेपाल घुम्न जाने प्रस्ताव गरें । यात्रोसँग नेपाल टेकेको दिन काठमाडौमा ४० वर्षपछि हिमपात भएको थियो ।

बौद्ध पुगेर होटलमा ब्याग थन्काई हामी न्यानो लुगा किन्न पसल खोज्दै हिँडेका थियौं । उनी बौद्ध स्तुपामा बसेर घन्टौं ध्यान गर्थिन् । नगरकोटमा हामीले एक साता जति बितायौं । त्यसपछि मेरो परामर्शमा उनी बुढानीलकण्ठस्थित विपासना केन्द्रको १० दिने ध्यान शिविरमा सहभागी भइन् । विपासना केन्द्रका साथै विपासना पद्धति उनलाई औंधी नै मन प¥यो । त्यसपछि उनी दुई पटक नेपाल आइन् र विपासना केन्द्रको ध्यान शिविरमा सहभागी बनिन् ।

लेखिरहेको ‘दद्दा’जीको प्रसंग पनि ओशोसँग सम्बन्धित छ । एक पटक त विचार आयो, यसलाई परिवर्तिन गरी अन्य कसैसँग जोडेर लेखौं । तर, मेरो लेखकीय इमान्दारीले यसो गर्न दिएन । मनको खेल पनि विचित्र । मान्यौ भने प्रिय पात्रका सबै कुरा, सबै दोष, सबै त्रुटि, सबै नालायकी, सबै कमजोरीेलाई लुकाउँदै गुणगान र यश गानमा रम्ने र मन पर्न छाड्यौ भने उसका असल कुरा, उसका गुण, उसका ऐश्वर्य, उसका विपुलता, उसका विचार, उसका देशनामा पनि छिद्रान्वेषण गर्ने । धन्य मन, तिम्रो चपलता, चञ्चलता, तार्किकतालाई कोटिशः अभिनन्दन । अन्तमा बुद्धिले मनलाई शासन गर्‍यो र मूलपात्र एवं मूलभावमै कथा लेखियो । म र पुणेका ओशो सन्यासी मित्र ध्यानानन्द ओशो कम्युन पछाडिको पार्कमा बसेका थियाैँ । उनले ओशोको जीवनको एउटा घटना सुनाए ।

ओशोका पिताजी, जसलाई उहाँ दद्दाजी भनेर सम्बोधन गर्नुहुन्थ्यो उहाँबाट शिष्यत्व ग्रहण गरी कम्युन नै बस्न आउनु भएको थियो । ओशो साहित्यमा धेरै पटक यस कुराको चर्चा गरिएको छ । आश्रमले उहाँलाई बस्न, खान सारा सुविधा जुटाएको थियो । एक दिन दद्दाजी ओशोलाई भेट्न जानुभयो उहाँले आफूसँग हस्तलिखित एउटा कागजको भारी नै बोक्नुभएको थियो । ओशोलाई भेटेर उहाँले आश्रम परिसरमा कार्यरत धेरै व्यक्तिको कुरा काट्नुभयो । कसले, कहाँ, कुन बेला के बदमाशी गर्‍यो, र को कसलाई, कहाँ कुन बेला भेट्छ ? वृद्ध पुरुषले सबै टिपोट गर्नुभएको थियो ।

एक–एक पात्रका कमी, कमजोरी बदमाशी चुहावट आदि उहाँले विस्तारपूर्वक ओशोलाई सुनाउनु भयो । ओशोले बडो ध्यान दिएर उहाँबाट सारा वृत्तान्त सुनिराख्नु भएको थियो । वृद्धलाई लाग्यो, ओशोले यति ध्यानपूर्वक सुन्नु भएको छ । अब पक्कै यसको निराकरण गर्ने दिशामा कार्य गर्नु हुनेछ । मेरो पनि आश्रममा महत्व बढ्ने छ । आखिर आश्रम सुधारकै लागि मैले परामर्श दिएको हुँ । दद्दाजीबाट सम्पूर्ण वृत्तान्त सुनिसकेपछि ओशोले उहाँसँग सोध्नुभयो, ‘दद्दाजी, तपाइ यस आश्रममा किन आउनु भएको हो ?

उहाँले निर्भिकताका साथ भन्नुभयो, ‘ध्यान गर्न आएको हुँ । यहाँसम्म कि रात्रिमा पनि ध्यान गरिरहेको छु ।’

ओशोले पुनः सोध्नुभयो, ‘कसैले तपाईको ध्यानमा बाधा पुर्‍याइरहेको छ ?

उनले जवाफ दिए, ‘छैन, बिल्कुलै छैन । ओशोको पिताजी भनेर मलाई सबैले सम्मान नै गर्छन् ।’

अब भने ओशोको स्वर आफ्नो लयमा आयो । त्यसो भए तपाई नदुखेको टाउको किन दुखाइरहनु भएको छ ? आश्रममा कहाँ कसले के गर्छ ? त्यो हेर्नु तपाईको जिम्मेदारी हो र ? जे तपाई अनाहक चेष्टा गर्दै हुनुहुन्छ ।

‘आश्रम नासियोस्, मासियोस्, मलाई यसको किञ्चित चिन्ता छैन भने तपाई किन यो चिन्ता बोक्नु हुन्छ ? संसारको गति ऊध्र्वगामी होइन, अधोगामी नै छ । तपाई यहाँ आफूलाई ऊध्र्वगामी बनाउन आउनु भएको हो, आश्रमलाई बनाउन, राम्ररी सञ्चालन गर्न होइन । तपाईको खानपान, रहनसहनमा केही बाधा छ भने, तपाईको ध्यानमा कसैले बाधा पुर्‍याउछ भने, त्यसको निराकरण हुनु पर्दछ । आश्रमको समस्या निराकरण गर्ने पक्षमा म छैन, तपाई पनि यसको पछि नलाग्नुस् । जुन उद्देश्यका लागि आश्रममा आउनुभएको हो, दद्दाजी, ‘त्यही लक्ष्य प्राप्तिमा केन्द्रीत हुनुहोस् ।’

दद्दाजी, केही नबोली कोठाबाट बाहिरिनुभयो । त्यसपछि उहाँमा गजबको रुपान्तरण आयो । कसैले पनि उहाँलाई भोजनालय, ध्यानकक्ष र शयनकक्ष भन्दा अन्य ठाउँमा भेटेनन् । उहाँ त्यस घटनापछि डेढ दुई वर्ष बाँच्नुभयो, तर दद्दाजीले ध्यान बाहेक आश्रमका कुनै गतिविधिमा सहभागिता देखाउनुभएन ।

दद्दाजी यो प्रसङ्ग सुनेपछि मैले आफूलाई फर्केर हेरें, मेरो स्वभाव पनि दद्दाजीकै माफिक रहेछ । पाइलट बाबा आश्रमलाई मैले धेरै पटक सुधार्ने असफल चेष्टा गरेको थिएँ । जीउमा करेन्ट लागेजस्तै भयो, म कुन बाटो हिँडिरहेको रहेछु । सोक्रटिस, प्लेटो, अरिस्टोटलको जमानादेखि मानिसलाई सुधार्ने अवनरत प्रयास भएका छन् ।

खै, कहाँ सुध्रियो मानिस ? यो अनाहकको अहङ्कार र अज्ञानमय चेष्टा हो । मनमनै सोंचे, जुनसुकै आश्रममा पनि ध्यान गर्ने बाधा मलाई थिएन । दद्दाजी र ओशोको वार्तालापबाट मभित्रको सुधारक बन्ने हत्वकांक्षामा विराम लाग्यो । त्यसपछि आफूबाहेक अन्यलाई सुधार्ने दुष्प्रयास मैले कहिल्यै गरिनँ ।

जेठ ५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्