बाईबाई हिरो

बुफोनले आँसु थाम्न सकेनन्, टुंगियो १७ वर्षे यात्रा

इटालीका लेजेन्ड फुटबलर जियानलुइजी बुफोनको च्याम्पियन युभेन्टससँगको १७ वर्ष लामो सहकार्य टुंगिएको छ, कम्तिमा खेलाडीका रुपमा ।

४० वर्षका बुफोनले इटालियन सिरी ए फुटबल अन्तर्गत शनिबार राति भएको रेलिगेशनमा परेको टिम भेरोनासँगको खेल युभेन्टसबाट खेलेको अन्तिम खेल बन्यो । यो खेलमा लगतार सातौँ सिजन च्याम्पियन बनेको युभेन्टस २–१ ले विजयी भयो ।

विज्ञापन

उमेरले ४० कटेर ४१ मा हिँडिरहेका गोलरक्षक बुफोन एक घण्टासम्म मैदानमा रहे । त्यसपछि उनी मैदानबाट बाहिरिए । उनी बिदाईको हात हल्लाउँदा आँसुमा थिए ।

उनले साथी खेलाडीसँग अंकमाल गरे । फ्यानले स्ट्याण्डिङ्ग अवेसन दिए । तुरिनमा भएको खेलमा बुफोनले फ्यानले दिएको सम्मान स्वीकार गरे । खेलमा युभेन्टसका लागि डानिएली रुगानी र मिरालेम पजानिकले गोल गरे ।

बुफोन मैदानबाट बाहिरिएपछि युभेन्टसले गोल एक गोल खायो । भेरोनाका लागि एलिसिओ सेर्कीले गोल गरे । बुफोनको ठाउँमा कार्लो पिन्सोग्लिओ मैदानमा थिए ।

बुफोनले खेल जीवनबाट सन्यास लिने अपेक्षा गरिएको थियो । तर अहिले उनलाई मैदान भित्र र बाहिरका लागि राम्रा अफर आएको र एक हप्ता भित्र निर्णय गर्ने बताएका छन् । खेल सुरु हुनु पूर्व उनको अनुहार प्रिन्ट भएको ब्यानरले मैदानमा स्वागत गरिएको थियो ।

उनका साथी खेलाडीले बाउलामा  #un1co भएको जर्सी लगाएका थिए । बुफोनले खेलाडीमा रुपमा युभेन्टसमा आफ्नो अवधि पूरा भएको गएको बिहीबार पुष्टि गरेका थिए ।

सन् १९७८ को जनवरी २८ मा जन्मिएका जियानलुइजी बुफोन अहिले पनि उस्तै फिट छन्, मैदानमा अनि मैदान बाहिर पनि ।

उनको बललाई पोस्टको जाली चुम्न नदिने कलाजस्तै भव्य तर भयानक छ टेम्पर पनि । बुफोन मैदानमा रिसाएको धेरैपटक देखिएको छ । तर उनले आफ्नो नियन्त्रण सायदै गुमाएका छन् ।

४० कटेर ४१ मा हिँडिरहँदा पनि बुफोनको लगाव वा उर्जा भर्खरै व्यवसायिक फुटबल सुरु गरेको १८ वर्षे युवा खेलाडीको भन्दा कम छैन, बरु बढी नै छ ।

इटालीका प्रोमिनेन्ट फिगर बुफोन १७ वर्षदेखि एउटै क्लबमा छन्, इटालियन सिरी ए फुटबल क्लब युभेन्टसमा । उनले युभेन्टसबाट खेल्न थाल्दा जन्मिएका कति शिशु अहिले युवा फुटबलर बने । सायद कोही युभेन्टसकै ढोका ढकढक्याउँदै होलान् ।

बुफोनले व्यवसायिक फुटबल मात्रै दुई क्लबबाट खेलेका छन् अहिलेसम्म सन् १९९५ मा सिनियर करिअर सुरु गरेका बुफोनले सन् २००१ सम्म पार्माबाट खेले । २००१ देखि उनी युभेन्टसमा रहँदै आएका छन् ।

सन् १९९७ देखि इटालीको राष्ट्रिय टिमको सदस्य बनेका बुफोनले २०१२ अघि विश्वकपको उपाधि पनि जिते ।

बुफोनले सन्यासको घोषणा गर्ने अनुमान गरिएका बेला १५ दिनअघि आफूले मन परिवर्तन गरेको बुफोनको भनाई आयो । धेरै प्रस्ताव आएको उनले बताए । तर युभेन्टसबाट भने शनिबार राति भएको भेरोनासँगको खेल अन्तिम भएको छ ।

बुफोनले आउँदो हप्तासम्म भविष्यका बारेमा निर्णय लिने बताएका छन् ।

बुफोनले अहिले युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएको प्रतिबन्धमा छन् । इंग्लिस रेफ्री माइकल ओलिभरका बारेमा गरेको टिप्पणीका कारण उनीमाथि प्रतिबन्ध लागेको हो । च्याम्पिइन्स लिग फुटबलको क्वाटर फाइनल अन्तर्गत रियल मड्रिडसँगको खेलमा रातो कार्ड पाएपछि बुफोनले रेफ्रीलाई अपशब्द प्रयोग गरेका थिए ।

तर उनको त्यो बेलाको तेबर फेरिजस्तो छ । गएको बिहीबार भएको पत्रकार सम्मेलनमा बुफोनले रेफ्रीप्रति गरेको व्यवहारका लागि आफूले माफी चाहेको बताए ।

उनले भनेका थिए, ‘मैले अब रेफ्रीसँग भेट भयो भने अंकमाल गर्ने छु, माफी माग्ने छु । पस्थितिले आफूले त्यस्तो व्यहार गरेको बताउने छु ।’

अर्को इटालियन क्लब

बुफोनले अब आफू कुनै अर्को इटालियन क्लबमा नजाने स्पष्ट पारेका छन् । बरु ६ महिनाको विश्राम लिने तर माइनर क्लबबाट नखेल्ने उनले स्पष्ट पारेका छन् ।

उनले भनेका छन्, ‘१५ दिनअघिसम्म क साँच्चै पूर्व खेलाडी हुने लाइनमा थिएँ । तर अहिले भने यकिन छैन । प्रस्तावहरु आइरहेका छन् केही नयाँ चुनौतीहरुको, चाहे त्यो मैदान भित्र होस् वा बाहिरका लागि । मैदान बाहिरबाट आएको महत्वपूर्ण प्रस्ताव भनेको युभेन्टसबाटै हो ।’

बुफोनको कप्तानीमा युभेन्टसले यो सिजनको उपाधि जितेसँगै लगातार सात सिजन इटालियन सिरी ए को उपाधि उचाल्यो । यस्तै लगतार चौथो सिजन कोप्पा इटालियाको उपाधि पनि ।

आउँदो सिजन युभेन्टसमा बुफोनको ठाउँ लिने छन्, सन् २०१७ मा आर्सनलबाट आएका वुज्सिएच स्जाजेस्नीले लिनेछन् ।

इटालीको राष्ट्रिय टिमबाट सबैभन्दा धेरै खेल (१७६) खेलेका बुफोनले गएको नोभेम्बरमा स्वीडेनसँग भएको प्ले अफमा पराजित भएर विश्वकपमा छनौट हुन नसकेपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका थिए ।

इटालीले आउँदो जुन ४ मा नेदरल्याण्डससँग मैत्रीपूर्ण खेल खेल्दैछ । त्यसमा मैदान फर्किने सम्भावना नरहेको उनले स्पष्ट पारेका छन् । उनले भने, ‘राष्ट्रिय टिमबाट म परै रहन चाहन्छु ।’

उपाधि र रेलिगेशन

बुफोनले १७ वर्षको हुँदा सन् १९९५ मा सिरी ए मा डेब्यु गरेका थिए । पार्माबाट सिरी मा बुफोनको डेब्यु खेल सन् १९९५ को नोभेम्बर १९ मा मिलानसँग थियो । त्यो खेल गोल रहित बराबरीमा सकिएको थियो ।

बुफोनले क्लबलाई सन् १९९९ मा युइएफए कप र कोप्पा इटालियाको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेले ।

बुफोन सन् २००१ म २३.३ मिलियन पाउण्डमा युभेन्टस आए । पहिलो दुई सिजन लगातार लिगको उपाधि जिते । यस्तै सन् २००५ र २००६ मा पनि लिगको उपाधि जिते ।

तर खेल मिलेमतोको आरोपमा युभेन्टस सिरी बी मा रेलिगेशन भयो । क्लब रेलिगेशनमा परे पनि बुफोनले साथ छोडेनन् । अनि उनले फ्यानको मन जिते ।

सन् २००७ मा क्लब सिरी ए मा फेरि उक्लियो । त्यसपछि भने पछि फर्केर हेर्नु परेको छैन । सन् २०१२ मा एलेसान्ड्रो डेल पिएरो बाहिरिएपछि बुफोन युभेन्टसको कप्तान बने । त्यसपछि लगातार सात सिजन लिगको उपाधि क्लबलाई दिलाए ।

तर च्याम्पियन्स लिगको उपाधि भने उनले जित्न सकेनन् । सन् २००३ को फाइनलमा एसी मिलानसँग पराजित भयो । यस्तै २०१४ मा बार्सिलोना तथा २०१७ मा रियल मड्रिडसँग हारेर युभेन्टस च्याम्पियन हुनबाट वञ्चित भयो ।

बुफोनले खेल जीवनमा अहिलेसम्म १०५१ खेल खेलेका छन् । यो अवधिमा ९ पटक सिरी ए को उपाधि जितेका छन् ।

उनले युभेन्टसबाट सुरुका दुई सिजन उपाधि जित्दा सिरी ए भनिँदैथ्यो, इटालियन फुटबल च्याम्पियनसिप भनिन्थ्यो । यस्तै उनले कोप्पा इटालियाको उपाधि पाँच तथा युइएफए कप र विश्वकपको उपाधि एक एक पटक जितेका छन् ।

बुफोनलाई गोलकिपरका म्याराडोना पनि भन्ने गरिएको छ ।

जेष्ठ ६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू