क्युवामा विमान दुर्घटना

आकाशमै हुँदा जहाजमा आगो, भेटियो एउटा ब्ल्याक बक्स

दुर्घटनाग्रस्त विमानको भग्नावशेष । तस्बिर : रोयटर्स

क्युवामा १०० जना भन्दा बढीको ज्यान जाने गरी दुर्घटनाग्रस्त भएको विमानको एउटा ब्ल्याक बक्स भेटिएको सरकारी अधिकारीले बताएका छन् ।

राजधानी हवानाको विमानस्थल नजिक दुर्घटनाग्रस्त भएको विमानको दुईवटा ब्ल्याक बक्स मध्ये एउटा भेटिएको क्युवाका सरकारी अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

भेटिएको ब्ल्याक बक्सको अवस्था राम्रो रहेको र अर्कोको खोजी भरहेको बताइएको छ । दुर्घटनामा तीनजना बाँच्न सफल भएका छन् तर एकजनाको अवस्था भने गम्भीर रहेको छ ।

दुर्घटनाग्रस्त विमान निरीषणका लागि पुगेका राष्ट्रपति मुगेल डियाज कनेल । तस्बिर : एएफपी

क्युवाको इतिहासमा यो दुर्घटना दशक यताकै सबै भन्दा गम्भीर हो । सरकारले शनिबारदेखि दुई दिने राष्ट्रिय शोकको घोषणा गरेको छ । क्युवाका यातायात मन्त्री आदेल जकिर्दोले दुर्घटनामा ११० जनाको ज्यान गएको पुष्टि गरेका छन् । त्यसमा ११ जना विदेशी रहेका छन् ।

४० वर्ष पुरानो बोइङ्ग ७३७ को भग्नावशेष राजधानी हवानाबाट २० किलोमिटर दक्षिणमा खेतमा रहेको छ । ब्ल्याक बक्सबाट महत्वपूर्ण जानकारी लिन सकिने र त्यसले दुर्घटनाको कारण पत्तालाग्ने अपेक्षा छ ।

अनुसन्धानकर्ताले विमानको भग्नावशेषको छानबिन गरिरहेका छन् । शुक्रबार हवानाबाट होलगनका लागि उडान भरेको केही बेरमात्रै विमान दुर्घटनामा परेको हो । दुर्घटनाको कारण अहिलेसम्म खुलेको छैन ।

तर प्रत्यक्षदर्शीले भने खेतमा खस्नु अघि नै विमानमा आगो लागेको थियो । मेक्सिकन कम्पनी एरोलाइन्स दामोजले क्युवाको सरकारी विमान कम्पनी क्युबन डी एवियशनलाई यो विमान लिजमा दिएको थियो । यो विमान सन् १९७९ मा बनेको मेक्सिकन अधिकारीले बताएका छन् ।

जेठ ६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्