कुराकानी

एउटै परीक्षणको नतिजा ल्याबपिच्छे किन फरक ?

नेपाल स्वास्थ्य व्यवसायी परिषद्का सदस्य पुष्पराज खनाल .

रोगको उपचार त्यसको पहिचानसँग जोडिन्छ । पहिचान बिना रोगको उपचार सम्भव छैन । प्रयोगशाला यस्तो मेरुदण्ड हो जहाँ रोग पहिचान हुन्छ र पछि निदानका उपाय खोजिन्छ ।

तर नेपालका केही प्रयोगशालामा एउटै परीक्षणको पनि फरक फरक रिजल्ट आउने गरेको भेटिएको छ । यस विषयमा नेपाल स्वास्थ्य व्यवसायी परिषद्का सदस्य पुष्पराज खनालसँग हामीले कुराकानी गरेका छौँ ।

नेपालका प्रयोगशाला (ल्याब) कति सुरक्षित छन् ? भर पर्न सक्ने अवस्था छ ?

पहिलेको तुलनामा प्रयोगशाला अहिले धेरै आधुनिक छन् । प्रयोगशालाबाट प्राप्त हुने रिपोर्ट गुणस्तरीय र भरपर्न सकिने अवस्थाका छन् ।

विभिन्न अस्पतालका या बाहिरी प्रयोगशालामा एउटै टेस्टको रिपोर्ट फरक फरक किन आउँछ त ?

गएको महिना विभिन्न अस्पतालमा गरिएका एकै टेस्टको रिपोर्ट फरक फरक आएको सुन्नमा आएको थियो । तर, वास्तवमा त्यो फरक होइन । विश्व स्वास्थ्य संगठनका अनुसार ५ देखि ७ प्रतिशतसम्म फरक आउन सक्छ । त्यसलाई असामान्य भन्न मिल्दैन ।

कतिपय अवस्थामा टेक्निसियनको लापरबाही, रियजेन्ट, केमिकलको उचित संयोजन नहुनु, टेस्ट गर्ने उपकरणमा त्रुटी लगायत कारणले पनि यस्तो हुन सक्छ । एउटै टेस्टमा पनि गुणात्मक र संख्यात्मक तरिकाले दुवै परीक्षण गर्दा रिजल्ट फरक आउँछ तर यसलाई गलत नै हो भन्न मिल्दैन ।

कुनै पनि ल्याबले क्वालिटी कन्ट्रोल गर्दा दक्ष जनशक्तिको परिचालन गरेको छ र क्वालिटी कन्ट्रोल राम्रोसँग संचालन गरेको छ भने त्रुटी हुने सम्भावना कम हुन्छ ।

नेपालका दुर्गम क्षेत्रमा अहिलेसम्म पनि स्तरीय उपकरण पुगेका छैनन् । पुरानै शैलीबाट, मेसिनको प्रयोगबिना काम गर्नुपर्दा ठिक रिजल्ट पाउन गाह्रो हुन्छ । कहिलेकाहिँ विकसित ठाउँ र स्तरीय उपकरण हुँदाहुँदै पनि विद्युत र पानीको गुणस्तरले यस्ता टेस्टको परिणाम फरक फरक आउन सक्छ ।

यसका लागि सबै स्वास्थकर्मीको सोचमा परिवर्तन आउन जरुरी छ । किनभने ल्याब रिपोर्टकै आधारमा उपचार गरिने हुँदा रिपोर्टको नतिजा सही हुनु जरुरी छ । त्यसकारण सही उपकरण र त्यसको सही प्रयोग, दक्ष जनशक्ति अनिवार्य छ । ल्याबमा क्वालिटी कन्ट्रोलको प्रयोग जरुरी छ ।

प्रयोगशालाको गुणस्तरीयता मापनका लागि नेपाल स्वास्थ्य व्यवसायी परिषदले अहिलेसम्म के कस्ता पहल गरेको छ ?

स्वास्थ्य व्यवसायी परिषद् गुणस्तरलाई भरपर्दो बनाउनका लागि आफ्नो ऐनलाई परिमार्जित गर्दै अगाडि बढ्नु पर्ने सोचसहित आएको छ ।

परिषदले मुख्य रुपमा ल्याबमा काम गर्ने जनशक्तिको दक्षता मात्रै हेरेको अवस्था छ । परिषदले जारी गर्ने अनुमतिपत्र परिक्षा लिएर मात्र दिने प्रकृया सुरु गर्दै छौँ ।

नजिकै ल्याब भएर पनि गुणस्तरीयताको खोजीमा टाढा टाढा पुग्नु परेको सेवाग्राहीको गुनासो छ, किन यस्तो भएको होला ?

सही उपकरण, दक्ष जनशक्ति, गणुस्तरीय रियजेन्ट या केमिकलका साथै क्वालिटी कन्ट्रोल सही ढंगले संचालन भएको छ भने त्यहाँको रिपोर्ट गलत आउँदैन, चाहे त्यो नजिकको होस् या टाढाको ।

प्रयोगशालामा हुने भिटामिन ‘डी’ जस्ता टेस्टहरु अलि महंगो छ ? प्रयोगशाला पिच्छे मूल्य र परीक्षणको रिपोर्ट पनि फरक पाइन्छ । यस्तो किन भएको ?

कहिले काहिँ सस्तो खोज्दा गुणस्तरीयता नपाइन सक्छ । सही रिपोर्ट पाउन कहिले काहिँ शुल्क महँगो पर्न सक्छ । यस्ता टेस्टहरु विशेष टेस्ट अन्तर्गत पर्छन् । यो टेस्ट गर्ने तरिका पनि विशेष र टेस्ट गर्ने उपकरण पनि स्तरीय खालको भएको हुँदा टेस्ट महँगो पर्न गएको हो ।

प्रयोगशालाको गुणस्तर सुधारका लागी के कस्ता कार्य गरिनु पर्छ ?

प्रयोगशालाको गुणस्तर सुधारका लागि धेरै त्यस्ता कुराहरु छन् जसमा गम्भीर हुनुपर्छ । पहिलो कुरा त मानवस्रोतको हो । क्षमता र विज्ञता अनुसार जिम्मेवारी दिइनुपर्छ । जसलाई जे जिम्मेवारी दिइएको हो उसले त्यसलाई व्यवसायिक ढंगले निर्वाह गर्नुपर्छ ।

स्वास्थ्य मन्त्रालय र नेपाल स्वास्थ्य व्यवसायी परिषद जस्ता सरोकारवाला निकायले प्रयोगशालामा नियमित अनुगमन गर्नुपर्छ । अन्तर्राष्ट्रिय गुणस्तर भएका उपकरण रियजेन्ट, केमिलकलहरु समय अनुकुल भित्र्याउन सक्नु पर्दछ ।

गुणस्तर भन्ने कुरा अति नै गहन विषय हो जुन कोठाको तापक्रमले पनि फरक पार्छ । यसो हुन नदिन दक्ष जनशक्ति परिचालन गरिनु आवश्यक छ ।

जेठ ६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्