बार्सिलोनामा आन्द्रेसको अन्तिम खेल

अँध्यारो मैदानमा उज्याला इनिएस्टा : थामिएन आँसु, छुट्ने छैन सम्झना

बिदा हुँदै गरेका आन्द्रेस इनिएस्टाका लागि बार्सिलोनाका पूर्व मिडफिल्डर जाभीले निकै भावनात्मक ओपन लेटर लेखेका थिए र भनेका थिए, इनिएस्टा स्पेनको इतिहासमा उत्कृष्ट खेलाडी हुन् ।

उनै स्पेनका मात्रै नभएर विश्व फुटबलकै उत्कृष्ट खेलाडीको बार्सिलोनासँगको यात्रा अब टुंगिएको छ । स्पेनिस ला लिगा फुटबल अन्तर्गत च्याम्पियन बार्सिलोनाले आइतबार राति घरेलु मैदानमा सिजनको अन्तिम खेल खेल्यो । यो इनिएस्टाको बार्सिलोनाबाट अन्तिम खेल थियो ।

बार्सिलोनाले रियल सोसिडाडलाई १–० ले हरायो । ५७ औँ मिनेटमा फिलिप कोन्टिन्होले गरेको गोल जितका लागि निर्णायक बन्यो । बार्सिलोनाले ९३ अंकसहित सिजन टुंग्यायो ।

इनिएस्टाका लागि भने यो खेल जित, हार वा अंक भन्दा बढी थियो । भावनात्मक थियो । बिदाई थियो । र थियो उनीसँगै मैदान, ड्रेसिङ्ग रुम अनि अरु ठाउँमा जीवनको सरस समय बिताएका साथी खेलाडीका लागि भारी बनाउने समय पनि । फ्यानका लागि त यो खेल सिजनभरिको महत्वपूर्ण खेल थियो ।

जहिले शान्त देखिने चाहे मैदान वा मैदान बाहिर । उनी टेम्परमा आएको खबर सायदै आए होलान् । जहिले उस्तै शान्त, खेल टेम्परको उच्च लेभलमा पुग्दा पनि इनिएस्टाको टेम्पर जहिले म्यानेज भएको देखियो । उनले अहिलेसम्म अर्को क्लब जानु पर्ने सोच्दै सोचेनन् । बार्सिलोना उनका लागि घर पनि र कर्म पनि ।

सिनियर टिममा १८ वर्षअघि सुरु गरेको उनको यात्रा यो सिजनको अन्त्यसँगै सकिएको छ । उनी बार्सिलोनाकै उत्पादन हुन् । ठ्याक्कै १८ वर्षअघि अर्थात सन् २००१ म उनले बार्सिलोना बी बाट खेल जीवन सुरु गरे । त्यसअघि सन् १९९६ देखि २००१ सम्म बार्सिलोनाको युथ टिममा रहेका उनी त्यो भन्दा पहिले एल्बासेटीमा थिए ।

२००२ देखि औपचारिक रुपमै बार्सिलोनाको पहिलो रोजाइको टिममा पर्न थालेका इनिएस्टाको जर्सी नम्बर ८ । तर उनले टिममा त्यसको दुई गुणा बढी अर्थात १६ वर्ष समय बिताए । जुनियर र सिनियर गरी इनिएस्टाले बार्सिलोनामा २२ वर्ष बिताए । १२ वर्षमा क्लब आएका उनी अहिले ३४ वर्षका भए ।

स्पेनिस मिडफिल्डर ३४ वर्षे इनिएस्टाले सिनियर टिमबाट १६ वर्षमा २२ वटा प्रमुख उपाधि जिते । आइतबार रातिको खेलमा कप्तान रहेका इनिएस्टाका लागि समर्थकले उनको मोज्याक बनाए, त्यसमा लेखिएको थियो–फरेभर इनिएस्टा । उनले अन्तिम खेलमा मैदानमा ८२ मिनेट बिताए ।

उनी मैदानबाट बाहिँदा आँखाभरि आँसु थियो, सायद मनमा थियो ठूलो ज्वालामुखी जो आँसु बनेर बिस्तारै निस्किँदै थियो ।

खेल सकिएपछि रंगशाला अँध्यारो भयो । त्यसपछि यसरी उज्यालियो कि त्यो इनिएस्टाले जीवनभर बिर्सने छैनन् । बार्सिलोनाका साथी खेलाडीले इनिएस्टाकै जर्सी लगाएर गार्ड अफ अनर दिए । त्यसपछि इनिएस्टाले ला लिगा अनि कोपा डेल रेको उपाधि उचाले ।

त्यसपछि उनले सम्बोधन गरे । भने, ‘यो कठिन दिन हो तर मैले यहाँ जीवनका २२ सुन्दर वर्ष बिताएँ । यो मेरा लागि गर्व र खुशीको कुरा हो, विश्व हो ।’

उनले अघि भने, ‘मेरा सबै साथी खेलाडीलाई धन्यवाद, हरेक एकलाई धन्यवाद । तिमीहरुलाई म सारै सम्झिने छु । समर्थकहरुलाई धन्यवाद, सबै मायाका लागि, म यहाँ आएदेखि जे जे महसुस गरेँ वा बाँचे त्यसका लागि ।

बच्चाका रुपमा आएको मलाई हुर्काएको तपाईँहरुले हो । म अहिले एक परिपक्क मानवका रुपमा बिदा हुँदैछु, यो सबै तपाईँहरुकै देन हो । तपाईँहरु जहिले मेरो मुटुमा रहनुहुनेछ ।’

१२ वर्षमा क्लब आएका इनिएस्टाले २२ वर्ष बिताए । उनले सिनियर टिमबाट ६७४ खेल लेखे जुन जाभी पछिको सबैभन्दा धेरै हो । जाभीले ७६७ खेल खेले । जाभी इनिएस्टाको बार्सिलोनामा अन्तिम खेल हेर्नका लागि मैदानमा थिए ।

इनिएस्टाले बार्सिलोनाको सिनियर टिमबाट ला लिगाको उपाधि ९ पटक जितेका छन् । यस्तै चार पटक च्याम्पियन्स लिग, तीन पटक क्लब वर्ल्ड कप र ६ पटक कोपा डेल रेको उपाधि उनले उचालेका छन् । अन्तिम खेलमा स्टार स्ट्राइकर लियोनल मेस्सी ६७ औँ मिनेटमा मैदान छिरे । उनले इनिएस्टासँगै सबै २२ ट्रफी जतेका छन् ।

८२ औँ मिनेटमा पाको एलकेसरले इनिएस्टालाई रिप्लेस गरे । मैदानबाट बाहिरिने क्रममा इनिएस्टा साझै मेस्सी तिर गए । उनलाई कप्तानको आर्मब्याण्ड लगाइदिए अनि अंगालो हाले ।

इनिएस्टा अब चाइनिज सुपर लिग क्लब जाने चर्चा छ । तर उनले अहिलेसम्म केही बताएका छैनन् । तर अब उनको ध्यान विश्वकपमा हुनेछ । उनी जुनमा सुरु हुने विश्वकपका लागि स्पेनको टिममा छन् ।

अहिलेसम्म स्पेनबाट १२९ खेल खेलेका इनिएस्टाले सन् २०१० को विश्वकप फाइनलमा विजयी गोल गरेका थिए । यस्तै उनले स्पेनिस टिमबाट सन् २००८ र २०१२ मा युरोकपको उपाधि पनि जितेका छन् ।

जेठ ७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्