पोखरा लेखनाथ महानगरले राजमार्गमा परेका संरचना हटाउने

पोखरा – पोखरा लेखनाथ महानगरपालिकाकाले पृथ्वीचोकबाट तालचोकसम्म राजमार्गको सीमामा परेका अस्थायी घर, टहरा र ग्यारेजले राखेका सामान हटाउने भएको छ । महानगरपालिकाका मेयर मानबहादुर जिसीको अध्यक्षतामा ट्राफिक व्यवस्थापन समितिको बैठकले अस्थायी घर, टहरा र ग्यारेजका सामान हटाउने निर्णय गरेको हो ।

सडकको सीमामा परेका संरचना ७ दिन भित्र हटाउन सूचना जारी गर्ने र नहटाएमा कारबाही गरिने ट्राफिक व्यवस्थापन समितिका फोकल पर्सन सुरेन्द्र पौडेलले जानकारी दिए ।

उनका अनुसार संरचना हटाउने ७ दिने सूचनालाई वेवास्ता गरेर नहटाएमा ५ हजार जरिवाना गरिनेछ । अस्थायी संरचना र ग्यारेजले सडक छेउमा जथाभावी सामान राख्दा ट्राफिक व्यवस्थापनमा समस्या परेकोले हटाउन लागिएको हो ।

विजयपुरबाट जिरोकिमीसम्मको बिच सडकमा रहेका बिजुलीका पोललाई पनि सडक छेउमा सार्ने निर्णय महानगरपालिकाले गरेको छ । बिच सडकमा रहेका १७ वटा पोललाई १ हप्ता भित्र सडक छेउमा सारिने पौडेलले बताए । बिजुलीको पोल हुँदा दुर्घटना हुनका साथै ट्राफिक व्यवस्थापनमा समेत असर परेको छ ।

महानगरपालिकाले पोखराका मुख्य बजार क्षेत्रका सडकमा गरिने पार्किङको विकल्प खोज्ने निर्णय गरेको छ । महानगरपालिकाले व्यक्तिको जग्गा भाडामा लिएर ट्राफिक व्यवस्थापन गर्न सूचना जारी गरिसकेको छ ।

संघ संस्थाहरुले आफ्ना सवारी साधन पार्किङको व्यवस्थान आफैले गर्नुपर्ने र सडक जाम हुने गरी नगर्न संघसंस्थालाई सूचना जारी गर्ने निर्णय महानगरपालिकाले गरेको छ ।

जेठ ७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्