मिस्टर नेपाल पछि अब मिस्टर वर्ल्डको तयारी

यी हुन् मिस्टर नेपाल अक्षयजंग रायमाझी

काठमाडौँ– नयाँ बानेश्वर चोकबाट देवकोटा मार्ग हुँदै पुरानो बानेश्वरतिर जाँदा एउटा चोक आउँछ। रत्नराज्य स्कूलको ठ्याक्कै उल्टोपट्टिको बाटो जाँदा बायापट्टि आउँछ, बानेश्वर जिम, कम्प्लिट हेल्थ क्लब। जिमखानाको गेटैमा ढाकाटोपी शिरमा ढल्काएका, कालो र सेतो दौरा सुरुवालमा सजिएका एक युुवकको तस्विरले नमस्कार गरेर स्वागत गरिरहेको छ। योसँगै अरु फोटोहरु पनि छन्, र्‍याम्प हिडेँको, बिजेताको ताज पहिरिएको, हातमा बुके लिएर मख्ख परेर हाँसेको।

उनी हुन्, सन् २०१७ को मिस्टर नेपालका विजेता अक्षयजंग रायमाझी। आफ्नो फोटो गेटमा हुनुको कारण खुलाए उनले, ‘म बाबापछिको यहाँको ओनर, यहाँको सबैजसो काम मैले नै हेर्छु।’ रायमाझी जिमखानामै खेलेर हुर्केका हुन्, उनको र जिमखानाको उमेर पनि नजिक नजिक छ। जिम खानाभन्दा पनि हेल्थ क्लब भन्न रुचाउँछन्। उनको दैनिकी बिहान कलेज जाने अनि जिम खानामा आउने, आफ्नो बाबाले खोलेको जिमखानाको स्याहार गर्ने हो, अब अक्षय बाबालाई सघाउने भएका छन्।

गोरो वर्णका छन् उनी, चट्ट मिलेको अनुहार, ओठमाथि जुंगाको हल्का कालो रेखी, क्युट अनुहार, झ्वाट्ट हेर्ने बित्तिकै सम्झनामा आइहाल्ने। केही म्युजिक भिडियो र बिज्ञापनमा अभिनय गरिसकेका अक्षयका लागि क्यामरा, लाइट्स, स्टेज नयाँ कुरा होइन। आफ्नै बाबाले गाएको गीतमा पनि उनले कम्मर मर्काइसकेका छन्। यी आफ्ना कामलाई सबैले चिन्ने र सम्झनामा राखिरहुन भन्नको लागि उनलाई व्याक सपोर्ट चाहिएको थियो। जसको माध्यम मिस्टर नेपालको प्ल्याटफर्म बन्यो। मिस्टर नेपालको ताज जितेपछि उनको व्यस्तता पनि बढेको छ।

अक्षयको शिक्षाको पाटो अलि फरक छ, प्लस टु होटल म्यानेज्मेन्ट, स्नातकमा बिबिए गर्दैछन्। मिस्टर नेपालको प्ल्याटफर्म पनि आफूमा भएको सम्भावनाको प्रस्तुतीकरण गर्ने ठाउँमा मान्छन् उनी। ताज पहिरिसकेपछि भने केही कुरा भएको छ। हिजोको अक्षय आज मिस्टर नेपाल। बाटोमा हिँड्दा अझै संयमित र अझै अनुशासित बनाएको छ, बाहिर निस्कँदा यस्सै जाम् न त हैन, ५ मिनेट भएपनि आफैँलाई समय दिन लगाएको छ। एक हिसाबले आफैँलाई चिन्ने समय दिन थालेको छ। ‘मिस्टर नेपाल बनिसकेपछि अलिकति याद गरेर तयार त हुन परि नै हाल्यो,’ उनी भन्छन्, ‘मलाई अरु गर्न भन्दा पनि कपाल मिलाउन समय धेरै लाग्छ। सुरुका दिनहरुमा उनलाई झ्याउ लाग्थ्यो, ह्या भनेर। तर अहिले भने उनले यसलाई आफ्नो आधारभूत आवश्यकता जत्तिकै मान्छन् र रमाई रमाई आफैँलाई परिपक्व बनाउँदैछन्।’

जन्मजात मान्छेमा धेरै थरीको गुणहरु हुन्छन्, त्यो गुणलाई कहाँ कसरी प्रयोग गर्ने भन्ने कुरा सधैँ सिक्नुपर्छ। ‘दाइ तपाईसँग म फोटो खिचौँ?’ मिस्टर नेपाल बनेपछि एक दिन फिल्म हेर्न जाँदा एक जना भाइले उनलाई अनुरोध गरेँ, यी र यस्तै घटनाले उनलाई आफूले प्राप्त गरेको ताजको ‘वेट’ बुझायो र त्यसपछिको जिम्मेवारी पनि। आफू सार्वजनिक व्यक्ति भइसकेपछि ‘स्ट्रङ’ देखिनुपर्ने उनलाई लागेको छ।

‘खुसीसँगै दुखका कुराहरु पनि धेरै हुन्छन्, तर एक्सप्रेस गर्दा धेरै सम्हालिन पर्ने रहेछ।’ आर्टिस्ट जीवनको अनुभव सुनाउछन् उनी। मिस्टर नेपालको ताजले साथीभाइसँग जमघटमा कहिले काँहि प्रभाव पार्छ, ‘घुम्न जाने बेलामा सके सम्म समय निकाल्छु तर म्यासेज चाँहि कहिलेकाँहि धेरै आएको हुन्छ र हेर्न छुट्छ, अनि साथीहरु डायलग दिन्छन्।’

मिस्टर नेपाल जस्तै अर्को ब्युटी पेजेन्ट छ, महिलाको लागि मिस नेपाल। यसको बारेमा धेरै चर्चा हुन्छ, तर मिस्टर नेपाल कम मात्र सुनिन्छ। अक्षयले यसलाई तुलना गर्न चाहेनन्। उनलाई हेर्ने नजरमा फरक पर्छ जस्तो लाग्छ। हाँस्दै उनले गर्वका साथ भने, ‘म पनि मिस्टर नेपाल भएर मिस्टर वर्ल्ड जाँदैछु, आफूलाई तयार बनाउँदैछु।’ यसको लागि अझै धेरै समय छ, प्रतियोगिताको लागि ७ महिनाजति बाँकी छ।

अक्षयको प्रेरणा उनको बाबा हुन्, मिस्टर नेपालको बिजेता घोषणा गर्ने दिनलाई सम्झदैँ उनले भने, ‘बिजेता घोषणा हुने दिन दिउँसो परीक्षा थियो, बाबाको सपोर्टले मेरै दुवै एक्जामको रिजल्ट राम्रो आयो।’ त्यो दिन बिहानदेखि तनाबमा थिए, अक्क्षयले बिहान परीक्षा दिएर आएपछि बाबाले नै मिस्टर नेपालको फिनाले हुने ठाउँमा लगिदिनुभयो। उनले हिँड्ने गरेको बाटोमा भएका खाल्डा बाबाले पहिले नै पुरिदिएको जस्तो। अक्षय भन्छन्, ‘मैले खाने खाना, मैले लगाएको कपडा मेरो हेयर स्टाइल, मिस्टर नेपालको फिनालेको मेरो पहिरन सबै बाबाले रोज्नु भएको हो।’ उनी थप्छन्, ‘सुन्दा चाइल्डिस लाग्ला तर बाबाले सबै कुरा हेरिदिनुहुन्छ।’ उनको आमाले जे भइरहेको छ, त्यसैमा सहमति जनाउनुहुन्छ रे।

अक्षयलाई सुटिङको लागि मेकअप गर्दा अचम्म लागेको थियो, ‘केटा मान्छेले पनि लगाउँछन्’ तर पर्दो रैछ। उनी कहिलेकाँहि आफैँलाई हेरेर हाँस्छन्, किनकी त्यो दिन उनले आफैँलाई धाप मार्ने काम पनि गरेका हुन्छन्।

घरका एक्लो छोरा हुन्, आवश्यकता अपूरा हुन पाएनन्। तर उनलाई परिवारले जिम्मेवारी पनि सिकाएको छ, आफ्नो कामप्रति संवेदनशील हुन उनलाई राम्ररी आउँछ। उनलाई मिस्टर नेपालको यात्रा तय गर्नु राम्रो निर्णय हो जस्तो लाग्छ । ‘मेरो समय अलिअलि व्यस्त हुन्छ, तर यदि म मिस्टर नेपालमा नगएको भए भाँडिन पनि सक्थे।’ ‘अभोइड द ब्याड सर्कल’ भन्ने कुरा लागू भएको छ अहिले। फेसबुकमा उनी कम समय बिताउँछन्, तर जो जो उनीसँग जुन जुन माध्यमबाट जोडिन्छन्, उनीहरुलाई त्यहि तरिकाले ‘रेस्पोन्स’ गर्छन्। गर्न खोज्छन् । पढाइ पनि छ, मोडलिङको करियर पनि छ, साथमा छ जिमखानको जिम्मेवारी तर पनि अक्षयले अहिले केही सोचेका छैनन्, उनलाई मात्र मिस्टर वर्ल्डको उपाधि जित्नु छ।

अक्षयलाई अग्रिम शुभकामना ।

जेठ ७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्