अस्पतालको शैय्याबाट राष्ट्रकविले भने:

‘म छिट्टै घर फर्किन्छु, आत्तिनु पर्दैन’

‘म छिट्टै घर फर्किन्छु, आत्तिनु पर्दैन’

काठमाडौं :  ‘म छिट्टै घर फर्किन्छु। आत्तिनु पर्दैन है । स्वास्थ्य लाभ क्रमश.. भइरहेको छ । राम्रो हुँदै गएको छ र राम्रो हुने आशा छ।’

राष्ट्रकवि माधवप्रसाद घिमिरेले त्यसो भन्दा उनलाई जुस पिलाइरहेकी उनकी धर्मपत्‍नी महाकालीको खस्‍नै लागेको आँसु थामियो।

लामो समयदेखि उनको उपचार गरिरहेका धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका डा. विवेक शर्माको अनुहारको गम्भीरता एकै छिनका लागि  हरायो।

राष्ट्रकवि घिमिरेको स्वास्थ्य अवस्था बुझ्‍न सोमबार अस्पताल पुग्दा उनका परिवारका सदस्यहरु मलिन देखिन्थे र उनकाे रोग पहिचान जतिसक्दो छिटो गर्नु थियो उनीहरुलाई। तर सबैतिर सम्पर्क गर्दा गर्दै थकित  थिए उनीहरु।

क्लोज अब्जर्भेसन वार्डमा छिर्दा शरीर गलेको, हात कापिरहेको र कृतिमरुपमा अक्सिजन लिइरहेको अवस्थामा भेटिए राष्ट्रकवि घिमिरे। तर उनको मुस्कान भने टाढैबाट स्पष्ट देखिन्थ्यो।

नजिक पुग्दा सदाझै उनले अनुहार हँसिलो बनाउने कोसिस गरे । त्‍यसैले होला विरामी अवस्थामा पनि उत्कृष्ट साहित्यकार, कवि र गीतकार मात्र होइनन् मिठामिठा कुरा गरिरहेका थिए। मनको कुरा खोल्न राष्ट्रकविको मनलाई अस्पतालको शैय्याले पनि  बाधा गर्न सकेनन् ।

‘म प्रति यो हस्पिटलले ठूलो सद्भाव राखेको छ । पत्रकार जगतबाट पनि मेरो स्वास्थ्यको निम्ति जिज्ञासा राखेकोमा मलाई अत्यन्तै खुसी लागेको छ ’, उनले भने ,’मलाई सञ्चै हाेला, देशलाई चाहिँ सञ्चो भइरहोस्।’

९९ सय वर्षीय राष्ट्रकवि घिमिरेले म एकदुई दिनमै फेरी फर्केर घर आउँछु भन्‍ने वाक्य  पुन: दोहोराए। र सबैलाई धन्यवाद दिन छुटाएनन्  त्यो अवस्थामा पनि ।

के भएको हो राष्ट्रकवि घिमिरेलाई ?


जीवनका लामो समय स्वस्थ जीवन जिएका राष्ट्रकवि घिमिरे गत माघ २४ गते कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित नाट्यकार बालकृष्ण समसँग सम्बन्धित कार्यक्रममा सहभागि भएर फर्कदा पहिलो पटक अलि धेरै असजिलो महसुश गरेका थिए।

भोलिपल्टै घिमिरे स्वास्थ्य जाँच ललितपुरस्थित मेडिसेटी हस्पिटल पुगे। उपचारका लागि उक्त हस्पिटलमा उनी दुई पटक भर्ना समेत भए । त्यसपछि भने उनलाई धापासीस्थित ग्रान्डी इन्टरनेशनल हस्पिटलमा उपचार सुरु गरियो।

पछिल्लो पटक उनी ११ दिनदेखि उक्त अस्पतालमा उपचारार्थ छन् । रिपोर्टले घिमिरेको शरीरमा आन्तरिक रक्तश्राप भइरहेको संकेत गरेको छ। त्यसलाई रोक्ने प्रयास भइरहेपनि कुन भागबाट रक्तश्राप भइरहेको छ भन्‍ने चाहि पत्ता लगाउन सकिएको छैन ।

घिमिरेको हस्पिटलका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेको नेतृत्वमा उपचार भइरेको छ।

घिमिरेको उपचार गरिरहेका ग्यास्ट्रो इन्टेरोलोजिष्ट डा. विवेक शर्माका अनुसार कम होग्लोविन भएको, कालो दिसा आइरहेको अवस्थामा घिमिरेलाई अस्पताल भर्ना गरिएको थियो। सोही दिन इन्डोस्कोपी, कोलोनोस्कोपी लगायत गरिएको थियो ।

घिमिरेको उपचार गरिरहेका डा. विवेक शर्मा । तस्बीर/ दीपा दाहाल

परीक्षणबाट उनको सानो आन्द्रामा केही समस्या देखियो । लगत्तै उनलाई रगत पनि दिइएको थियो ।

केही दिन उनको रक्तश्राप कम समेत भयो र छ्ट्टिै वार्डमा सारेर डिस्चार्ज गर्ने तयारीमा चिकित्सक लागेका बेला फेरि उनको शरीरबाट आन्तरिक रक्तश्राव सुरु भएको आशंका चिकित्सकहरुले गरिरहेका  छन् ।

उनीहरुले रोग पहिचानका लागि राष्ट्रकवि घिमिरेलाई विदेश लग्नु पर्ने सुझाव दिन थालेका छन् ।

जेष्ठ ७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू