मेरो माटो, मेरो चन्दन (अनुभव र अनुभूतिको श्रृंखला- १३)

बेलायतमा पटकपटक मेरो परीक्षा भयो

सोमबार बिहान ब्रेकफास्टपछि २३ नं. बसबाट सदर्न जनरल पुगेँ। वार्ड ६५ पुगेँ। अघिल्लो दिन नै सबै रुट र बसबारे पत्ता लगाई सबेको थिएँ। काम ९ बजेबाट शुरु हुन्थ्यो। अति रमाइलो थियो त्यो, अस्पताल जस्तो थिएन। बिरामीहरु आइभी ड्रिपसँगै लाइबेरीमा पत्रपत्रिका पढिरहेका या कफी पिइरहेका थिए।

म ८:३० बजे नै पुगेँ। कुर्दै गर्दा अर्को डाक्टर पनि आउनु भो। ‘म रविन जोन्सटन, आजदेखि सिनियर रजिस्ट्रार ज्वाइन गर्दैछु’ भन्नुभयो। मैले पनि आफ्नो परिचय दिए, आजबाट रजिस्ट्रारको रुपमा ज्वाइन गर्न लागेको पनि बताए।

डा. जोन्सटन पछि सर्भाइकल स्पाइनको अति ख्यातिप्राप्त विशेषज्ञ बन्न पुग्नु भो, गणेशमान सिंहको उपचारको लागि मेरो अनुरोधमा उहाँ काठमाडौँ पनि आउनुभयो पछि।

८:५५ मा अर्को एकजना डाक्टर पस्नुभयो। ‘म डेभिड मेन्डलो, लोकम कन्सल्ट्यान्ट’, उहाँले हामीलाई आफ्नो परिचय दिनुभो। प्रो. जेनेट छुट्टीमा जानु भा छ, बिरामी भ’र सुत्नु भा छ। टिज्डेल पनि छुट्टीमा- हप्ता, दश दिनमा फर्कनु हुन्छ। त्यो बेला सम्म हामी तीन जनाले वार्ड चलाउनुपर्छ।’

अब काममा लाग्नुपर्‍यो। तर,अनपेक्षित एउटा घटना भयो। सायद त्यो मेरो परीक्षा थियो होला, अस्पतालमा। एक जना केटी थिइन् ९ वर्षकी। जसको लडेर हड्डी भाँचिएको, भित्र दिमागसम्म चोट परेको थियो। कम्पाउन्ड डिप्रेस्ड फ्य्राक्चर भन्छौं, हामी त्यसलाई। उनको सिलाइ गरेको घाउ फाटेर दुःख दिएको थियो। राउन्ड सकिएपछि डेभिड मेन्डलोले तल ओटीमा लगेर तपाईंले रिएक्सप्लोर गर्नुस् भनेर मलाई अह्राउनुभयो।

पहिलो दिन ज्वाइन गरेको मान्छेलाई के जानेको छ, कति जानेको छ सोध्दै नसोधी त्यो बच्चीको रिभिजन सर्जरीको लागि मलाई भन्नुभयो। घाउ फाटेको थियो। व्यवस्था गरेर म ओटीमा गएँ। ओटीभित्र पसेको, त्यस्तो भव्य ओटी मैले कहिल्यै देखेको थिइन। पस्ने ठाउँमा सर्जनको लुगा चेन्ज गर्ने ठाउँको नजिकै तीनवटा सावर, अप्रेसन सकिएपछि फोहोर भयो भने नुहाउने सुविधा, त्यहाँ चाहिने सबै सामग्रीको व्यवस्थासहित। सफा टावल राखेको। यतापटि सर्जनले लगाउने लुगा। बाहिरबाट आएर लगाएका लुगा झुण्डाउने व्यवस्था भएको चेञ्जिइङरुम। मलाई त अचम्म लाग्यो। के सावर लिएर चेन्ज गर्नुपर्छ हरेक दिन? गएर सोधें। हैन फोहोर भयो भने अथवा आफूलाई मन लाग्यो भने लिनु नभए आवश्यक छैन भन्ने उत्तर पाएपछि मले चेन्ज गरेर भित्र पसें। भित्र देब्रेतिरबाट ओटीभित्र पस्ने, दाइनेतिरचाहिँ सर्जनहरुको कफीरुम थियो। मेरो बिरामीलाई सुताउन थाले, म कफी रुमतिर लागें।

कफीरुममा त दुईवटा नेपालको फोटो देखें। अन्नपूर्ण हिमाल र सगरमाथाको फोटोसँगै भिजिट नेपाल लेखेको ठूलो पोष्टर। होम सिक पनि भएँ, अचम्म लाग्यो। सोधें, कताबाट आइपुग्यो यो? ९ महिना अगाडि एकजना डाक्टर आउनु भाथ्यो उहाँले छाडेर जानु भएको भने। त्यो पोष्टर छाड्ने डा. गंगोल हुनुहुँदो रहेछ। त्यो बडा सम्मानजनक ठाउँमा टाँसिएको थियो। मलाई त्यहाँ पुग्नेबितिकै रमाइलो लाग्थ्यो। अनि कफी बनाएर खाएँ। काठमाडौँ सम्झेँ। हाम्रो वीर अस्पतालमा हामीले हरेक महिना १०/१० रुपैयाँ उठाएर चिया क्लब बनाएका थियौं। यहाँ त केही पनि दिनु नपर्ने। सरकारले नै सप्लाई गर्ने कफी। त्यसपछि के आभास पाएँ भने मैले, साँच्चै नै मेरो परीक्षा हुँदै थियो। यो कस्तो मान्छे हो जानेको छ कि छैन? नर्स, एनेस्थेसिस्ट र डाक्टरहरुलाई कौतुहल रहेछ। मैले फटाफट  बिरामीलाई पोजिसनिङ गराएँ। आफूले जानेको कुरा गरेँ, नजानेको कुरा यहाँ के गर्ने चलन छ भनेर सोधें। सबैभन्दा सुरक्षित बाटो अपनाएँ। नजानेको कुरा त्यहाँका नर्सहरुलाई यो कसरी सफा गर्ने चलन छ यहाँ, कति कन्सन्ट्रेसनको एन्टीसेप्टिक प्रयोग गर्ने, अनि ड्रेपबारे बुझाउन भने। म नयाँ हुँ, मलाई भनिदिनुस् भनेँ नम्र भएर, उनीहरुले सबै बताए। हाम्रो नेपालमा स्याभ्लोनले सफा गरेर बिटाडिनले पेन्ट गर्थ्यो, त्यहाँ स्याभ्लोनले सफा गरेर क्लोर हेन्जेडिनले सफा गर्ने चलन रहेछ।

मैले त्यही अनुसार गरें। अनि अप्रेसन सुरु गरें। म वीर अस्पतालमा काम गर्दाखेरि हाम्रो स्पिड असाध्यै थियो। मैले फटाफट त्यो अप्रेसन सकेर ब्यान्डेज गरें बिरामीको टाउको। ब्यान्डेज गरेर बाहिर कफीरुममा आउँदा त नर्सहरुले हल्ला गर्न थालिसकेका रहेछन्, ‘न्यू रजिस्ट्रार इज भेरी गुड, ही इज भेरी फास्ट।’ छिटो सकिएपछि नर्सहरु खुसी हुन्छन्, मेरो अनुभव थियो वीरमा। सकिएपछि चिया खान पाइन्छ। वीरमा लन्च अर्डर गर्ने बेलामा मसँग काम गरेका नर्सहरुले भन्थे, ‘देवकोटाले बन्द गर्न सुरु गर्‍यो, अब सकिन्छ चाँडै।’ अब धेरैबेर लाग्दैन भन्ने खबर बाहिर जान्थ्यो। त्यसरी टाइमिङ गर्थे। यो रिभिजन सिध्याएर म माथिल्लो वार्डमा गएँ। अनि साँझको राउण्ड गरेर फेरि होटलमै फर्कें।

कफीरुममा त दुईवटा नेपालको फोटो देखें। अन्नपूर्ण हिमाल र सगरमाथाको फोटोसँगै भिजिट नेपाल लेखेको ठूलो पोष्टर। होम सिक पनि भएँ, अचम्म लाग्यो। सोधें, कताबाट आइपुग्यो यो?

मेरो त्यो बेलाको रणनीति एकदम स्पष्ट थियो। पहिला म प्रोफेसरको अनुमोदन लिन्छु। तीन महिनापछि प्रोफेसरले लेखेर ब्रिटिस काउन्सिललाई पठाइदिनु पर्छ ट्रेनिङको लागि लायक छ कि छैन भनेर। त्यो तीन महिना अरु केहि कुरा नसोची कामबाट प्रोफेसरलाई रिझाउनतिर लाग्छु। त्यो पत्र भइसकेपछि आफ्नो फ्युचर करियरको विषयमा सोच्न थाल्छु। किनभने मलाई ब्रिटिस काउन्सिलमा अत्याउने कुरा गरिएको थियो। मलाई थाहा थियो, बेलायतको तालिममा जुन फेलो अफ रोयल कलेज अफ सर्जन्स (एफआरसिएस) भन्ने डिग्री छ, त्यो नदिइकन सर्जिकल फ्याकल्टीको ट्रेनिङ त्यति राम्रो मानिँदैन। ब्रिटिस काउन्सिलको मेडिकल डाइरेक्टर मार्गरेट हेगले मलाई लन्डनमा ३/४ दिन अगाडि शुक्रबारको दिन, ‘धेरै राम्रा नेपाली यहाँ आएर ब्रिटिस जाँच पास गर्न नसकेर दुःख पाइराछन्।’ केहीको नाम पनि लिनुभयो जुन म उल्लेख गर्न चाहन्नँ। अहिले यति असल मान्छेले पास गर्न सकेनन्। भारत र नेपालमा उनीहरुको प्राज्ञिक रेकर्ड राम्रो भएपनि बेलायतका जाँचहरु अलिक गाह्रो हुने भएकाले पास गर्न सकेनन्। त्यसकारणले तपाईंको डाइरेक्टर जनरलसँग समझदारी नै गरेका छौं  र कुनै पनि नेपालीलाई  एफआरसिएसको डिग्रीको लागि प्रयत्न नगर्न हामी अनुरोध गर्छौं। उनीहरु तालिम लिन्छन् फर्किन्छन्, हदै हासिल गरे लोअर डिप्लोमा।

एमआरसिपी, एफआरसिएस जस्ता अप्ठेरा जाँचहरु हाललाई नेपालीका लागि उपयुक्त छैन भनेर बन्द गरिएको थियो। फिजिसियन हुनलाई एमआरसिपी र सर्जन हुनलाई एफआरसिएस गर्नुपर्थ्यो। तर मलाई कडा शब्दमा चेतावनी दिए– तपाईंले एफआरसिएस दिने प्रयत्न गर्नुभयो भने हामी तपाईंको लाइसेन्स खारेज गर्छौं। उनीहरुको तर्क थियो–यति राम्रा मान्छेले त सकेका छैनन् तपाईंले सक्नुहुन्छ भन्ने कुनै ग्यारेन्टी छ? त्यस कारणले तीन वर्ष न्युरो सर्जरीको तालिम गर्ने अनि नेपाल फर्किने। यो स्वीकार्य छ भने ग्लास्गो जानुस् हैन भने नेपाल फर्किनुस् भोलिको फ्लाइटमा, उनीहरुले भने। मैले तत्काल बिचार गरें। रात रहे अग्राख पलाउँछ, जुनसुकै सर्तमा पनि बेलायत त बस्नै पर्‍यो सबैकुरा मानेर। मलाई भित्र अन्तरआत्मामा चाहिँ एफआरसिएस नगरी तीन वर्षको तालिम लिएर फर्कने इच्छा थिएन। त्यो समस्या म तीन महिनापछि मिलाउँछु भनेर त्यो बेला कोक्याए पनि चुप लागेर बसें। एक महिनाजति काम गरेपछि मैले महसुस गरें, म राम्रै गरिराछु। त्यसपछि प्रोफेसर पनि आउनु भयो, प्रोफेसरसँग राउण्ड गर्न थालियो। हाम्रो प्रत्येक बुधबार एकेडेमिक राउण्ड हुन्थ्यो त्यसपछि केस डिस्कसन हुन्थ्यो।

बुधबारचाहिँ पढाउने दिन थियो । म सबै अटेन्ड गर्ने र अन्तरक्रियामा भाग लिन्थेँ। बेलायतीहरु सही उत्तरभन्दा पनि हिम्मतसाथ अन्त अन्तर्क्रियामा भाग लियो भने त्यसलाई राम्रो मान्थे। चुप लागेर बस्नुलाई उनीहरु राम्रो मान्दैनथे। केही न केही भन्ने, आफ्नो कुरा राख्ने। गलत छ भने उनीहरु सुधार्छन्, हैन भने त्यो डिबेटको विषय हुन्छ। डिस्कसनमा फाटफुट मिलेपनि नमिले पनि आफ्नो कुरा राख्ने म। त्यसलाई बडो पोजिटिभ लिइँदो रहेछ। दुई महिनामै प्रोफेसर टिज्डेलले ब्रिटिस काउन्सिललाई सिफारिस पठाइदिसक्नु भएछ, यो क्यान्डिडेट ठिक छ, यसको तीन वर्षको फेलोसिप तिमीहरुले एक्सटेन्ड गरे हुन्छ भनेर। मलाई त उहाँले केही पनि भन्नु भएको थिएन। एकैचोटि ब्रिटिस काउन्सिलबाट पत्र आयो। पत्रबाटै टिज्डेलले मलाई सिफारिस गरेको थाहा पाएँ। अब मलाई वैधानिक रुपमै तीन वर्ष बेलायतमा राख्ने बाध्यता बन्यो उनीहरुको लागि, अब फेलोसिप गर्ने विकल्पतिर सोच्न थालें। सहकर्मी रजिस्ट्रार सबै एफआरसिएस गरेका साथीहरु थिए, चार जना। काम गराइमा उनीहरुकै लेबलमा थिएँ, सर्जरी उनीहरुकै जति जानेको थिएँ। मेरो डिग्री थिएन। एफआरसिएसको दुईटा पाटो हुन्छ। पार्ट वान र पार्ट टु। पार्ट वान धेरै गाह्रो मानिन्छ। त्यसमाचाहिँ एनटोमी, फिजियोलोजी, प्याथोलोजीको जाँच हुन्छ। अलि क्रुर खालकै हुन्छ, निष्ठुर।

मैले एक्सप्लोर गर्न थालें। साथीहरु सबैले तँ जस्तो मान्छेले पास गरिहाल्छस् नि भनेर हौसला दिन्थे। मलाई होजस्तो पनि लाग्थ्यो। उनीहरु सँगसँगै काम गरेको पास गरेका केटाहरु भन्दा मैले पनि कम जानेको छैन। उता नेपालको रेकर्ड हेर्दाखेरि एफआरसिएस पास चाँडो कसैले पनि गरेका थिएनन्, त्यो रेकर्ड हेर्दा डर लाग्थ्यो। मैले बुझेअनुसार डा. भट्टचार्जीले चाहिँ प्राइमरी र फाइनल एकैचोटी पास गर्नुभएको थियो। उहाँहरुसँग रोयल कलेजको कोर्स गर्ने सौभाग्य पनि थियो। म त लुकेर गर्नुपर्ने भयो। ब्रिटिस काउन्सिलले थाहा पायो भने डिपोर्ट गर्छ। त्यो सौभाग्य मसँग रहेन। डा. भट्टचार्जीहरुले बडो कष्टले पास गरेको, मैले गर्न सक्छु होला र भन्ने डर पनि कताकता भित्र, अर्कोतिर साथीहरुको कुरा सुनेर उत्साहित पनि भएँ। गाईं गुईं यो कुरा मेरा गुरुहरुले पनि थाहा पाउन थाल्नु भएछ। मेरो समस्या फेलोसिपको तयारी गर्न थालेको थाहा पायो भने ब्रिटिस काउन्सिलले डिपोर्ट गरिदिने, मैले सुटुक्क दिनुपर्ने। फेलोसिपको रिक्वायरमेन्टका लागि बेलायतमा जनरल सर्जरीमा काम गरेको हुनुपर्थ्यो। आफ्नो भने जनरल सर्जरीमा गर्न जान्छु भन्यो ब्रिटिस काउन्सिलले थाहा पाउने र मलाई त्यहाँ फर्काउने स्थिति छ। म विकल्पको खोजीमा थिएँ, एक दिन अप्रेसन गर्दै थियौं। ग्लास्गोको चलन राम्रो थियो। तीनवटा युनिट थिए २/२ महिनामा रोटेसन हुन्थ्यो रजिस्टारहरुको।

त्यो बेला मचाहिँ प्रोफेसर टिज्डेलको युनिटको काम सकेर अर्को युनिटमा गएको थिएँ। त्यहाँ दुई जना धेरै भद्र कन्सलटेन्टहरु हुनुहुन्थ्यो। हाइड र टर्नर। हाइड पछि नेपाल पनि आउनुभयो, एउटा सेमिनारमा दिल्ली आएको बेला मलाई भेट्न। बढो रोचक प्रसंग छ त्यो बेलाको। सोसाइटीको प्रेसिडेन्ट हुनुहुन्थ्यो उहाँ, मैले उहाँको मन जितेको थिएँ। उहाँले ब्ल्याङ्क सर्टिफिकेट ल्याउनु भा र’छ। एभरेष्ट होटलमा बसेर फिल अप गरेर मलाई दिनुभयो। छाप लगाएर ल्याउनुभएको थियो, तिमीले कहाँ–कहाँ काम गरेका थियौ भनेर सोध्नुभयो अनि भरेर दिनुभो। मेरो एक किसिमको ट्रेनिङको कन्भोकेसनचाहिँ एभरेष्ट होटलमा नै भयो। म फर्किएर आएपछि उताको अरु कागज लिएर आएको थिएँ। तर उताको तालिमको सर्टिफिकेट ल्याएको थिइन। म एक दिन अप्रेसन गर्दै थें, टर्नर आइपुग्नुभो। उहाँलाई साथीहरुले भनिसकेका थिए, देवकोटा धेरै चिन्तित छ फेलोसिप गर्ने बाटो खुलेन। जनरल सर्जरी गर्न गयो भने ब्रिटिस काउन्सिलले रोक्ने। सर्जरी धेरै गरेको छ, सिपालु छ भन्ने त्यो बेलासम्म थाहा पाइसकेका थिए सबैले। अरुले नसक्ने म गरिदिन्थें। जनरल  सर्जरीसँग सम्बन्धित कुराहरु। लामो समयसम्म भ्यान्टिलेटरमा राखेका बिरामीहरुको घाँटीमा लोकल एनेस्थेसिया प्रयोग गरी प्वाल बनाइदिन्थे, आइसियू बेडमै, ओटी नलगी ट्युब हाल्न अरु साथीहरुलाई गाह्रो लाग्थ्यो। त्यो देखेपछि कन्सलटेन्टहरु प्रभावित नहुने कुरै भएन। झन टर्नरले त्यसलाई सिरियस्ली लिनु भएको रहेछ। उहाँ ग्लास्गोको रोयल कलेजको काउन्सिल मेम्बर पनि हो।

एकदिन अप्रेसन गर्दागर्दै मलाई सोध्नुभयो। मलाई देवकोटा भन्न नसकेर डेव भन्नुहुन्थ्यो। डेव तिमी धेरै चिन्त्तित छौ, भन्ने सुनेको छु फेलोसिप बारे भनेर सोध्नुभयो। मैले आफ्नो कठिनाइ बताएँ। यो-यो कारणले म फेलोसिप गरेर ट्रेनिङ गर्न चाहन्छु तर मेरो समस्या ब्रिटिस काउन्सिलले मलाई फेलोसिप गर्न निरुत्साहित गरिरहेको छ। मैले काठमाडौंमा जनरल सर्जरी गरेकै हुँ। टर्नरले अर्कोदिन अप्रेसन गर्दा भन्नुभो,  मैले कुरा गरेको छु, आउँदो मंगलबार २ बजे रोयल कलेजमा गएर एक्जामिनेसन सेक्रेटरी स्टुआर्ट योङलाई भेट्नु, उ एक्जामिनेसन चिफ हो उनले तिमीलाई बताउँछन् कसरी अघि बढ्ने भनेर। मैले बुझिहालें मेरो इन्टरभ्यु हुनेवाला छ भनेर। स्टुआर्ट योङ पनि सर्जन एक्जामिनर हो।

त्यो दिन मैले आफ्नो बायो र नेपालमा पब्लिस गरेको पेपर लिएर तयारीसाथ भनेको समयभन्दा १० मिनेट पहिले नै कलेजमा पुगें। स्टुआर्ट योङसँग भेट भयो। उहाँले भद्र तरिकाले टेल मि दिस भनी विस्तारै मेरो इन्टरभ्यु सुरु गर्नुभयो। कहाँ पढेको, के के कस्तो काम गरेको बाट सुरु गरेर नेपालमा के के सर्जिकल प्रोब्लमहरु छन्, तिमीले के के अप्रेसन गरेको छौ, यस्तोमा के के गर्छौ? भन्नुभो। जानेको बताउँदै गएँ, मैले भनेको सबै ठिक नै थियो। फाइनल प्रश्न मलाई सोध्नुभयो, ‘तिमीले ठूलो आन्द्राको सर्जरी कति गरेका छौ?’

सदर्न जनरलमा न्यूरोसर्जरी डिपार्टमेन्टमा आफ्नो ठाउँ बनाइसकेको थिएँ। मन पराउँथे मलाई, विशेष गरेर नर्सिङ स्टाफले। छिटो अप्रेसन सक्ने सजिलो मान्छे भएकाले अरु साथीहरुले पनि मन पराउँथे।

मैले स्पष्ट जवाफ दिएँ, ‘देब्रेपटिको ठूलो आन्द्राको चाहिँ रोग नै हुँदैन नेपालमा, एकदम कम छ। यो तीनटा रोगले हुन्छ। क्यान्सर, डाइभर्टी कोलाइटिस, अल्सरेटिभ कोलाइटस। जलवायु र खानपानले गर्दा हाम्रोमा यी तीनवटै रोगहरु कम छ। दाहिनेपटिको कोलनको भने प्रशस्त एक्सपोजर छ मसँग।’ त्यसलाई आधा काट्ने र जोड्ने मैले थुप्रै गरेको छु भनेँ। यसको कारण पनि बताएँ। त्यो भन्दा पहिले धेरै कुरा मैले के गरेको छु भन्ने सोधेर पत्ता लाइसक्नु भएको थियो। मैले पेपर पनि लगेको थिएँ, मैले लेखेको। लिनु भएन, सरसर्ती हेरेर फिर्ता गर्नुभयो। त्यसपछि फाइल टेबुलमा बजारेर ओके जेन्टलमेन यु सिम टु ह्याभ रिजनेवल एक्सपियरेन्सस भन्नुभयो। फेलोसिपका लागि मेरो बाटो खुल्यो। बेलायतमा जनरलसर्जरी नगरीकन जाँच दिनको लागि। तर एक वर्ष न्यूरोसर्जरी पूरा गरेको सर्टिफिकेटचाहिँ प्रोफेसर टिज्डेलबाट हामीलाई पत्र आउनुपर्‍यो भन्नुभयो। मैले दुई वर्ष काम नगरे पनि हुने भयो। त्यसपछि अफिसियल पत्र पनि पाएँ। एक वर्ष न्युरोसर्जरी गरेपछि फाइनल जाँच दिन दिन्छौं। त्यसअघि प्राइमरी क्लियर गर, प्राइमरीको अर्को डेट अप्रिलमा छ भनेर लेखिएको थियो। नोभेम्बर भैसकेको थियो। त्यसको मतलब अप्रिलको जाँच दे भनेको हो। अनि म फेलोसिपको तयारीमा लागें। ब्रिटिस काउन्सिललाई थाहा नदिई चाहिने फिसहरु सबै आफैं तिरेँ। साथीहरुसँग किताब मागें, एनाटोमी, फिजियोलोजी, प्याथोलोजीको। उहाँहरुले खुसीसाथ दिनुभयो। अलिअलि टेक्निकल टिप्सपनि मागें के कस्तो सोध्छ भनेर।

डेरामा लगेर त्यो मान्छेको एनाटोमी पढ्नका लागि हाड पनि खोजेर लगें। मेरो घरबेटी महिला डराउने भएकाले देखाउँदै देखाइन। लुकाएर राति पढ्थें। त्यति गर्दा पनि एकदिन कोठा सफागर्दा मान्छेको हड्डी देखिएछ। बेलुका आउँदाखेरि त तर्सिएर सोधिहालिन्– डाक्टर कहाँबाट आएको हो त्यो? मैले साथीले राख्न दिएको हो भनेर भोलिपल्ट फिर्ता गरें भनेँ। नत्र कोठा छाड् भन्थे। त्यसरी पढें राति राति। अरु पनि पढेर प्राइमरीको तयारी गरें। जाँचभन्दा एक हप्ता अगाडि छुट्टी लिएँ। मल्टिपल च्वाइस प्रश्नहरु हुन्थे। यसको हामीले पहिले अभ्यास गरेका थिएनौं। मैले भेलोरको डिजास्टर भनिहालें पहिल्यै। सबै कुराको उत्तर दिन खोज्दाखेरि चिप्लन्छ। कतिकुरा कम्प्युटरलाई मात्रै थाहा हुन्छ इक्जामिनरलाई पनि थाहा हुँदैन। त्यति कन्टोभर्सियल सोधेको हुन्छ। उता काम गर्दैछु, यता जाँचको तयारी पनि गर्दैछु। ग्लास्गोमा परेको हिउँको जाडो पनि खाइयो। बढा रमाइलो। सदर्न जनरलमा न्यूरोसर्जरी डिपार्टमेन्टमा आफ्नो ठाउँ बनाइसकेको थिएँ। मन पराउँथे मलाई, विशेष गरेर नर्सिङ स्टाफले। छिटो अप्रेसन सक्ने सजिलो मान्छे भएकाले अरु साथीहरुले पनि मन पराउँथे।

जेठ ७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्