अस्पतालको शैय्यामा प्रधानमन्त्री र राष्ट्रकविबीच यस्तो संवाद

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्वास्थ्य अवस्था बुझ्‍दै प्रधानमन्त्री केपी शर्मा ओली। तस्बिर-देश सञ्‍चार

काठमाडौँ‍-  ग्रान्डी अस्पतालमा उपचाररत राष्ट्रकवि माधबप्रसाद घिमिरेलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली सोमबार साँझ अस्पतालमा पुगेका थिए। त्यहाँ प्रधानमन्त्री र राष्ट्रकविबीच यस्तो संवाद भएको थियो:

प्रधानमन्त्री ओली: राष्ट्रकविज्यू, तपाईले अब कुनै पनि चिन्ता गर्नु पर्दैन। तपाईँको उपचार नेपालमा सम्भव छैन भने तुरुन्त तपाईलाई हामीले दिल्ली वा अन्य देशको राम्रो अस्पतालमा उपचार गर्छौ। त्यसको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्छ।

राष्ट्रकवि घिमिरे: मैले महाकाव्य सिध्याउनु छ। त्यो आगामी पाँच महिनासम्म सक्ने योजना बनाएको थिएँ। असोजको ६ गते म १०० पुग्दैछु। त्यतिबेला सम्म महाकाव्य सक्नु थियो। मलाई त्यतिञ्जेल बचाइदिनुहोस्।

प्रधानमन्त्री ओली: कहाँ त्यति मात्रै बाँच्ने कुरा गर्नु हुन्छ? तपाईँ त कति हो कति, बाँच्नु पर्छ। हामी बचाउँछौं तपाईलाई, पिर कत्ति पनि नगर्नुहोस्।

राष्ट्रकवि घिमिरे: मलाई त छिट्टै घर फर्कन्छु जस्तो लाग्छ तर शरीर गलेको महसुस भइरहेको छ र निन्द्रा लाग्न छोड्यो।

प्रधानमन्त्री ओली : केही हुन्न तपाईँलाई। मलाई पनि त के भयो के। हेर्नुहोस् त म यसरी हिँडिरहेको छु। तपाईँ कति पनि पिर नगर्नुहोस्। तपाईको विदेशमा उपचार गर्नका लागि मैले मान्छे खटाइसकेँ। तपाईलाई छिटोभन्दा छिटो हामी विदेश लैजान्छौंँ।

जेठ ८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्