इब्राहिमोविचले विपक्षी खेलाडीलाई झापड हाने, सीधै रेड कार्ड

विपक्षी टिमका खेलाडीलाई झापड हानेपछि जाल्टन इब्राहिमोबिचले रातो कार्ड पाएका छन् । अमेरिकाको मेजर लिग सकर अन्तर्गत सोमबार राति भएको खेलमा जाल्टन इब्राहिमोबिच ४१ औँ मिनेटमा सीधै रातो कार्ड पाएर मैदान बाहिर गएका हुन् ।

म्यानचेस्टर युनाइटेडबाट एलए ग्यालेक्सी गएका इब्राहिमोविचले मोन्टरियल इमप्याक्टका माइकल पेट्रासोको अनुहारमा झापड हानेका हुन् ।

खेलको ४० औैँ मिनेटमा पेट्रासो इब्राहिमोविचको अघि रहेका पेट्रासोले इब्राहिमोविचको खुट्टामा टेके । त्यसपछि इब्राहिमोविचले पछिबाट पेट्रासोलाई झापड हाने । दुवै खेलाडी मैदानमा लडे ।

पछि रेफ्री इस्माइल एलफातहले भिडियो एसिस्टेन्ट रेफ्रीको सहायताले रिप्ले हेरेर एलए ग्यालेक्सीका कप्तान इब्राहिमोविचलाई रातो कार्ड दिएका हुन् ।

उनले खेल जीवनमा पाएको यो १३ औँ रातो कार्ड हो । क्युपिआरका पूर्व खेलाडी पेट्रासोले पहेँलो कार्ड पाए । खेलमा एलए ग्यालेक्सीका लागि एक मात्र विजयी गोल ओला कामाराले गरे ।

३६ वर्षका इब्राहिमोविचले पेरिस सेन्ट–जर्मेन, इन्टर मिलान र एसी मिलानमा रहँदा तीन तीन पटक रातो कार्ड पाएका थिए । यस्तै युभेन्टसमा दुई तथा बार्सिलोनामा एक पटक उनले रातो कार्ड पाएका थिए ।

म्यानचेस्टर युनाइटेडमा रहँदा भने उनले रातो कार्ड पाएनन् । तर बोर्नमाउथका टाइरोन मिनग्सलाई कुहिनाले धक्का दिएका कारण तीन खेलको प्रतिबन्ध भने खेपेका थिए ।

जेठ ८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्