खन्खन्ती पैसा तिरेको किनेको सेयर नक्कली भनेपछि…

काठमाडौं- आफ्नो नाममा रहेको सेयर डिम्याट गर्न जाँदा सेयर प्रमाणपत्र नै नक्कली भएको भन्दा कस्तो होला?

काठमाडौं घर भएकी उर्मिला घिमिरेको नाममा रहेको सेयर प्रमाणपत्र नक्कली भएको भन्दै डिम्याट गर्न निष्काशन तथा बिक्री प्रवन्धकले मानेन।

२०७१ फागुन ४ गते कारोबार नम्बर २०१५२१६२४८८८२० बाट उर्मिलाले अनामनगरमा रहेको दिपशिखा धितोपत्र कारोबार कम्पनीमार्फत नेसनल हाइड्रोपावरको ५ सय कित्ता सेयर खरिद गरेकी थिइन्।

आशुतोष ब्रोकरेज तथा सेक्कुरेटिजले बिक्री गरेको उक्त सेयर कानुनी प्रक्रिया पूरा गरी २०७२ जेठ १४ गते नेपाल स्टक एकस्चेञ्चले उर्मिलाका नाममा नामसारी गरेको थियो।

उर्मिला घिमिरेको नाममा सेयर नामसारी गरिएको

नेसनल हाइड्रोको सेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम गर्ने तत्कालीन ग्रोमर क्यापिटल (हाल प्रभु क्यापिटल) ले आशुतोष ब्रोकरेज तथा सेक्कुरेटिजबाट सेयर बिक्री गरेका नवीन श्रेष्ठको दस्तखत जाँच गरी सम्पूर्ण बिषय ठिक भएको भन्दै नेप्सेलाई सेयर नामसारी गर्न सिफारिस गरेको थियो।

नेप्सेले सेयर नामसारी गरिदिएपछि २०७२ असार १ गते ग्रोमरले उर्मिलालाई नेसनल हाइड्रो पावरको सेयर प्रमाणपत्र दिएको थियो।

५ सय कित्ता सेयर खरिद गरेकी उर्मिलालाई १५०, ५०, १००, १२०  र ८० कित्ता गरी पाँच वटा प्रमाणपत्र दिइयो।

कागजी सेयर खरिद बिक्री नहुने नियम आउने भएपछि उनले सेयर डिम्याट गर्न आवेदन दिइन्।

सेयर डिम्याट हुन्छ भन्ने सोचेकी उर्मिलालाई २०७२ फागुन २ गते प्रभु क्यापिटलले १ सय ५० र सय कित्ता सेयर भएको प्रमाणपत्र नक्कली भएको भन्दै डिम्याट नहुने जानकारी दियो।

२ वटा प्रमाणपत्र नक्कली भएको भन्दै डिम्याट गर्न अस्विकार गरिएको।

तीन वटा प्रमाणपत्र डिम्याट भए तर सेयर प्रमाणपत्र नम्बर १८ हजार ७७५ को सेयर धनि नम्बर १३८६४७४३ देखि १३८६४८९२ सम्मको १ सय ५० कित्ता र सेयर प्रमाणपत्र नम्बर १८ हजार ९४९ को  सेयर धनि नम्बर १८५१८९३ देखि १३८५१९९२ को एक सय कित्ता सेयर प्रमाणपत्र नक्कली भएको भन्दै तत्कालिन ग्रोमर क्यापिटल (हाल प्रभु क्यापिटल) सेयर डिम्याट गर्न नसकिने जवाफ आउँदा उर्मिला अचम्ममा परिन्।

लगत्तै २०७२ फागुन ३ गते उनले नेपाल स्टक एकस्चेञ्चमा उजुरी दिइन्। नगद पैसा तिरेर किनेको र कानुनी प्रक्रिया पुरा गरेर नामसारी भएको सेयर प्रमाणपत्र नक्कली भएको सुन्दा अचम्ममा पर्नु स्वभाविक थियो।

नेपाल स्टक एक्सचेञ्जमा गरिएको उजुरी

नेप्सेमा दिएको निवेदनको केही सुनुवाइ नभएपछि उर्मिलाले २०७३ साल बैशाख ७ गतेमा पहिलो पटक नेपाल धितोपत्र बोर्डमा उजुरी गरिन्। तर धितोपत्र बोर्डले पनि उजुरीको सुनुवाइमा चासो देखाएन्। धितोपत्र बोर्डका अध्यक्षदेखि अन्य पदाधिकारीलाई भेट्दा पनि समस्या समाधान हुन सकेन।

नेपाल स्टक एक्सचेञ्जमा गरिएको उजुरी

आफूले खरिद गरेको सेयर प्रमाणपत्र पाउने व्यवस्था मिलाइदिन आग्रह गर्दै उर्मिलाले नेपाल धितोपत्र बोर्डमा दोस्रो पटक २०७४ जेठ २९ गते निवेदन दिएकी थिइन्।  दर्ता नम्बर १० हजार १ सय ६५ रहेको उक्त  निवेदनको अझै सुनुवाइ हुन सकेको छैन।

धितोपत्र बोर्डमा दोस्रो पटक गरिएको उजुरी

निराश हुँदै उर्मिलाले देशसञ्चार सँग भनिन्, ‘एउटा प्रमाणपत्र पाउने व्यवस्था मिलाइदिनु पर्‍यो भन्दै ३ वर्ष देखि कम्पनी, बोर्ड, नेप्सेमा धाइरहेकी छु, कतैबाट केही सुनुवाई हुन सकेको छैन।’

उर्मिलाजस्तै सेयर डिम्याट नभएर समस्या झेल्नेको संख्या निकै ठुलो छ। स्रोतका अनुसार नेसनल हाइड्रोको सेयर नामसारी नभएको समस्या नेपाल राष्ट्र बैंकका कर्मचारीदेखि सर्वसाधारणले लामो समयदेखि भोगिरहेका छन्।

करिब १ करोड ३९ कित्ता सेयर भएको नेसनलको ५० हजार ५९० कित्ता सेयर फर्जी भएको भन्दै डिम्याट हुन नसकेको बुझिएको छ।

सिडिएस तथा क्लियरिङ लिमिटडले आवश्यक कागजात नपुगेको भन्दै लामो समय देखि नेसनलको ५० हजार ५९० कित्ता डिम्याट गर्न मानेको छैन।

हाल नेसनलको बिक्री तथा निष्कासन प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ।

नेसनल हाइड्रोका कम्पनी सचिव सञ्जीव लामा ५० हजार कित्ता सेयरका सम्बन्धमा कम्पनीमा सञ्चालक विश्वेश्वर सुवेदी नेतृत्वको कार्यदलले अध्ययन गरिरहेकोले समितिको प्रतिवेदनमा आधारमा मात्र उक्त सेयरका बिषयमा निर्णय हुने बताउँछन्।

उनले भने, ‘सेयर निष्कासन तथा बिक्री प्रबन्धकले पनि काम गरिरहेको छ, विवादित केहि सेयरको कारोबार भएको उनिहरुले हामीलाई जानकारी दिएका छन्, समस्या समाधान गर्न हामी लागी परेका छौं।’

यता नेपाल धितोपत्र बोर्डले नेसनलका बिषयमा अझै छानबिन भइरहेको जनाएको छ। नाम नखुलाउने सर्तमा धितोपत्र बोर्डका एक कर्मचारीले भने, ‘नेसनल हाइड्रोले के के गरेको छ तपाईँहरुलाई पनि थाहा छ, छानबिन गर्दैछौं तर कहिले समाधान निस्कन्छ केही भन्न सकिदैन।’

नेसनल हाइड्रोका सञ्चालकले नक्कली सेयर प्रमाणपत्र छापेर बिक्री गरेको आरोप छ। सरोकारवालाको फितलो नियमन र सुस्त कामकारबाहीले नेसनलको सेयरमा लगानी गर्नेहरु मार्कामा परेका छन्।

नक्कली भनिएको सेयर प्रमाणपत्र
नक्कली भनिएको सेयर प्रमाणपत्र
जेष्ठ ८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्