दैनिक ४० लाखको नोक्सान

मजदुर आन्दोलनले पोखरा नुडल्सको उत्पादन रोकियो

मजदुर नेताको तलब काटिएको भन्‍दै पोखरा नुडल्सका मजदूरहरु। आन्दोलनमा उत्रिएपछि पोखरा नुडल्स प्रालि बन्द भएको छ। तस्बिर- जमुन वर्षा/देश सञ्‍चार

पोखरा- पोखरा औद्योगिक क्षेत्रस्थित पोखरा नुडल्स प्रालिमा मजदुर नेताको तलब काटिएको विषयलाई लिएर गरिएको आन्दोलनले उद्योग बन्द हुन पुगेको छ।

अखिल नेपाल औद्योगिक मजदुर संघ इकाइ समितिका उपाध्यक्ष मजदुर संजिब अधिकारीको बैशाख २३ गते देखि जेठ ३० गते सम्मको तलब सुविधा रोकेको विषयलाई लिएर मजदुर नेताहरुले सोमबार १० बजे देखि उद्योग बन्द गरेका छन्।

उद्योगको लिक्विड सेक्सनमा काम गर्दै आएका संजिब अधिकारीको काम प्रति चित्त नबुझे पछि सुपरभाइजर बालकृष्ण बाँस्तोलाले ठेलातिर स्थानान्तरण गरेका थिए । सोहि विषयमा संजिब र सुपरभाइजर बीच विवाद बढेको थियो।

उनले स्थानान्तरण भएको ठाउँ तिर काम गर्न नगएर अटेर गरेपछि प्रशासनले उनको तलब होल्ड गरेको थियो।मजदुर अधिकारीको तलब पुरानै स्थानमा काम गर्न पाउनु पर्ने र अन्य केहि माग सहित आन्दोलनमा उत्रीएको संघका अध्यक्ष पुष्पराज भट्टराईले बताए।

उनले भने ‘मजदुर माथि हुने शोषणको अन्त्य हुनुपर्ने, समयमै तलब दिनु पर्ने , श्रम ऐन २०७४ लागु गर्नु पर्ने र निलम्बन गरीएका मजदुरहरुको पुनबहाली गर्नुपर्ने माग आफुहरुको रहेको बताए। यता उद्योगका कार्यकारी निर्देशक वाबुराम पन्तले सुपरभाइजरले भनेको नमान्‍ने, काम प्रति संवेदनशिल नहुने कामदारलाई कम्पनिले तलब दिएर राख्न बाध्य नहुने बताए।

बारम्बार गैह्र जिम्मेवार ब्यवहार देखाउँदै आएका संजिब अधिकारीले आफू खुशी दादागिरी प्रर्दशन गरेर सुपरभाइजलाई नै धम्कि दिने गरेकाले उनको तलब होल्ड गर्ने भनेर प्रशासनले पत्र काटेको पन्तको भनाई छ।

उनले भने ‘कुनै समस्या भए प्रशासनलाई जानकारी गराउनु पर्छ , सहमतिबाट निष्कर्षमा पुग्न सकिने वातावरण हुन्छ । एक्कासी उद्योगमा दादागीरि प्रदर्शन गरेर उद्योग डुबाउने नियत राख्नेलाई कारबाही गर्नुपर्छ।’

बैशाख २४ गते संजिबले काम गर्दै आएको लिक्विड सेक्सन बाट ठेला तर्फ स्थानान्तरण गर्दा संजिब नयाँ ठाउँमा काम गर्न नमानेको र सुपरभाइजरलाई टे«ड युनियनको नामबाट धम्काउँदै आएको पन्तले बताए। लिक्युड तिर उनले काम गर्दा उनको लापरवाहीले एक जना मजदुर महिलालाई तातो पानिले पोलेको भन्दै उनी सो स्थानमा संवेदनशिल नदेखिएकाले स्थानान्तरण गर्नु परेको सुपरभाइजर बाँस्तोलाले बताए।

कम्पनीमा कार्यरत सन्तोष श्रेष्ठ, संजिव अधिकारी, विकास भुजेलले सुपरभाइजर बालकृष्ण बाँस्तोला र लेखनाथ बराल माथि हातपात गरेको र उत्पादनमा काम गर्दै आएका सन्तोष दाहाललाई घाइते बनाएको भन्दै उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

निर्देशक पन्तले कम्पनिको नीति नियम विपरीत उद्दण्ड ब्यवहार प्रर्दशन गरेर लाखौको नोक्सानी पुर्याउने सन्तोष श्रेष्ठ, संजिव अधिकारी, विकास भुजेल, पुष्पराज भटटराई, सुरज तिवारीलाई कामबाट निलम्बन गरेको बताए।

उनले ‘कहिल्यै कसैको तलब नरोकेको र प्रत्येक महिनाको ७ गते सबैको तलब जाने सिष्टम भएको र सिष्टममा समस्या आए एक दुई दिन तलमाथि हुने गरेको बताए।’ सो उद्योगमा अहिले २ सय ७५ जना कामदार आबद्ध रहेका छन्। दैनिक १८ हजार कार्टुन चाउचाउ उत्पादन गर्दै आएको सो उद्योगमा रम्बा, जोजो, बोनस लगायतका १८ वटा ब्रान्ड उत्पादन हुने गरेको छ।

जेठ ८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्