अमेरिका–उत्तर कोरिया सम्बन्ध

ट्रम्प–किम वार्ता तोकिएको मितिमा नहुने सम्भावना बढ्यो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आउँदो महिना हुने भनिएको आफू र उत्तर कोरियाका नेता किम जोङ–उनबिचको ऐतिहासिक वार्ता नहुने सम्भावना बढेर गएको बताएका छन् ।

उत्तर कोरियाले वार्ताका लागि चाहिने शर्त पूरा गर्नु पर्ने र यदी त्यस्तो हुन नसकेमा तोकिएको जुन १२ मा सिंगापुरमा वार्ता नहुने ट्रम्पले स्पष्ट पारेका छन् । तोकिएको समयमा वार्ता नभए पनि पछि हुन सक्ने सम्भावना भने रहेको उनले बताएका छन् ।

दक्षिण कोरियाका राष्ट्रपति मुन जे–इनलाई ह्वाइट हाउसमा स्वागत गरेका ट्रम्पले यस्तो बताएका हुन् ।

उत्तर कोरियाले परमाणु हतियार त्याग्नका लागि अमेरिकाले एकतर्फी दबाब दिइरहेमा वार्ता रद्द गर्ने सक्ने बताएको छ । यस्तै लगातार चाहिने भन्दा बढी दबाब आइएको भन्दै उत्तर कोरियाले त्यसको विरोध गरेको छ ।

ट्रम्पले उत्तर कोरियाले शर्त पूरा गर्नु पर्ने बताएका छन् तर अमेरिकाले कस्तो शर्त वा अवस्था राखेको छ भन्ने चाहिँ खुलाएका छैनन् । त्यसबारेमा सोध्दा ट्रम्पले ‘उत्तर कोरियाले परमाणु निशस्त्रिकरण गर्नु पर्ने’ बताए ।

उत्तर कोरियाले यो हप्ता एउटा परमाणु परीक्षण विघटित गर्ने अनुमान छ । तर खराब मौसमका कारण त्यसमा ढिलाइ हुने देखिएको छ ।

यसअघि सोमबार अमेरिकी उप–राष्ट्रपति माइक पेन्सले उत्तर कोरियाका नेता किम जोङ–उनले राष्ट्रपति ट्रम्पसँग खेलीरहेको आरोप लगाएका थिए ।

प्रस्तावित वार्तामा ट्रम्पसँग ‘खेल्न’ खोजेमा त्यो निकै घातक हुने पेन्सले चेतावनी दिएका छन् । उनले फक्स न्युजसँगको अन्तर्वार्तामा भनेका थिए, ‘किम जोङ–उनले डोनाल्ड ट्रम्पसँग खेल्न सक्छु वा खेल्छु भन्ने सोचेका छन् भने त्यो उनका लागि निकै घातक हुनेछ ।’

अमेरिकाका अमेरिका र दक्षिण कोरियाले गरेको संयुक्त सैन्य अभ्यासका कारण प्रस्तावित वार्ता हुनेमा शंका उत्पन्न भएको छ ।

उत्तर कोरियाले संयुक्त सैन्य अभ्यासको विरोध गर्दै दक्षिण कोरियासँगको फलो अफ वार्ता रद्द गरेको छ । त्यो वार्ता अघिल्लो बुधबार हुने तय थियो ।

त्यसपछि ट्रम्प–किम वार्ता पनि संकटमा परेको देखिएको छ । यहिबिचमा पेन्सले वार्ता सोचे जस्तो हनु नदेखिएमा ट्रम्प बिचमै उठ्न सक्ने पनि बताए ।

अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले उत्तर कोरियाको परमाणु निशस्त्रिकरणका लागि लिबिया मोडल अपनाउनु पर्ने सुझाव दिएपछि उत्तर कोरियाले त्यसको कडा प्रतिवाद गर्दै वार्ता नै रद्द गर्न सक्ने चेतानवी दिएको थियो ।

तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियामा परमाणु निशस्त्रिकरणका लागि लिबिया मोडल नअपनाइने बताएका छन् । सन् २००३ मा लिबियाका शासक माउमर गद्दाफी परमाणु कार्यक्रम छोड्न तयार भएका थिए । तर उनलाई पछि पश्चिमा देशकै सहयोग पाएको बिद्रोही सेनाले हत्या गरेको थियो ।

जेठ ९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्