युक्रेनका ३५ क्लबमाथि म्याच फिक्सिङ्गको आरोप

युक्रेनका ३५ वटा फुटबल क्लबमाथि खेल मिलेमतो गरेको आरोप लागेको छ । देशको शीर्ष लिगमा खेल्ने पाँचसहित ३५ क्लबले खेलमिलेमतो गरेको अराोप लागेको हो ।

तर शीर्ष लिग च्याम्पियन शाख्तर डोनेट्स्क र १५ पटकको लिग विजेता डाइनामो किएभमाथि भने आरोप लागेको छैन । यी दुवै क्लबको नाम आरोपित क्लबको सूचिमा छैन ।

विज्ञापन

सरकारी अधिकारीले मंगलबार छापा मारेका थिए र खेल मिलेमतोमा आपराधिक समूहको संलग्नता रहेको बताइएको छ ।

युक्रेनको राजधानी किएभमा आउँदो शनिबार च्याम्पियन्स लिग फुटबलको फाइनल खेल हुँदैछ ।

उपाधिका लागि रियल मड्रिड र लिभरपुलबिच प्रतिस्पर्धा हुनेछ । जुनमा सुरु हुने विश्वकप फुटबल छिमेकी देश रुसमा हुँदैछ तर युक्रेन भने विश्वकपका लागि छनौट हुन सकेन ।

खेल मिलेमतोका लागि पाँच आपराधिक समूहका ३०० भन्दा बढी व्यक्ति संलग्न रहेको सरकारी अधिकारीले बताएका छन् । खेल मिलेमतोका कम्तिमा ५७ घटना भएको बताइएको छ ।

एकवर्षदेखि प्रमाण तथा कागजात संकलन गरेर अहिले छापा मारिएको युक्रेनको राष्ट्रिय प्रहरीका प्रमुख सेर्खी नाइयाजिवले बताएका छन् ।

खेल मिलेमतोबाट त्यसमा संलग्न समूहले वर्षको ५० लाख अमेरिकी डलर आय गरेको प्रहरी प्रमुख नाइयाजिवले बिबिसीसँग बताएका छन् ।

जेष्ठ ९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू