अपराधीमा अन्तिम छटपटी, भरिया होइन मालिक पक्रन थाल्यौँ : गृहमन्त्री थापा

धनगढी – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले अपराध, भ्रष्टाचार र अनिमियताको अन्त्य नगरेसम्म देश विकाश सम्भव नरहेको बताएका छन् ।

प्रदेश नम्बर ७ स्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन धनगढी आएका गृह मन्त्री थापाले बुधवार बिहान आयोजित पत्रकार सम्मेलनमा देशको विकाश र सम्वृद्धिका लागि सरकार लागि परेको बताए ।

विज्ञापन

‘सरकार सम्वृद्धि बनाउन लागि परेको छ । तर व्याप्त भ्रष्टाचार, अनिमियता छ । अपराध नियन्त्रण गर्न सकिरहेका छैनौँ’ थापाले भने, ‘अब सबै क्षेत्रका रहेको भ्रष्टाचार, अनियमितता, कुशासन, अपराध नियन्त्रण गर्दै देशलाई सम्वृद्धिको बाटोमा अघि बढाउछौँ ।’

थापाले भने, ‘शिक्षा, स्वाथ्य, यातायात लगायत सबै क्षेत्रमा सिण्डिकेट (एकाधिकार) छ । त्यसको अन्त्यका लागि अभियान सुरु भइसकेको छ । ढुक्क हुनुस् सबै क्षेत्रको सिण्डिकेट हटन धेरै समय लाग्दैन ।’

यसअघि आपराधिक घटनामा भरिया मात्रै पक्राउ पर्ने गरेको भन्दै गृह मन्त्री थापाले थपे, ‘अब हामी भरियालाई हैन, मालिकलाई पक्राउ गर्न सुरु गरिसक्यौँ । जसको उदाहरण हो, सुन तस्करीका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ ।’

गृह मन्त्री थापाले अहिलेको समय अपराधिको अन्तिम छटपटीको रहेको समेत बताए ।

‘अहिले अपराधिको अन्तिम छटपटीको समय हो । उनीहरु अन्तिम प्रयास गर्दैछन्’ उनले भने, ‘यसपछि सबै किसिमका अपराध अन्त्य गर्छौँ ।’
तत्कालीन एमाले र माओवादी केन्द्रबिच भएको पार्टी एकता राजनीतिक स्थायित्वका लागि भएको उनले बताए ।

जेष्ठ ९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्