५० हजार नगदसहित जिल्ला शिक्षा समन्वय अधिकारी पक्राउ

पक्राउ परेका खगेन्द्र सुवेदी (निलो टोपी लगाएका) । तस्बिर : अभयकुमार राई/देश सञ्चार

सुनसरी – सुनसरी जिल्ला शिक्षा समन्वय अधिकारी खगेन्द्र सुवेदीलाई ५० हजार नगद घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले पक्राउ गरेको छ ।

इटहरीस्थित क्षेत्रीय कार्यालयको टोलीले सुवेदीलाई इनरुवा ३ महेन्द्र चौकस्थित डेराबाट बुधबार बिहान पक्राउ गरेको हो ।

सुनसरीको भन्टावारीस्थित श्री आधारभूत माध्यामिक विद्यालयको शौचालय तथा कम्पाउण्ड वाल “पर्खाल” निर्माणलाई योजनामा पार्ने भन्दै उनले नगद घुस लिएको अख्तियार प्रवक्ता रमेश दंगालले जानकारी दिए। उनले भने, विद्यालयको भौतिक संरचना निर्माण गरिदिने भन्दै रकम लिँदै गर्दा बिहान पक्राउ गरिएको हो ।

उक्त विद्यालयको भौतिक संरचना निर्माणका लागि विद्यालय ब्यवस्थापनसंग जिल्ला शिक्षा अधिकारी समेत रहिसकेका खगेन्द्र सुवेदीले रकम माग गर्दै आएका थिए ।

सोही बमोजिम बिहान रकमसहित उनी पक्राउ परेका हुन् । सुराकी पछि सेटिङमा रकम बुझाउन सुवेदीको डेरा पुगेका व्यक्तिले रकम दिए लगत्तै प्रहरीसहित अख्तियारको टोली सुवेदीको डेरामा पुगेको थियो ।

पक्राउ परेका सुवेदी उपर आवश्यक प्रकृया अघि बढाइएको अख्तियार क्षेत्रीय कार्यालय इटहरीले जनाएको छ ।

जेठ ९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्