मोरङ अदालतमा गोरेको बयान सुरु

काठमाडौं- सुन तस्कर तथा सनम हत्याकाण्डका मुख्य अभियुक्त चुडामणि उप्रेति गोरेको बयान बुधबारदेखि मोरङ जिल्ला अदालतमा सुरु भएको छ। काठमाडौंमा मंङलबार विहान पक्राउ परेका गोरेलाई दिउँसो मोरङ जिल्ला प्रहरी कार्यालयमा ल्याइएको थियो।

प्रहरी हिरासतमा राखिएका गोरेलाई कार्यालय समय १० बजे नै बयानका लागि अदालतमा उपस्थित गराइएको अदालतका एक अधिकारीले जानकारी दिए।
अदालत अधिकारीका अनुसार, बयान लिने कार्य जारी रहेको र आज दिनभरसम्म लाग्‍न सक्नेछ।

बयान कार्य सकिएपछि गोरेमाथि थुनछेक बहस सुरु हुनेछ। गोरेमाथि २०६९ सालदेखि सुन तस्करीमा लाग्दै आएको र यसै क्रममा गत फागुन १९ गते सनम शाक्यको हत्या भएपछि उनी फरार रहेका थिए। जिल्ला सरकारी वकिल कार्यालय मोरङले १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय १३ रुपैया बिगो माग गर्दै जिल्ला अदालत मोरङमा यस घटनामा संलग्न ६३ जनाविरुद्ध अभियोगपत्र दर्ता गरेको थियो।

सो क्रममा मंगलबार पूर्व डीआइजी गोविन्द निरौला, निलम्बित एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, डीएसपीद्धय प्रजित केसी, सञ्जय राउत र सइ बालकृष्ण सञ्जेलसहित अन्यलाई पुर्पक्षका लागि थुनामा राखिएको छ।

त्यसैगरि, प्रतिवादीहरु राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङ, मोहन काफ्ले, टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मदनप्रसाद घिमिरे, नरेन्द्र कार्की, मोहन काफ्ले, राजन कुमार, राजेन्द्रकुमार शाक्य, महावीरप्रसाद गोल्यान, बालकृष्ण श्रेष्ठ, गोपालकुमार श्रेष्ठ, चन्दन भनिने विरेन्द्रमान श्रेष्ठ, पुण्यप्रसाद लामा तामाङ, दोराम खत्री, हेमन्त गौतम, कपिलराज पुरी, लालबहादुर मगर, सम्बीरप्रसाद तोलाङ्गे, राजु महर्जन, राजन थापा, तुलाराम थारु, अमरमान डंगोललाई थुनामा राख्‍न अदालतले आदेश दिएको छ।

एसएसपी श्याम खत्रीका अंगरक्षकका रुपमा विमानस्थलमा कार्यरत प्रहरी हवल्दार अमरबहादुर थापालाई तारेखमा छुटेका छन्। उनीसंगै अर्का प्रहरी जवान विष्णुबहादुर खड्कालाई १५ हजार रुपैया धरौटीमा छुटेकाछन्।

त्यसैगरि, छानविन आयोगको दोश्रो चरणको अनुसन्धानका क्रममा पक्राउ परेका दमकका विनोद अधिकारी र दोलखाका मोतीराम श्रेष्ठको म्याद थप गरिएकोछ। यस मुद्धामा अझैपनि ३३ जना अभयुक्त फरार रहेका छन्।

जेठ ९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्