नेपाल भारत सम्बन्धका यी रोचक आयाम

पृष्ठभूमि


पूर्वमा व्रह्मपुत्र,पश्चिममा हिन्दकुश, उत्तरमा कैलाश र दक्षिणमा गंगासम्मको भूखण्डलाई हिमवतखण्ड र गंगादेखि हिन्द महासागरसम्मको भूखण्डलाई भारतखण्ड भनिन्छ। नेपाल धेरै ऋषिमुनिहरुको जन्म, कर्म र तपोभूमि हो जहाँ वेदका ऋचादेखि अनेक शास्त्र लेखिएका थिए। तन्त्र, मन्त्र र यन्त्रको आविष्कार र प्रयोग भएको थियो।

नेपाल र भारतका बहुसंख्यक जनता मूलतः यही सभ्यता, संस्कृति र धर्म (ॐ कार) मा आस्था र विश्वास राख्छन्। दुवै देश यहाँका सभ्यताको अपमान गर्ने वा समाप्त गर्ने चाहने अन्य देशका संस्थाको आक्रमणबाट उत्तिकै आक्रान्त छन्। भारत आफ्नो शक्ति र प्रभावका कारण परचक्रीको आक्रमण र व्यूहरचना विरुद्ध सतर्क र सजग हुँदै गएको छ। नेपाल भने त्यस्ता आक्रान्तको चक्रव्यूहमा फँसेकाले भयरहित तरिकाले वास्तविकता व्यक्त गर्न सकिरहेको छैन।

भारतमा बिदेशी र तिनका फौबन्जार प्रवृतिका समाजशास्त्री, मानवशास्त्री र इतिहासका लेखकले भारतलाई राजनीतिक र सामाजिकरुपमा विभाजन गर्न जेजस्ता औजार र विधि प्रयोग गरेका थिए र गर्दैछन् नेपाललाई पनि त्यस्तै प्रयोगशाला बनाइँदैछ। यसमा भारतभित्रको इण्डिया तत्व पनि संलग्न छ। त्यो इण्डिया तत्व राजनीति, पत्रकारिता, बौद्धिक क्षेत्र र कर्मचारीतन्त्र चारैतिर छ।

नेपालको संविधान बन्दाको अवस्थामा मूलतः पश्चिमको खास विश्वास प्रणालीबाट प्रभावित तत्व र भारतमा रहेको इण्डिया तत्वले नेपाललाई एकै चश्माले हेर्ने गरेका थिए। त्यसैले नेपालको संविधानमा तिनका न्यारेटिभ प्रशस्त घुसाइएका छन्। युरोपियन युनियनको निर्वाचन पर्यवेक्षणका निर्वाचन असम्बद्ध बुँदा र बंगलादेशमा रहेकी युरोपियन युनियनकी राजदूतको म्याद नाघेको ट्वीट त्यतै लक्षित देखिन्छन्। यस्तै भारतका कतिपय पूर्व अधिकारी र नेपालबारे लेख्ने कथित नेपालविददेखि नेपालको अखण्डताविरुद्ध ट्विट गर्ने कीर्ति आजादजस्ता व्यक्ति यस्तै मानसिकताका उपज हुन्।

नेपालले भारत स्वतन्त्रतापूर्व बेलायतबाट जुन पिडा भोगेको थियो वा बेलायती राजदूतले नेपालमा जस्तो व्यवहार गर्दथे, त्यस्तै व्यवहार भारत र भारतीय  दूतावासबाट अपेक्षा गरेको थिएन। अझ २००७ सालको क्रान्तिको नेतृत्व गर्ने बिपी कोइराला र भारतका स्वतन्त्रता संग्रामका महात्मा गान्धी, डा राजेन्द्रप्रसाद, जवाहरलाल नेहरु, राममनोहर लोहिया र जयप्रकाश नारायणजस्ता शीर्ष नेताको व्यक्तिगत चिनाजानी थियो।

तर, नेपालमा प्रजातन्त्र आएपछि भारत र भारतीय राजदूतले देखाउने व्यवहार धेरैपटक कुटनीतिक मर्यादा विपरित भएको बीपी कोइराला लगायतका नेताका जीवनी सम्बन्धी पुस्तकमा ती नेताहरुले उल्लेख गरेका छन्। यहाँसम्म कि बीपी कोइरालाबाट दिल्ली सम्झौता भनिएको कथित सम्झौताको अन्तरंग सार्वजनिक भैसकेको छ। बीपी कोइरालाबाट तत्कालीन भारतीय राजदूतका अवान्छित क्रियाकलाप पनि सार्वजनिक भएका छन्। पछिल्लो चरणमा भएका अन्तर्य सार्वजनिक हुन बाँकी छ। नेपाल अहिले त्यसको प्रतीक्षामा छ।

आजको नेपाल र कोही पनि नेपाली नेपालको सार्वभौमसत्ता, अखण्डता, राष्ट्रिय एकता र स्वाभिमान कतैबाट पनि कमजोर गराइएको कुरा सुन्नसम्म तयार छैन। नेपाल र नेपालीको सार्वभौम समानतामा विश्वास छ। नेपाली कुनै पनि कुटनीतिज्ञले कुटनीतिक मर्यादा नाघेर गरेका क्रियाकलापबाट आहत हुने गरेका छन्। पारस्परिकता विपरीतका कार्य सबै नेपालीलाई किन्चित सह्य छैनन्।

केही सहयोग गरेको नाममा केही पश्चिमा पन्थ-कट्टर संस्था नेपालको सभ्यता, सम्पदा र सद्भाव विथोल्न लागि परेका छन्। टाढाका परचक्रीलाई सघाउने नजिकका परचक्री पनि नेपालका लागि उत्तिकै खतरा हुन्। त्यसमा भारतस्थित पश्चिमासँग मुख (कुरा) मिल्ने संस्था र व्यक्ति नेपालका निम्ति झन् बढी खतरा हुन्। किनकि त्यस्ता पश्चिमालाई अनुहारले चिन्न सकिन्छ तर यी इन्डियन त अनुहार मिल्दो अनुहारका देखिन्छन्।

दिल्लीमा हामीहरु तथाकथित त्रिपक्षीय सम्मेलनका नाममा आफ्ना मतभेदहरु सुल्झाउन एउटै टेबलमा कहिल्यै बसेनौँ। त्यसक्रममा भारत सरकारका प्रतिनिधिहरुले नै राणा तर्फको धारणा हामीलाई बताउँथे। राजा त अन्तिम कार्य हुँदासम्म तस्बिरमै थिएनन्।

नेपाल र भारत बीच सीमाका केही कुरा छन्। व्यापार असन्तुलनका कुरा छन्। बिगतमा गरिएका सीमा अवरोधका पीडा छन्। नेपाली नागरिकमध्ये खास क्षेत्रमा बसोबास गर्नेलाई आफ्नो मूलको भनी बहकाउने गरेका कुरा छन्। जबकि पश्चिमा आँखामा ती नागरिक र अन्य अधिकांश नागरिक आर्य नै हुन्। आफ्नो मूलका नभन्ने गरेकासँग अनुहार, संस्कृति र धर्म मिल्ने मानिस भारतकै सिक्किम, पश्चिम बङ्गाल, देहरादून, आसाम र महाकाली पश्चिममा प्रशस्त बसोबास गरेका छन्। मूलको नाममा नागरिकलाई फुटाउने कार्य कुनै पनि देशमा र कोही पनि देशभक्तलाई कर्णप्रिय लाग्दैन।

नेपालमा पनि भावनामा बगेर वा अलि टाढाका एजेण्डाको फौबन्जारी गरेर भारत बिरुद्ध बोल्नुलाई पेशा बनाएका मानिस पनि छन्। कसैकसैलाई सबै ऋतुमा गाली गर्न एउटा अचानो चाहिन्छ र कुण्ठा वमन गरिरहनु पर्छ। तर सीमा अवरोध गर्दा, सीमा मिचिँदा र कुटनीतिज्ञका अमर्यादित क्रियाकलाप हुँदा सबै नेपालीको चित्त दुख्नु प्राकृतिक नै हो।

नेपालका जल परियोजनाको बिषयलाई लिएर त भारत र केही पश्चिमाको भित्री पैँठेजोरी नै चल्छ। पश्चिमा कतिपय राजदूत संगठित रुपमा नेपालमाथि दबाब दिन्छन्। कहिलेकाहिँ नेपालस्थित राष्ट्रसंघका कर्मचारीले अनुहार मिल्ने केही पश्चिमा राजदूतको जमघट गराउँछन्। नेपालमा उनीहरुका एजेण्डा लागू गराउन राष्ट्रसंघको नेपालस्थित कार्यालयले पश्चिमा दूतावासबाट रकम उठाई झिल्लीसमेत झार्छ।

केही पश्चिमा राष्ट्रका संस्था सामाजिक विघटन र हिमवत् सभ्यता विरुद्ध लागेको छरपष्ट छ। नेपालमा कूटनीतिक मर्यादा र पारस्परिकता विपरितका क्रियाकलाप गर्न सबैजसो नियोगको प्रतिस्पर्धा नै चल्छ। यसमा नेपालका सरकारहरु उनीहरुभन्दा दोषी छन्। किनकि यस्ता महत्वपूर्ण कुराबारे प्रतिक्रिया जनाइँदैन। नेपालले सशक्त प्रतिक्रिया नजनाएसम्म बाहिरिया दबाब घट्ने सम्भावना पनि छैन।

नेपालको विकासमा भारतको ठूलो सहयोग छ। बिरामी पर्दा नेपाली फुत्त उठेर भारतमा जान सक्छ। तीर्थव्रत गर्न फुरुङ्ग हुँदै जान्छ। काम खोज्न जान्छ। भारतीयसँग अनुहार, धर्म र संस्कृति मिल्छ। यस्तै भारतीय पनि यता आउँछन्। सीमा खुला छ। तर प्रश्न राजनीतिक र प्रशासनिक सरकारमा हुनेको मन कति खुला छ भन्ने हो। ठूलो आकार र विश्व शक्तिको रुपमा उदीयमान भारतका सत्तासीनको मन पनि सीमा र दुवैतिरका नागरिकको जस्तै खुला भएको दिन दुई देशका समस्या साँच्चै रहने छैनन्। यसका लागि इतिहास केही घटनाबाट सिक्न र केही घटना बिर्सन भने जरुरी छ।

ऐतिहासिकता


जनकपुरकी छोरी सीताको विवाह अयोध्यामा श्री रामसँग भएको थियो। जनक दरबारका विदुषी मैत्रेयी र ऋषि याज्ञवल्क्यले वेदका ऋचा लेखेको बताइन्छ।

मल्लकालमा कुनै मल्ल राजा उपचार गराउन बनारस पुगेका थिए। उनले गुरु नानकसँग आफ्नो उपचारको निम्ति आग्रह गरे। पटकपटकको भेटपछि ती मल्ल राजाको साथमा गुरु नानक सिंह नेपाल आई पिपलको रुखमुनि बसेर ध्यान गर्नु भएको थियो। राजाले दरबार आउन आग्रह गर्दा गुरुले नमानेपछि बालाजुमा गुरु नानक सिंहको लागि राजाले मठ बनाइ दिएका थिए। पछि बिरामी राजा रण बहादुर शाहले सो मठलाई प्रशस्त जग्गा दिएको भन्ने पनि पाइन्छ। (www.sikhiwiki.org /Guru Nanak in Nepal)

अंग्रेजले अत्याचार गरेपछि गुरु नानक सिंह नेपाल आएको प्रसंग सुनेकी महारानी जिन्दन कौरले नेपालमा शरण लिएको देखिन्छ। नेपालमा भने चाँद कुवर भनिने ती महारानी एघार वर्ष जति नेपालमा बसेकी थिइन्। महाराज रणजित सिंहकी महारानी तथा कोहिनूर हिराकी वास्तविक स्वामिनीलाई जंगबहादुर राणाले अंग्रेजको दबाव झेलेर पनि नेपालमा शरण दिएका थिए।

थापाथलीमा उनको बस्ने प्रबन्ध मिलाई गुरुद्वारा बनाउने अनुमति दिइएको थियो। साथै ती महारानीले आफ्नै खर्चले थापाथलीमा लक्ष्मीनारायण मन्दिर बनाउन लगाएकी थिइन्। अंग्रेजले उनलाई सुम्पन माग गर्दा हिन्दू धर्ममा शरणको मरण गर्ने विधान नभएको र त्यसरी सुम्पनु हिन्दू धर्ममा अपराध हुने भनी अंग्रेजलाई जबाफ दिइएको थियो। (श्री ३ हरुको तथ्य वृतान्त: पुरुषोत्तमशमशेर जबरा भाग १ पृष्ठ ५६)

ठूलो आकार र विश्व शक्तिको रुपमा उदीयमान भारतका सत्तासीनको मन पनि सीमा र दुवैतिरका नागरिकको जस्तै खुला भएको दिन दुई देशका समस्या साँच्चै रहने छैनन्। यसका लागि इतिहास केही घटनाबाट सिक्न र केही घटना बिर्सन भने जरुरी छ।

भारत स्वतन्त्र हुनुभन्दा पाँच वर्ष पहिले राममनोहर लोहिया र जयप्रकाश नारायण हजारीवाग कारागारबाट भागेर नेपालको हनुमाननगर आई लुकेर बसेको देखिन्छ। संकटका बेला नेपाल र नेपाली जनताले शरण दिएको कारण नेपाल र नेपालीप्रति उहाँहरु संवेदशील हुनुहुन्थ्यो। (मेरो कथाका पानाहरु, खण्ड १, गणेशमान सिंह पृष्ठ २८८)

नेपालले हैदरावाद, पाकिस्तान र काश्मिरसँग भारतको झगडा भएमा सो दमन गर्न बिनासर्त दस व्रिगेड नेपाली सेना भारत सरकारको सहायतार्थ पठाएको थियो। यी नेपाली सैनिक २००५ साल साउन ७ गते भारततर्फ गई परिस्थिति सुध्रेकाले छिट्टै फर्केका थिए। (श्री ३ हरुको तथ्य वृतान्त पुरुषोत्तमशमशेर जबरा भाग-२ २०६२ पृष्ठ ३४७)

मात्रिका बाबुलाई सरकार गठन गर्न दिने (२००८) ग्राण्ड डिजाइनको पटकथा दिल्लीमा तयार हुन्थ्यो र दूतावासले मन्चनको व्यवस्था मिलाउँथ्यो। कलाकार नेपाली भए पनि निर्माता तथा निर्देशक थिए- नेहरु। (मेरो कथाका पानाहरु खण्ड ३ पृष्ठ २७५)

पण्डित नेहरुजीले राजालाई बीपी कोइरालालाई प्रधानमन्त्री बनाउनुभयो भने भारत सरकारलाई नेपाल सरकारसँग मिलेर काम गर्न र सहयोग गर्न अप्ठेरो हुनेछ भनेर पत्र लेखेका रहेछन्। सुवर्णजी, किशुनजी र सूर्यबाबु त्यो पत्र हेर्न दरबार जानु भयो। राजाले पनि बेहिचक उनीहरुलाई सो पत्र देखाए। त्यो पत्रको मजबुन ठीक त्यस्तै थियो। यो २००८ साल कार्तिकको घटना हो। (मेरो कथाका पानाहरु(खण्ड ३ पृष्ठ २५१-२५२)

दिल्लीमा हामीहरु तथाकथित त्रिपक्षीय सम्मेलनका नाममा आफ्ना मतभेदहरु सुल्झाउन एउटै टेबलमा कहिल्यै बसेनौँ। त्यसक्रममा भारत सरकारका प्रतिनिधिहरुले नै राणा तर्फको धारणा हामीलाई बताउँथे। राजा त अन्तिम कार्य हुँदासम्म तस्बिरमै थिएनन्। ( एमपी कोइराला: अ रोल इन रिभोलुसन पृष्ठ १७६)

नेपालमा सीपी यन सिंह राजदूत भएका समयमा भारतीय हस्तक्षेप उचाइमा थियो र जताततै हस्तक्षेप गर्न सुरु गरिएको थियो। राजाका निजी सचिव भारतीय थिए। मन्त्रिपरिषद्का बैठकमा नियमित रुपमा भारतीय प्रतिनिधि उपस्थित हुन्थे। मिलिटरी मिसन (नेपालमा) एकदमै मन पराइएको थिएन। बिपी कोइरालाले त राजदूत सीपी यन सिंहलाई नेपालका आन्तरिक मामिलामा अत्यधिक घुसपैठ (मेड्लिंग) गरेको आरोप नै लगाएका थिए।

त्यसको जबाफमा राजदूतले हामी आफ्नो सुरक्षाको हितको लागि नेपालको राजनीतिक र आर्थिक विकासबारे पूर्णतः अलग रहन सक्दैनौँ भन्दथे। भारत बेलायतबाट स्वतन्त्र भएपनि त्यसबेला भारतले बेलायतले लागू गरेको नीतिलाई बिना फेरबदल निरन्तरता दिएको थियो। कतिपय आन्तरिक कारणले गर्दा भारत सरकारले भारत-नेपाल सम्बन्धमा उपयुक्त सोच विकास गर्न सकेको थिएन। १९५०को सन्धि पनि १९२३ मा राणा र साम्राज्यवादी अंग्रेजबीच भएको सन्धिको प्रतिलिपिजस्तै थियो। १९५० को सन्धिले नेपालीहरुको दिमागमा निकै असन्तोष (इरिटेसन) पैदा गरेको थियो। ( बीपी कोइराला लाइफ एण्ड टाइम्स् : किरण मिश्र १९९४ पृष्ठ १२६)

फणीश्वरनाथ रेणु “नेपाली क्रान्ति” कथा नामक पुस्तकमा लेख्छन्- नेपालीहरुको मनमा भारत र भारतीयप्रति अनादिदेखि नै केही तीतो र मैलोपन रहँदै आएको हो। भारतीयहरु नेपालप्रति केही हेयदृष्टि राख्ने गर्छन्।(२०६१ पृष्ठ १०३) सो कृति अनुसार भारतीय नागरिक डा. कुलदीप झा २००७ सालको क्रान्तिका स्थानीय कमान्डर थिए र उनी पूर्वको कुनै मोर्चामा नेपालको प्रजातन्त्रको लागि लड्दा लड्दै गोली लागेर मारिएका थिए।

नेपालका विश्वेश्वरप्रसाद कोइराला र राजेन्द्रप्रसाद (पछि भारतका राष्ट्रपति) पटना कारागारमा ६ महिना र पछि हजारिबाग जेलमा संगै बसेका थिए।( मेरो जीवन असफल भएन,२०७१,पृष्ठ २३)

हामीले भारत सरकारका प्रशासकहरुलाई हाम्रो दैनिक काममा हस्तक्षेप गर्ने छुट दिन हुँदैन। खासगरी हामीले हाम्रो प्रशासनमा सिपिएन सिंहलाई दखल दिने छुट दिन हुँदैन। (मेरो जीवन असफल भएन: बीपी कोइराला पृष्ठ १०१)

भारतले दबाब नदिएसम्म राणाले सम्झौता गर्दैनन् भन्ने प्रभाव हामीलाई र जवाहरलाल नेहरुले दबाब नदिएसम्म हामी पनि एक इन्च पछि सर्दैनौ भन्ने भान राणालाई परेको थियो। (ऐजन पृष्ठ ७९)

भारतमा संकटकाल लागू भएका बखत डा. सुव्रमन्ह्यम स्वामीले त्यहाँको संसदमा लोकतन्त्र पनि मरेको छ त्यसको लागि पनि श्रद्धाञ्जली दिनुपर्ने भावको वक्तव्य दिएपछि तत्कालीन महाराजधिराज श्री ५ वीरेन्द्रको सहयोग लिएको र नेपाल हुँदै तेस्रो देश पुगेको बताउने गरेको देखिन्छ।

नेपाल अन्तर्राष्ट्रिय कानून अनुसार भूपरिवेष्ठित मुलुक भएपनि व्यवहारमा यो भारतवेष्ठित राज्य हो। किनकि चीन भौगोलिक रुपमा टाढा तट भएको तटवर्ती देश हो। चीनका तटको प्रयोग गर्नु नेपाललाई तुलनात्मक रुपमा बढी खर्चिलो र सामान्य अवस्थामा अव्यवहारिक हुनसक्छ।

समन्वय


१. नेपाल भारत बीच कतिपय ठाउँमा सीमा समस्या छन्। ती समस्याको समाधान छिटोभन्दा छिटो गर्न जरुरी छ।

२. बेलाबेलामा भारतीय सीमा सुरक्षा बलले सीमा स्तम्भ सार्ने गरेका कुरा सार्वजनिक हुने गरेका छन्। नेपाल भारतको सीमा सम्बन्ध भारत पाकिस्तान वा भारत चीन जस्तो भने होइन। नेपालको सीमातर्फ खटिदा सीमा सुरक्षा बललाई उताकै मोड र मुडमा खटाउदा समस्या उत्पन्न हुनसक्छ। तसर्थ बल प्रयोग नगर्न र अमर्यादित व्यवहार नगर्न अभिमुखीकरण तालिम दिएर खटाउन उपयुक्त हुनेछ।

३.सीमामा स्तम्भ सार्ने काम नजिकका जग्गाधनीले जग्गाको क्षेत्रफ़ल बढाउन पनि गर्न सक्छन्। सीमामा तत्काल कुनै समस्या भएमा यथास्थितिमा राखी यसको सूचना दुवै तर्फका सुरक्षा बलले प्रशासनलाई दिने र प्रशासनिक र कुटनीतिक माध्यमबाट प्रमाणका आधारमा समाधान गर्ने व्यबस्था गर्न सकिन्छ। यसकोलागि हटलाइन बनाउन सकिन्छ।

४.नेपालको हित विपरित बीच पटकपटक सीमा अवरोध भएपनि नेपाल र भारत बीच खुला सीमा रहेको छ। भारत नेपालको नजिकको र व्यवहारिक तटवर्ती मुलुक हो। समुद्रसम्म पुग्न पाउने नेपालको प्राकृतिक,परम्परागत र अन्तर्राष्ट्रिय कानूनी अधिकार हो। एउटा ठूलो तथा समान सभ्यता र संस्कृति एवं मूलतः समान आस्था राख्ने जनता भएको मुलुकले नेपालको पारवहन हकलाई प्राविधिक रुपमा भन्दा असल छिमेकीको रुपमा हेर्न जरुरी छ। कोशी सम्झौता लामो समयका लागि गरेका मुलुकहरुले पारवहन सम्झौतालाई ब्यापार सम्झौतासँग जोडेर छोटोछोटो नगरी लामो अवधिका लागि गर्न तैयार हुनुपर्छ।

५. नेपालका नदी भारततर्फ बग्दछन् र नेपाल उपल्लो तटीय राज्य हो। भारतले माथिल्लो तटीय राज्यको रुपमा बंगलादेशलाई जे दिन चाहन्छ, नेपालसँग पनि त्यही अपेक्षा गर्नुपर्ने हुन्छ। हित्त चित्त मिलेर लेनदेन हुनु आफ्नो ठाउमा छँदैछ।

६.नेपालको पशुपतिमा भारतीय नागरिक र काशी विश्वनाथ मन्दिरमा नेपाली नागरिक पूजारी हुन्छन्। नेपाली र भारतीय तीर्थाटन गर्न नगई नहुने ठाउँ दुवै देशमा छन्। तसर्थ दुवैतिरका नागरिकलाई तीर्थाटनको लागि सुबिधा पुर्‍याउन आवश्यक प्रबन्ध मिलाएर सम्बन्ध जनस्तरमा पुर्याउन सकिन्छ।

७. नेपाल र भारतले आआफ्नो देशमा रहेका समान सभ्यता, संस्कृति र सभ्यताको जगेर्ना गर्न साथ मिलेर काम गर्न सक्छन्। साथै त्यसमा खलल पार्न तल्लीन परचक्रीका क्रियाकलापबारे सूचना आदानप्रदान गर्न र आपसी सहयोग बिस्तार गर्न सक्छन्।

८.नेपाल र भारत बीचको व्यापारमा ठूलो असन्तुलन छ। नेपाल जस्तो सानो अर्थ व्यवस्था भएको मुलुक यस्तो असन्तुलन खप्न सक्ने अवस्था हुँदैन। तसर्थ यो असन्तुलन कम गर्न भारतले नेपाललाई उदारता देखाउन सक्छ। यो उदारता भारतका जस्तो ठूलो अर्थ व्यवस्थाका लागि क्षमताविहीन दायित्व पनि हुदैन।

९.भारतीय सेनामा नेपाली नागरिक संगठित रुपमा भर्ती गरिने कार्य अझै निरन्तर छ। नेपालमा भारतीय पेन्सन पाउने कैयौ व्यक्ति छन्। भारत डिजिटल इण्डिया र इबैंकिंगको युगमा प्रवेश गरिसकेको छ। नेपालमा भारतीय बैंकको लगानी रहेका बैंक पनि छन्। पारस्परिकताका आधारमा नेपाली बैंक भारतमा खोल्न बाधा हुनुपर्ने कारण छैन। नेपाल र भारतबीच उन्नत बैंक व्यवस्था हुँदाहुँदै पनि सोल्जर्स बोर्ड राखी पेन्सन भुक्तानी गर्ने गरिएको छ। अब उप्रान्त पेन्सन रकम सिधै पेन्सनधारीको खातामा जम्मा हुने व्यवस्था मिलाउन सकिन्छ। यसो गर्नु मितव्ययी पनि हुन्छ।

१०.भारतीय दूतावासले पाँच करोडसम्मका योजना दूतावास मार्फत चलाउने कार्य गर्दै आएको छ। यस्ता कार्य गर्न नेपाल अक्षम भन्ने पनि होइन र दूतावासको काम परियोजना सञ्चालन गर्नु पनि होइन। यो सम्झौता सार्वजनिक भएको पनि थाहा छैन। यद्यपि कतिपय पश्चिमा देशूका दतावास र राष्ट्र संघीय निकायले पनि यस्ता गैरकूटनीतिक काम गर्दै आएका छन्। नेपालको संविधानको धारा ५१(घ)(११) ले यस्तो सिधै खर्च गर्न र त्यसो गर्न दिन निषेध गरेको छ। तसर्थ नेपाल सरकार, भारतीय लगायत सबै दूतावास र राष्ट्र संघले पनि नेपालको संविधानको मर्यादा राख्नैपर्छ। नेपालले सम्बद्ध सबै निकाय र दूतावासलाई यसबारे पत्राचार गर्न आवश्यक छ।

११.सीमा जोडिएको, खुला सीमाना भएको र सभ्यतामूलक सम्बन्ध भएको भारत र नेपाल बीच जुन लेनदेन हुन्छ अन्य मुलुकले पनि सोही व्यवहार आफूसँग गर्नुपर्ने माग राख्ने गरेको पाइन्छ। कहिलेकाहिँ अरु मुलुकलाई नेपालले दिन नसक्ने सुबिधा नेपालले भारतलाई दिन गाह्रो पर्न जाने हुन सक्छ। यबारे पनि भारतले संवेदनशीलता देखाउन जरुरी हुनसक्छ।

१२.नेपालमा भारत लगायत प्राय: दाता राष्ट्रका राजदूत र दूतावासका कर्मचारीले प्रोटोकल मिचेर भेटघाट गर्ने र अनौपचारिक तवरबाट कुरो टुंग्याउने प्रयत्न गर्छन्। भारतीय राजदूतले त ओहोदाको प्रमाणपत्र प्रस्तुत नगर्दै भेटघाट गर्ने गरेका कुरा पनि सार्वजनिक हुने गरेका छन्। तसर्थ कूटनीतिक भेटघाटलाई मर्यादित बनाउन प्रथमत: नेपालले नै प्रयास गर्नुपर्छ। भारतीय राजदूतले यसलाई गम्भीरतापूर्वक लिए अरु सबै मुलुकबाट हुने कुटनीतिक मर्यादा विपरितका कार्य रोक्न नेपाललाई सजिलो हुने निश्चित छ।

१३. भारत र इण्डिया अब देखिने गरी फरक छन्। इण्डिया पश्चिमा लबीका एजेन्डामा काम गर्छ। उनीहरु र पश्चिमा नेपाललाई मूलत: उही चश्माबाट हेर्छन्। भारत आफ्नो परम्परा र सभ्यता मासिन पनि नदिने र सो मास्न उद्यत इन्डियन र त्यहाँ कार्यरत पश्चिमा गैरसरकारी संस्थालाई नियमन र नियन्त्रण गर्ने धारणा राख्छ। इन्डियनहरु त्यहाँको समाजका सबै खराबीको दोष भारतीय सभ्यतालाई दिने पश्चिमका धेरै कुरामा समर्थन जनाउछन्। इन्डियनहरु पश्चिमाले लेखिदिएको वा लेखाएको इतिहास, समाजशास्त्र र मानवशास्त्रलाई नै एकल सत्य ठान्दछन्।

उनीहरुले विदेशीले गलत अनुवाद गराएका प्राचीन शास्त्रका माध्यमबाट आर्यवर्तमा सदैव शोषण र अत्याचार थियो र त्यहाँका मानिस अझै पनि असभ्य छन् भन्ने मान्दछन्। तसर्थ भारतले इन्डियनलाई र नेपालले त्यस्ताका नेपाली फौबन्जारलाई एकअर्काको विरुद्ध केही गर्न दिन रोक्नुपर्छ।

१४. नेपाल र भारत दुबैले एक अर्काको भूमि एकअर्काको हित विपरित प्रयोग गर्न दिन हुँदैन।

निष्कर्ष


सीमा खुला भएका र समान धार्मिक र सांस्कृतिक धरोहर भएका दुई मुलुक बीचको सम्बन्ध इतिहासबाट असल कुरा सिक्दै र तितोपन मेट्दै अगाडी बढ्न जरुरी छ। सीमा समस्या समाधान गर्न विलम्ब गर्न हुदैन। सीमा स्तम्भको पवित्रता कायम राख्नु पर्छ। सीमा अवरोध अब दोहोरिनु हुँदैन। दुतावास कुटनीतिक सीमामा बस्नुपर्छ।

नेपाल आकार र आर्थिक अवस्थाका कारण दण्डित हुनु हुँदैन। दुवै देशको भूमि एक अर्काका हित विपरित प्रयोग हुन दिन हुँदैन। व्यापार असन्तुलन असह्य अवस्थामा आउन दिन हुँदैन। समस्या परे तत्काल समाधान गर्न हटलाइन सम्पर्क राख्न सकिन्छ।

दुवै देशले एक अर्काका सरोकारलाई सक्दो सम्बोधन गर्नुपर्छ। किनकि छिमेकी बदल्न सकिँदैन तर व्यवहार भने अवश्य बदल्न सकिन्छ। सम्बन्धलाई उचाइमा पुर्‍याउन खुला सीमाजस्तै मन पनि खुला र दुबैतिरका तीर्थस्थल जत्तिकै पवित्र पनि हुनुपर्छ।

जेठ ९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्