बहुमुल्य ब्ल्याक डाइमन्ड तीन करोडमा बिक्रीको तयारी, आठ जना पक्राउ

काठमाडौं- बहुमुल्य धातु ब्ल्याक डाइमन्डसहित आठ जना पक्राउ परेका छन्।

महानगरीय प्रहरी वृत दरबारमार्गको टोलीले ३०.२४ क्यारेटका दुई थान ब्ल्याक डाइमन्डको अबैध विक्रीको तयारी भईरहेका बेला लैनचोरबाट उनीहरुलाई पक्राउ गरेको हो।

विज्ञापन

पक्राउ पर्नेमा गोरखाका  ४० वर्षीय अजित अधिकारी, धादिङका २६ वर्षीय उत्तम सिटौला, नुवाकोटका २३ वर्षीय विवेक श्रेष्ठ, काठमाडौंका २२ वर्षीय रमेश मगराती, गोरखाका ३३ वर्षीय मुक्ती प्रसाद धिताल, नुवाकोटका २६ वर्षीय सागर गोतामे, नुवाकोटकाका २४ वर्षीय राज विक छन् । यसैगरी डाइमन्डका मालिक काठमाडौंकै रमेश रजक पनि पक्राउ परेका छन। ४४ वर्षीय रजकले उक्त डाइमन्ड आफुलाई भारतीय साथीले दिएको बताएका छन्।
ब्ल्याक डाइमन्डको कारोबार भईरहेको छ भन्ने सुचनाको आधारमा प्रहरी आफै ग्राहक बनेर उनीहरुलाई नियन्त्रणमा लिन सफल भएको थियो। ब्ल्याक डाइमन्ड निकै धनाढ्यहरुले मात्र प्रयोग गर्छन्। ‘यसको यति नै मुल्य हुन्छ भन्ने हुन्न। ग्राहकअनुसार यसको मुल्य निर्धारण हुन्छ’ काठमाडौं प्रहरी परिसर प्रमुख विश्व पोखरेलले भने।
उनीहरुलाई थप कारबाहीका लागि राजस्व अनुसन्धान विभाग पठाईएको छ। पक्राउ परेकामध्ये अन्यले ग्राहक खोज्ने लगायत काम गरेको प्रहरीको दाबी छ। सुन, डाइमन्ड लगायतका बस्त नेपाल राष्ट्र बैंकले मात्र विदेशबाट ल्याएर स्थानिय विक्रेतालाई बेच्ने गर्दछ।

 

जेष्ठ ९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्