हिरासतमा आफू असुरक्षित रहेको गोरेको भनाइ, सबै अभियुक्त झुम्का जेलमा

हिरासतमा आफू असुरक्षित रहेको गोरेको भनाइ, सबै अभियुक्त झुम्का जेलमा

अदालतमा बयान दिएर फर्कदै चुडामणि उप्रेती गोरे।तस्बिर-अभयकुमार राई/देश सञ्‍चार

विराटनगर- बुधबारदेखि साढे तेत्तीस किलो सुन तस्करी र सनम शाक्य हत्याप्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती गोरेको बयान लिने काम सुरु भएको भएको छ। मोरङ जिल्ला अदालतमा जारी बयानका क्रममा पहिलो दिन बुधबार न्यायाधीश नारायणप्रसाद शर्माको इजलासमा बयानका लागि गोरेलाई बिहान १० बजे उपस्थित गराइएको थियो। बिहानबाटै बयानका क्रममा इजलासमा उनी सामान्य ब्यवहारमा प्रस्तुत भएको र सोधिएका प्रश्नको जवाफ दिएको अदालतका एक अधिकारीले बताए।

ज्यान असुरक्षाको धम्की

विज्ञापन

बयानका क्रममा गोरेले अदालत समक्ष प्रहरी हिरासतमा मानवअधिकारकर्मी संघसंस्थाको निगरानीमा रहन पाउनु भन्दै अदालतमा निवेदन दिएका छन्। यस घटनामा मुछिएका प्रेमलाल चौधरीको हिरासतमा मृत्यु भएको र आफ्नो ज्यान पनि जोखिममा रहेको भन्दै गोरेले अदालतमा निवेदन दिएका हुन्। उनको मुद्दा हेरिरहेका अधिवक्ता यामबहादुर मगरले निवेदनमा गोरेले ज्यान जोखिममा रहेको र असुरक्षाको बातावरण भएकोले अदालतमा निवेदन दिएको स्पस्ट पारे। उक्त निवेदन दर्ता गराएपछि मात्र बयानको कार्य अघि बढेको थियो। उप्रेतीको तर्फ मुद्धा हेरिरहेका अधिवक्ता यामबहादुर मगरका अनुसार निवेदन मस्यौदा गरि अदालतमा दर्ता भइसकेको छ। न्यायाधीश शर्माको इजलासले गोरेका हकमा हिरासतमा आवश्यक सुरक्षा व्यवस्था मिलाउन र मानव अधिकारकर्मीको निगरानीमा राख्ने व्यवस्था गर्न आदेश दिएको छ। निवेदनका विषयमा मोरङमा रहेका मानवअधिकारकर्मीहरु समक्ष जानकारी पनि भइसकेको उनले बताए।

अभियोग पत्र सुनाउँदै बयान

बयानका क्रममा गोरेलाई अदालतमा १ सय ५३ पृष्ठ लामो अभियोग पत्र सुनाइएको थियो। त्यसक्रममा अभियोग पत्र सुनाउनु अघि गोरेलाई बयानका क्रममा प्रश्न गर्न थालिएपछि गोरेले उक्त पत्रबारे जानकारी मागेको बताइएको छ। बयान दिने क्रममा गोरेलाई उनको पृष्ठभूमि लगायतका बारेमा सोधिएको थियो। गोरेले सो क्रममा आफू खासै कुनै पेसा नगर्ने भएको र सुनकोबारेमा उठेका कुराहरुबारे स्पस्ट पार्दै गएको अदालत स्रोतले जनाएको छ। यसक्रममा गोरेले पाँच पृष्ठको बयान दिएको र त्यसमा आफू निर्दोष रहेका उल्लेख गरेको बताइएको छ। बयान जारी रहेको छ र प्रश्न र जवाफको क्रममा सिन्धुलीको घटनासम्म आइपुगेको हुनुपर्ने अधिवक्ता मगरले बताए। यस क्रममा गोरे सामू सनम शाक्य हत्याका क्रममा खिचिएको भिडियो तथा अडियोहरु प्रस्तुत नगरिएको उनले स्पष्ट पारे।

गोरेलाई संगठित अपराध, अपहरण तथा शरीर बन्धक, चोरी निकासी अवैध कारोबार र कर्तब्य ज्यानको अभियोग लागेको छ। यी सबै विषयमा अभियुक्त गोरेलाई प्रश्नका क्रममा जानकारी दिइएको थियो। प्रश्नका क्रममा गोरेलाई हाल अभियुक्त ६३ जनामध्ये चिनजानको को-को भनेर प्रश्न राखिएको बताइएको छ। गोरेले केही ब्यक्तिको नाममा टिक लगाएको अधिवक्ता मगरले बताए। उनले भने, ‘उल्लेखित ६३ जना बाहेक अन्यको नाम बयानका क्रममा आएको छैन।’

बयान बिहीबार अन्तसम्म सकिने सम्भावना

मंगलबार अदालतमा उपस्थित गराइएका गोरेको बयान बिहीबारसम्म सकिने पूर्वानुमान गरिएको छ। सम्भवत बिहीबार अन्तिम समयतिर थुनछेकको आदेश आउन सक्छ। त्यो नआएको खण्डमा शुक्रबारसम्म बयान लम्बिन सक्नेतर्फ गोरेका तर्फबाट मुद्धा हेरिरहेका मगरले संकेत गरेका छन्। मुख्य अभियुक्त गोरे अदालतमा बयान दिइरहेका छन् भने ६३ अभियुक्त मध्ये ३२ जना अझै फरार छन्।

२८ अभियुक्त झुम्का कारागारमा
यसैगरी यसै घटनाका अभियुक्त २८ जनालाई साँझ सुनसरीको झुम्कास्थित क्षेत्रीय कारागार लगिएको छ। विराटनगरको हाटखोलास्थित जिल्ला कारागार मोरङमा राख्नलाई ठाउँ अभाव भएपछि उनीहरुलाई झुम्का पुर्‍याइएको हो । मोरङ कारागारका निमित्त जेलर शंकरप्रसाद पौडेलका अनुसार ठाउँ अभावमा राख्न असुविधा भएपछि अभियुक्त बुझिलिने पत्र सहित सबैलाई झुम्का कारागार पठाइएको हो। दुई सय ५० क्षमताको कारागारमा अहिले सात सय ५० जना कैदी बन्दी मोरङ कारागारमा रहेको जानकारी उनले जानकारी दिए। झुम्का पठाइएका प्रतिवादीहरुमा टेकराज मल्ल ठकुरी, मोहन काफ्ले, लाक्पा शेर्पा, मदनप्रसाद घिमिरे, नरेन्द्र कार्की, राजन कुमार, भुजुङ गुरुङ, राजेन्द्रकुमार शाक्य, महावीरप्रसाद गोल्यान अग्रवाल, बालकृष्ण श्रेष्ठ, गोपालकुमार श्रेष्ठ, विरेन्द्रमान श्रेष्ठ छन्।

त्यस्तै पुण्यप्रसाद लामा तामाङ, दोराम खत्री, हेमन्त गौतम, कपिलराज पुरी, लालबहादुर मगर, सम्बीरप्रसाद तोलाङ्गे, राजु महर्जन, राजन थापा, तुलाराम थारु र अमरमान डंगोललाई पनि झुम्का कारागार स्थानान्तरण गरिएको  । प्रहरी अधिकारीहरु पूर्व डीआईजी गोविन्दप्रसाद निरौला, निलम्बित एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, डीएसपीहरु संजयबहादुर राउत, प्रजित केसी र सइ बालकृष्ण सञ्जेललाई पनि झुम्का कारागार पठाइएको पौडेलले उल्लेख गरे। मंगलबार अदालतले उनीहरुलाई थुनामा राख्न आदेश दिएपनि कारागारले ठाउँ अभावका कारण २८ जनालाई नै जिल्ला प्रहरी कार्यालय मोरङमै राखिएको थियो। अर्कोतर्फ झुम्का कारागारका जेलर गणेश अधिकारीले मोरङबाट पठाइएका सबै जनालाई जिम्मा लिएर कारागारको ‘ए’ र ‘बी’ ब्लगमा राखिएको स्पस्ट पारे।

जेष्ठ ९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्