राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोसँग अन्तर्वार्ता

‘कार्पेटमुनि फोहोर लुकाएर कोठा सफा छ भनेर हुन्छ?’

तस्बिरहरु: बर्षा शाह

राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो प्रष्ट वक्ताका रुपमा चिनिन्छन्। आफूलाई लागेको कुनै पनि कुरा प्रष्टसँग बोल्ने बानीका कारण उनी बेलाबखत विवाद र चर्चामा आउँछन्। कुनै बेला प्रधानमन्त्री केपी ओलीसँग तिक्ततापूर्ण सम्बन्ध भएका महतो पछिल्लो समय उनीसँग निकै नजिकिएका छन्। उनीहरुको सम्बन्ध औपचारिकभन्दा अनौपचारिक बढी हुने गरको छ।

मंगलबार महतोसहित आगामी आर्थिक वर्ष २०७५/७६ को बजेटमा दुई नम्बर प्रदेशलाई प्राथामिकतामा राख्न ज्ञापनपत्र बोकेर बालुवाटार पुगेका राजपाका अध्यक्ष मण्डलका सदस्यहरुले प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग खुलेर छलफल गरेका छन्। मंगलबार बेलुकाको बालुवाटार छलफलपछि प्रधानमन्त्री ओलीको आश्वासनका कारण राजपा नेताहरु संविधान संशोधन हुने र सरकारमा सहभागी हुने विषयमा धेरै आशावादी देखिएका छन्।

उनै महतोसँग पछिल्लो राजनीतिक विषयहरु संविधान संशोधन, सरकारमा राजपाको सहभागिता, नीति तथा कार्यक्रम र दुई नम्बर प्रदेशको सरकार परिवर्तनबारे प्रकाश ढकालले गरेको कुराकानी:

राजनीतिक दौडधुप कम हुँदै गएका छन्, दिनहरु कसरी बितिरहेका छन् ?

अहिले संसद चलिरहेको छ। सरकारको नीति तथा कार्यक्रममाथि छलफल भइरहेको छ। बजेटको तयारी भइरको छ। संसद व्यस्त हुँदा सांसदका नाताले उत्तैतिर बढी समय बितिरहेको छ। फुर्सद कमै छ।

तपाईंले नै विश्वासको मत दिनुभएको सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई कसरी हेर्नुभएको छ?

नीति तथा कार्यक्रम प्रत्येक सरकारले ल्याउँछ, योपटक पनि आयो। धेरै कुरा समेटिएका छन्। बिरबलको खिचडी जस्तो पाक्ला कि नपाक्ला आशंका छ। कार्यान्वयन पक्ष फितलो छ। कार्याक्रम ल्याएर मात्र हुँदैन, कार्यान्वयन पनि हुनुपर्छ। नीति कार्यक्रम ल्याउँदा देशमा उठेका सवालहरुलाई सम्बोधन गर्नेतर्फ पनि ध्यान दिनुपर्थ्यो। यसमा कतिपय कमीकमजोरी छ। हाम्रो असन्तुष्टि छन्। त्यसमा मुख्य असन्तुष्टि भनेको संविधान संशोधन नै हो। कार्पेटमुनि फोहोर लुकाएर कोठा सफा छ भनेर हुन्छ? अनि मुलुकको द्वन्द्व खतम भयो? ६ महिनासम्म भएको आन्दोलन संविधानमा देखिएको त्रुटि सच्याउनका लागि नै भएको थियो। मधेसी, दलित, जनजातिलगायतले उठाएका संविधानसँग सम्बन्धित माग सम्बोधन गरिनेछ भन्ने नीति तथा कार्यक्रममा आउनुपर्थ्यो। त्यसमा हामीले संशोधन दर्ता गरेका छौं। अर्को कुरा जसले अधिकारका लागि लड्दा ज्यान गुमायो, तिनका परिवारलाई जीवीकोपार्जनका लागि सरकारको दायित्व हुनुपर्छ। त्यो विषयमा पनि छुटेको छ।

नीति तथा कार्यक्रम आयो तर कार्यान्वयन हुँदैन भनेर निराशा व्यक्त गर्नुभयो। पहिले परिस्थिति फेरिएको छ। एउटै दलको बहुमत भएको सरकार छ, अझ त्यसमा तपार्इंहरुको पनि समर्थन छ। यस्तो अवस्थामा पनि नीति कार्यक्रम कार्यान्वयन नहोला त?

शक्तिको सदुपयोग भयो भने राम्रो हुन्छ। दुरुपयोग भयो भने नराम्रो हुन्छ। एमाले र माओवादी केन्द्र मिलाएर नेकपा बनाए, शक्ति बढाए, यो लोकतन्त्रका लागि राम्रो हो। त्यसकारण हामीले एकतालाई स्वागत गरेका छौं, उहाँहरुलाई बधाई दिएका छौं। दलहरु जति बलिया हुन्छन्, लोकतन्त्र त्यति नै बलियो हुन्छन्। हामीले पनि ६ वटा पार्टी एकता गरेर अघि बढ्यौं।

जनताको आकांक्षाअनुसार विकासलाई अघि बढाइयो भने शक्तिको बरदान हुन्छ, त्यो शक्तिले अहंकार जन्मायो, यसलाई ठीक पार्छु उसलाई ठीक पार्छु भन्यो भने अभिशाप भइहाल्छ। त्यसैले हामीले अपेक्षा गरेका छौं यो शक्तिको सदुपयोग हुनुपर्छ। सकारात्मक काममा लगाइनुपर्छ। संविधानप्रति देखिएका असन्तुष्टि सम्बोधन गरिनु पर्‍यो। हामीसहित दुई तिहाइ बहुमत भएको सरकारले पनि देशलाई निकास दिन सकेन भने कसले दिन्छ ?

नीति कार्यक्रममा संविधान संशोधनको विषय उल्लेख नगरेको भनेर तपाईंहरुले असन्तुष्टि जनाइरहेका बेला नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनका लागि राजनीतिक सहमति भइसक्यो भन्नुभएको छ नि त ?

उहाँले मिडियाको अगाडि भन्नुभएको मैले पनि थाहा पाएँ। मंगलबार बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा प्रचण्डजी पनि हुनुहुन्थ्यो। त्यहाँ पनि हामीले संविधान संशोधनबारे कुरा उठायौं। प्रधानमन्त्रीले राजपा पनि सरकारमा आए हुन्थ्यो भनेर फेरि पनि भन्नुभएको छ। हामीले जनताकै लागि संघर्ष गरेका हौं। जनताको माग सम्बोध नगरिदिनुहोस्, ठोस रुपमा आउनुहोस् भनेर मंगलबार(हिजो)को बैठकमा हामीले भनौं। सरकारमा नै जान ठूलो कुरा होइन। समर्थन गरेका छौं भनेर भन्यौँ।

प्रधानमन्त्रीले के भन्नुभयो त ?

प्रचण्डजीसँगै बसेर प्रधानमन्त्रीले संविधान अपरिवर्तनीय विषय होइन, यो संशोधन गर्ने विषय नै हो, एकपटक त संशोधन भइसक्यो भन्नुभयो। दोस्रो, तेस्रोपटक नहुने भन्ने हुँदैन भनेर विश्वास दिलाउन खोज्नुभएको छ। केके विषयमा संशोधन आवश्यक छ, खुलेर नै कुरा गर्छौ भन्नुभयो। १७ हजार मानिसको ज्यान जाने शसस्त्र आन्दोलन गरेको, टाउकोको मूल्य तोकिएको शत्रुतापूर्ण सम्बन्ध रहेको माओवादीसँग त हामीले एकता गर्‍यौँ भने तपाईंहरुसँग त नमिल्ने कुरै छैन भनेर प्रधानमन्त्रीले भन्नुभएको छ। जहिले पनि केपी ओलीले राजेन्द्र महतोलाई, राजेन्द्र महतोले केपी ओलीलाई गाली गर्नुपर्छ र? बसौँ, छलफल गरौं, समाधान निकालौं भन्नुभयो।

भनेपछि पछिल्लो भेटपछि संविधान संशोधनका विषयमा प्रधानमन्त्री अलि बढी नै सकारात्मक देखिनुभएको हो ?
कुरा त कहिले नकारात्मक छ र? काम पो हुनुपर्‍यो। काम सकारात्मक हुनुपर्‍यो। हामीले प्रष्टै भन्यौं, तपार्इंहरु शत्रुतापूर्ण सम्बन्ध भएका दलहरु त मिल्नुभयो भने संशोधनको कुरा नमिल्ने कुरै छैन। छलफल गरौं। प्रचण्डजीले लगत्तै अर्को बैठक बसेर संविधान संशोधनका विषयमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गरौं, विस्तृत रुपमा विचारहरु आदनाप्रदान गरौं भन्नुभएको छ। अहिले पनि समस्याको समाधान नभए कहिल्यै हुँदैन।

तपाईंको कुरा सुन्दा त साँच्चै संशोधनमा प्रगति भएको देखियो नि त ?
यो मुलुक अजिव छ। नीति कार्यक्रममा सरकारले ल्याएको भन्दा कम र फुलस्टप पनि फेरिन हुँदैन भन्ने मानसिकता छ। भनाइमा त धेरैपटक समस्या समाधान भइसक्यो। तर, व्यवहारमा भएको छैन। गिरिजाप्रसादले त आफैंले अन्तरिम संविधानमा राख्ने भनेर गरेको हस्ताक्षर पनि पालना गरेनन्। पछि संविधान बनाउने बेलामा पनि इन्कार गरियो। त्यसकारण बेमानका लागि कागजको अर्थ हुँदैन। बेमानले जस्तो कागज बनाए पनि बेमान नै गर्छ। काम गर्ने इमानदारिता भयो भने बोली, कागजको अर्थ रहँदैन। त्यसैले जुन स्पिरिटमा हिजो कुरा गर्नुभयो, समस्या समाधान गर्ने। उहाँले विश्वास पनि दिलाउनुभएको छ। अब हेरौं काम कसरी अघि बढ्छ।

सरकारमा सहभागिताको विषयमा ठोस कुरा भएन ?
जहिले भेट्दा पनि सरकारमा आउन आग्रह गर्दै आउनुभएको छ। पहिला पनि भन्नुभएको थियो, राजपा पनि सरकारमा आउनुपर्‍यो भनेर। फेरि दोहोर्‍याउनुभएको छ। तर, सरकारमा जानु मात्र हाम्रो लागि ठूलो कुरा त होइन। हाम्रो एजेण्डा संविधानको हो। संविधानको कुरा नमिली सरकारको कुरा गर्नु बेकार छ।

अलि फरक विषयमा कुरा गरौं, दुई नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु पण्डितले भारतीय प्रधानमन्त्रीको नागरिक अभिनन्दनका बेला संविधानप्रति सार्वजनिक रुपमा राख्नुभएको असन्तुष्टि बेठिक हो भन्ने तपाईंहरुको धारणा हो ? किनकी यो विषयमा तपाईंहरुको चासो देखिएन।

त्यो कार्यक्रममा म पनि सहभागी भएको थिएँ। मुख्यमन्त्रीजीले जे कुरा राख्नुभयो, त्यो कुनै पनि नयाँ कुरा थिएन। त्यो हजारौंपटक राखिएको कुरा हो। त्यसैका लागि ६ महिनासम्म आन्दोलन भएको सबैलाई थाहा छ। त्यो सवाल दुनियाँलाई थाहा भएको सवाल हो, भारतलाई मात्र होइन। नेपालप्रति चासो राख्ने सबैले थाहा पाएका छन्, संविधानप्रति मधेसीको असन्तुष्टि छ। त्यो कुरा भारतीय प्रधानमन्त्रीलाई पनि थाहा छ। जुन कुरा हामीले उठाउँदै आएका छौं। सम्बोधन नभएसम्म उठिरहनेछ।

कुरो के चाहिँ हो भने अर्को देशको सरकार प्रमुख बसेको ठाउँमा त्यस्तो कुरा उठाउन हुने कि नहुने भन्ने सवाल हो। यसमा छलफल गर्न सकिन्छ। कुन कुरा पाहुनाका अगाडि बोल्ने, कुन कुरा नबोल्ने त्यो पनि विदेश नीतिका रुपमा आउनुपर्‍यो। कुन मञ्चमा कस्तो कुरा उठाउने बहस गर्न सकिन्छ। यसलाई विवादको विषय बनाइएको छ। तर, उठाइएको कुरा कुनै नौलो होइन। अब यस्ता विषयलाई सबै दलको सहमतिमा परराष्ट्र नीति बनाएर सम्बोधन गर्नुपर्छ।

अघिल्लोपटक केपी ओली प्रधानमन्त्री हुँदा परराष्ट्रमन्त्री कमल थापालाई चारबुँदे प्रस्ताव सरकाकराले पठाएको हो नि। अहिले त्यही कुरा उठाएको त हो नि। अब यसलाई धेरै लम्ब्याउनु हुँदैन।

यही नागरिक अभिनन्दन प्रकरणपछि दुई नम्बर प्रदेश सरकार र केन्द्र सरकारबीच टकराव देखिएको छ। यही मेसोमा दुई नम्बर प्रदेशको सरकार परिवर्तन गर्ने र नेकपाको समर्थनमा राजपाको नेतृत्वमा सरकार बन्ने गाईँगुईँ सुरु भएको छ नि ?

यो अफवाह, हल्ला हो। हल्लाले देश चल्दैन। ठोस आधार र कारण नभई त्यस्तो गर्न मिल्दैन। त्यसको अहिले कुनै सम्भावना छैन। यो कुरो त मैंले पहिलोपटक सुनेको हुँ । यस्ता सामान्य विषयले केन्द्र र प्रदेशबीच टकराव हुने, सरकार नै परिवर्तन हुने हुँदैन।

सम्भावना नै नभएको हो र ?
गणित जताबाट जोडे पनि बहुमत पुग्छ। तर, राजपाको नेतृत्वमा सरकार बन्ने कुनै सम्भावना छैन।

६ वटा पार्टी मिलेर राजपा बनेको एक वर्ष भयो। यही एक वर्षभित्र महाधिवेशन गर्ने घोषणा गर्नुभएको थियो। महाधिवेशन गर्न ढिलो भयो किन ?

हाम्रो सम्झौताअनुसार ढिलो भयो। निर्वाचन आयोगमा असारमा दर्ता गराएका हौं। त्यो पनि बित्न लाग्यो। तर, कानुनले अर्को ६ महिना दिएको छ। त्यो अवधिभित्र महाधिवेशन गर्छौ। महाधिवेशनको तयारी भइरहेको छ। जेठ २५ गते राजनीतिक समितिको बैठक बसेर ठोस निर्णय गर्छौ। महाधिवेशनमा जानका लागि विधानको व्यवस्था, महाधिवेशनका कार्यक्रमहरु आउँछन्। पार्टीका कार्यक्रम आएन, निस्क्रियता भयो भन्नेछ। त्यसको अन्त्य हुन्छ। ६ महिनाको म्यादभित्र गर्छौ। ६ वटा पार्टी एकीकरण भए पनि संगठनलाई एकीकृत गर्न सकेका छैनौं।

गाउँदेखि केन्द्रसम्म भएका संगठन मर्ज भइसकेका छैनन्। महाधिवेशन हुन्छ, त्यसले पार्टीलाई नयाँ ऊर्जा दिन्छ। हामीसँग नेता कार्यकर्ताको कमी छैन। मात्र कार्यक्रम दिन आवश्यक छ। मधेसमा पहिलो पार्टी बन्न हामीलाई समस्या छैन।

मंसिरमा चुनाव भए पनि अहिलेसम्म संसदीय दलको नेता चयन भएको छैन, त्यो कहिले हुन्छ ?
ढिलो भयो भनिए पनि काम केही बिग्रेको छैन। संसदीय दलको नेता चयन गर्नुपर्छ। अब हुन्छ। विधान बनिसकको छ। अब दलको बैठक बसेर अनुमोदन गरेपछि चयन हुन्छ।

कसरी गर्नुहुन्छ, सहमति कि चुनावबाट ? तपाईं र महन्थ ठाकुर दुवै जना आकांक्षी हुनुहुन्छ ?
(लामो हाँसोपछि……) त्यो हामी बसेर गर्छौ। ठूलो कुरा होइन। भइहाल्छ।

जेठ ९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्