बार्सिलोनाका लेजेण्ड इनिएस्टा लागे ‘नयाँ घर’ जापान तर्फ

बार्सिलोनाका लेजेण्ड आन्द्रेस इनिएस्टाले आफू अब आफ्नो ‘नयाँ घर’ जापान जाने बताएका छन् । सिजनको अन्त्यसँगै बार्सिलोनाबाट बिदा भएका आन्द्रेसले आफू साथी हिरोशि मिकितानीसँगै जापान जान लागेको बताएका हुन् ।

हिरोशी जापानको शीर्ष लिगको क्ल्ब भिसेल कोबेका मालिक हुन् ।

मिकितानीले इनिएस्टासँगै निजी जेटमा बोर्डिङ लिँदै गरेको तस्बिर ट्वीट गरेका छन् । यस्तै इनिएस्टाले विमान भित्रको तस्बिर ट्वीट गरेका छन् ।

३४ वर्षका मिडफिल्डर इनिएस्टाले बार्सिलोनासँगको २२ वर्षको यात्रा यो सिजनको अन्त्यसँगै टुंग्याएका हुन् । उनले बार्सिलोनाबाट २२ वटा प्रमुख उपाधि जितेका छन् ।

उनले बार्सिलोनाबाट सिनियर लेभलमा ६७४ खेल खेलेका छन् । उनी १२ वर्षको हुँदा बार्सिलोनाको युथ टिममा आएका थिए । इनिएस्टाको नयाँ क्लब कोबे जे–लिगमा १५ खेल सकिँदा छैटौँ स्थानमा छ ।

सन् २०१० को विश्वकपमा नेदरल्याण्डस विरुद्धको फाइनलमा विजयी गोल गरेका इनिएस्टा आउँदो जुनमा रुसमा हुने विश्वकपमा लागि स्पेनको टिममा छन् ।

जेठ १०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्