संकटमा ट्रम्प–किम वार्ता

अमेरिकी उप–राष्ट्रपति पेन्स ‘मूर्ख’ : उत्तर कोरियाली उच्च अधिकारी

अमेरिकी उप–राष्ट्रपति माइक पेन्सलाई उत्तर कोरियाले पोलिटिकल डमी भनेको छ । तस्बिर : रोयटर्स

उत्तर कोरियाका एक उच्च अधिकारीले अमेरिकाका उप–राष्ट्रपति माइक पेन्सलाई मूर्ख भनेका छन्।

माइक पेन्सले उत्तर कोरियालाई केही दिनअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग खेल्ने कोशिश नगर्न चेतावनी दिएका थिए ।

त्यसको जवाफमा उत्तर कोरियाका उच्च अधिकारीले पेन्स मूर्खको रुपमा प्रस्तुत भएको र कूटनीतिक वार्ता असफल भएमा न्युक्लियर सटडाउन गर्ने चेतावनी दिएका बताएका हुन् ।

उत्तर कोरियाली उच्च अधिकारी चोइ सन–हुइले आफूहरुले अमेरिकासँग वार्ताका लागि भिख नमागेको बताएका छन् । त्यसले गर्दा आफूहरुलाई वार्तामा बस्नका लाग बाध्य पार्ने व्यर्थको प्रयास नगर्न चेतावनी दिएका छन् ।

पछिल्ला केही दिनदेखि अमेरिका र उत्तर कोरिया दुवैले आउँदो जुन १२ मा सिंगापुरमा हुने भनिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ–उनबिचको वार्तामा ढिलाइ हुने वा रद्द हुन सक्ने बताउने गरेका छन् ।

अमेरिकाले उत्तर कोरियामाथि परमाणु निशस्त्रिकरणका लागि दबाब दिँदै आएको छ । तर उत्तर कोरियाले भने अमेरिकाले लगातार दबाब दिन नछोडेमा वार्तामै नबस्ने चेतावनी दिन थालेको छ । ट्रम्पले गएको मंगलबार उत्तर कोरियाले वार्ताका लागि शर्त पूरा गर्नु बताएका थिए । तर त्यो शर्त के भन्ने चाहिँ खुलाएका छैनन् ।

अहिले माइक पेन्सलाई मूर्खको शंज्ञा दिएकी चोइ गएको दशकमा अमेरिकासँगका धेरै वार्तामा सहभागी भएकी थिइन् । उत्तर कोरियाको सरकारी समाचार संस्था केसिएनएले प्रकाशित गरेको उनको लेखमा पेन्सलाई राजनीतिक डमी भनिएको छ ।

यसअघि सोमबार अमेरिकी उप–राष्ट्रपति माइक पेन्सले उत्तर कोरियाका नेता किम जोङ–उनले राष्ट्रपति ट्रम्पसँग खेलीरहेको आरोप लगाएका थिए । प्रस्तावित वार्तामा ट्रम्पसँग ‘खेल्न’ खोजेमा त्यो निकै घातक हुने पेन्सले चेतावनी दिएका छन् ।

उनले फक्स न्युजसँगको अन्तर्वार्तामा भनेका थिए, ‘किम जोङ–उनले डोनाल्ड ट्रम्पसँग खेल्न सक्छु वा खेल्छु भन्ने सोचेका छन् भने त्यो उनका लागि निकै घातक हुनेछ ।’

अमेरिकाका अमेरिका र दक्षिण कोरियाले गरेको संयुक्त सैन्य अभ्यासका कारण प्रस्तावित वार्ता हुनेमा शंका उत्पन्न भएको छ । उत्तर कोरियाले संयुक्त सैन्य अभ्यासको विरोध गर्दै दक्षिण कोरियासँगको फलो अफ वार्ता रद्द गरेको थियो ।

यस्तै अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले उत्तर कोरियाको परमाणु निशस्त्रिकरणका लागि लिबिया मोडल अपनाउनु पर्ने सुझाव दिएपछि उत्तर कोरियाले त्यसको कडा प्रतिवाद गर्दै वार्ता नै रद्द गर्न सक्ने चेतानवी दिएको थियो ।

तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियामा परमाणु निशस्त्रिकरणका लागि लिबिया मोडल नअपनाइने बताएका छन् ।

सन् २००३ मा लिबियाका शासक माउमर गद्दाफी परमाणु कार्यक्रम छोड्न तयार भएका थिए । तर उनलाई पछि पश्चिमा देशकै सहयोग पाएको बिद्रोही सेनाले हत्या गरेको थियो ।

जेठ १०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्