बालअधिकारका लागि प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री राउत

जनकपुरधाम – प्रदेश नम्बर २ का मुख्यमन्त्री मो. लालबाबु राउत गद्दीले बालबालिकाको अधिकार सुनिश्चितताको लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

बालबालिकाको अधिकार सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री राउतले प्रदेश सरकार बालबालिकाको लागि प्रतिबद्ध रहेको भन्दै बालबालिका देशको कर्णधार रहेकोले उनीहरुको अधिकार सुनिश्चित नभएसम्म देश र प्रदेश समृद्ध हुन नसक्ने बताए ।

बालबालिकाको अधिकार सुनिश्चित गर्न प्रदेश सरकार हरेक प्रकारको कदम उठाउन तयार रहेको उनले उल्लेख गरेका छन् । विगतको संविधान र ऐन कानुनको साथै वर्तमान संविधानमा पनि बालबालिकाको अधिकार सुनिश्चित भएको उल्लेख भए पनि कमजोर कार्यान्वयन पक्षले गर्दा अपेक्षाकृत उपलब्धि पाउन नसकेको उनको भनाई थियो ।

आगामी दिनमा ऐन कानुनको प्रभावकारी कार्यान्वयन तर्फ प्रदेश सरकार गम्भीरतापूर्वक जुट्ने विश्वास रहेको भन्दै राउतले भने, ‘अन्य प्रदेशको तुलनामा प्रदेश २ मा बालबालिकाको अवस्था निकै कमजोर रहेको र सरकार यसलाई प्राथमिकतामा राख्दै अगाडि बढ्न प्रयास गरि रहेको छ ।’

बालबालिकाको अधिकारको क्षेत्रमा काम गर्नेहरुले नै बढी बालश्रमको प्रयोग गर्दै आइरहेको भन्दै कानुनको प्रभावकारी कार्यान्वयन गरी यस्तो प्रवृतिलाई निरुत्साहित गर्न सरकारको पहिलो प्राथमिकता रह्ने मुख्यमन्त्री राउतले बताएका छन् ।

जेठ १०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्