धनुषामा यस वर्ष आँप उत्पादन बढ्ने अनुमान

जनकपुरधाम – यस वर्ष धनुषामा आँपको उत्पादन बढ्ने भएको छ । यस वर्ष धनुषामा २ हजार ३ सय ६६ हेक्टरमा रहेको आँपको बोटबाट ३०.७५ हजार मेट्रिक टन आँप उत्पादन हुने अनुमान गरिएको छ ।

गएको वर्ष २ हजार हजार ३ सय १ हेक्टर जग्गामा रहेको आँपको बोटमा प्रतिकुल मौसमका कारण ५ हजार २ सय ४५ मेट्रिकटन आँप मात्र उत्पादन हुन सकेको थियो । तर गएको वर्षको तुलनामा यस वर्ष ६ गुणा बढी आँप फल्ने भएको छ ।

आँप ‘अल्टरनेट वेयरिङ्ग’ (एक वर्ष फल्ने उक वर्ष नफल्ने) सिजनको रूपमा फल्ने गरेको हुँदा यसवर्ष आँप फल्ने सिजन रहेकोले आँप उत्पादनमा वृद्धि भएको जिल्ला कृषि विकास कार्यालय धनुषाका बालीविकास अधिकृत बद्रिनारायण साहले जानकारी दिएका छन् ।

आर्थिक वर्ष २०७१/०७२ मा २ हजार २ सय ५५ हेक्टरमा २७.०७० मेट्रिकटन, २०७२/०७३ मा २ हजार २ सय ७१ हेक्टरमा १७.४८६ मेट्रिकटन, २०७३/०७४ मा २ हजार २ सय ३८ हेक्टरमा ४७.७१ मेट्रिक टन आँप उत्पादन भएको थियो ।

चालु आर्थिक वर्षमा २ हजार ३ सय ६६ हेक्टरमा ३०.७५ मेट्रिक टन आँप उत्पादन हुने अनुमान गरिएको बालीविकास अधिकृत साहले जानकारी दिएका छन् । धनुषाको पूर्व–पश्चिम राजमार्ग क्षेत्र आँप पकेट क्षेत्रको रुपमा रहेको छ ।

जिल्लाको उत्तर पूर्वमा पर्ने नक्टाझिज, ढल्केवर, हरिहरपुर, लक्ष्मिनीवास, भुईचक्रपुर, बेंगाडावर, राजमार्गमा पर्ने सबैला, बिरेन्द्र्रबजार, गोदार, धारापानी, यज्ञभूमि, पुष्पवलपुर, लवटोलीलाई आँप उत्पादनको लागी पकेट एरियाको रुपमा लिने गरिएको साहले बताएका छन् । धनुषाको दक्षिणी भेगमा आँप किसानले बोटको खासै हेरचाह नगर्र्दा आँप उत्पादन नगन्य रुपमा हुने गरेको साह बताउँछन् ।

गएको वर्ष ४७.७१ मेट्रिकटन आँप उत्पादन हुने अनुमान गरिएकोमा मौसम प्रतिकुलताका कारण १७.४ (८६) मेट्रिकटनमा ६१ करोड २० लाख १० हजार मूल्य बराबरको आपँ उत्पादन भएको थियो । किसानहरूले जिल्लामा वर्षेनी ३० हेक्टर जग्गामा आँप खेती लगाउँदै आएको कृषि विकास कार्यालय धनुषाको तथ्यांक रहेको छ ।

‘मेंगो फ्लाई’ का कारण आँप किसान चिन्तित

धनुषा जिल्लामा गएको वर्ष ६१ करोड रुपैयाँभन्दा बढीको आँप उत्पादन भएकोमा यस वर्ष ६ गुणाभन्दा बढी वृद्धि हुने अनुमान गरिएको छ । तर ‘मेंगो फ्लाई’ किराका कारण आँप किसान चिन्तीत फल तुहाउने औँसा किराको प्रकोपले धनुषाका आँप किसानलाइ चिन्तित बनाएको छ ।

गएको वर्षको तुलनामा यस वर्ष रुखमा आँपको फल ६ गुणा बढी भएमा पनि फलमा मेङ्गो फ्लाई नामक किराको प्रकोपले लगानी नै डुब्ने खतरा उत्पन्न भएपछि किसान चिन्तित बनेका छन् । आँपको फलको मुनी सुरुमा कालो रंगको दाग देखिने र पछि आँप फाटेर रुखबाट झर्ने गरेको किसानले बताएका छन् ।

आँपमा लागेको किराको औषधिका लागि अहिलेसम्म ४० हजार रुपैयाँभन्दा बढी खर्च गरिसकेको भए पनि समस्या समाधान नभएको झण्डै ६ विघामा आँपको खेती गर्दै आएका धनुषा बटेश्वर गाउँपालिका लक्ष्मी निवासका किसान जागृत सिंहको भनाई छ । उनले रुखमा आँपको फल गत वर्षभन्दा दोब्बर लागे पनि किरालाई नियन्त्रण गर्न नसके पूरै लगानी नै डुब्ने खतरा रहेको बताए ।

यता, कृषि विकास कार्यालय धनुषाका बालीविकास अधिकृत बद्रिप्रसाद साहले मालदह, आम्रपाली, बम्बे, किसुन भोग, दशहरी, जर्दा, कलकतिया लगायतका ठूलो आकारको आँप हुने प्रजातिमा मात्र फल (फ्रुट फलाई) तुहाउने आँैसा किरा लाग्ने र फेरेमोन ट्रेप विधि प्रयोग गरे किराको प्रकोपलाई नियन्त्रण गर्न सकिने बताउँछन् ।

मेङ्गो फ्लाइ अर्थात फूल तुहाउने औँसा किरा लागेको बोटमा बेक्टोसेरा कम्पोजिट नामक औषधीलाई डब्बामा राखि रुखमा झुण्ड्याए किराको प्रकोपलाई नियन्त्रण गर्न सकिने किसानहरुलाई सुझाव समेत दिए ।

जेष्ठ १०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्