हेमजाका धामी–झाँक्री र माताले बोक्सा–बोक्सी नभन्ने कसम खाए

हेमजा – धामी झाँक्री, माताले कथित बोक्सी भन्दै बकीदिँदा र त्यसैको विश्वासमा धेरैले बोक्सा बोक्सीको नाममा यातना सहिरहेको सन्दर्भमा कास्की हेमजाका धामी, माता र ज्योतिषीहरुले बोक्सी आरोप नलगाउने भन्दै सामुहिक कसम खाएका छन् ।

‘मान्छे बोक्सी हुन्न कहिल्यै’ राष्ट्रिय जागरण प्रतिष्ठान नेपालले हेमजामा आयोजना गरेको अन्तक्रिया कार्यक्रममा सहभागि धामी झाँक्री, माता र ज्योतिषीले अबदेखि कोहिमाथि बोक्सी आरोप नलाउने कसम खाएका हुन् ।

विज्ञापन

समाजलाई विकृत बनाउने र मानव अधिकारको उल्लंघन हुने कुनै पनि कु–प्रथालाई प्रसय दिने कार्य अव आफूहरुबाट नहुने भन्दै उनीहरुले सामूहिक प्रतिबद्धता व्यक्त गरेका हुन् ।

। उनीहरुले सामाजिक सद्भाव कायम गर्दै बोक्सी कु–प्रथा विरुद्घको अभियानमा साथ दिने वचनबद्घता व्यक्त गरे । अन्धविश्वास र अज्ञानताका कारण विगतमा गल्ती भए पनि अब आउने दिनहरुमा कसैलाई बोक्सीको आरोप नलगाउने र कु–प्रथा विरुद्घ सचेतना फैलाउन अग्रसर हुने बताए ।

सामूहिक प्रतिबद्धता व्यक्त गर्नेहरुमा पोखरा–२५, हेमजाका ज्योतिषीहरु लक्ष्मी त्रिपाठी, देवकृष्ण पौडेल, मनपति दाहाल, धामी तेजप्रसाद अधिकारी, माताहरु कमला कुँवर, मञ्जु पौडेल, देवी दाहाल र दुर्गा कार्की रहेका छन् । सोही अवसरमा उनीहरुलाई प्रदेशसभा सदस्य रामजीप्रसाद बरालले सम्मान समेत गरेका छन् ।

प्रदेशसभा सदस्य रामजी बरालले अन्धविश्वास,पछौटेपनका कारण मानिसले सम्मान पुर्वक बाँच्ने अधिकार गुमाइरहेको बताए । उनले भने ‘विभेद र हिंसा लाई मलजल गरिरहेका कुप्रथालाई जरै देखि फाल्नुपर्छ र समुन्नत समाजकालागि सबै जुट्नु पर्छ ।’ धामि झाँक्री, माताकै कारण बोक्सा बोक्सीको आरोपमा धेरै महिला र केही पुरुषसमेत यातनाको शिकार बनेको भन्दै हेमजामा भएको सामुहिक प्रतिबद्धताले समाजमा सकारात्मक सन्देश जाने बताए ।

प्रतिष्ठानका अध्यक्ष कोविद शरण उपाध्यायले यो अभियान देशभरी संचालन गर्दै नेपाललाई बोक्सी प्रथा मुक्त देश बनाउने प्रतिष्ठानको लक्ष्य रहेको बताए । ‘अग्निदहन’ चलचित्र मार्फत बोक्सी प्रथा विरुद्धको अभियान सुरु भइसकेको भन्दै उनले देशका भित्री कुनासम्म अभियानको आवश्यकता रहेको बताए ।

जेष्ठ १०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू