मेरो माटो, मेरो चन्दन (अनुभव र अनुभूतिको श्रृंखला- १५)

परीक्षा हलमा उर्लिएको मेरो त्यो आत्मविश्वास

ग्लास्गोमा ‘जब (काम)’ आएन, म नोभेम्बरमा अक्सफोर्ड गएँ। ग्लास्गोमा तत्काल आउनेवाला पनि थिएन। अक्सफोर्डमा क्रिस आडम्ससँग काम गर्न थालेँ। दुई महिना काम गरेपछि जनवरीमा ग्लास्गो जानु पर्ने भयो, एफआरसीएस फाइनल परीक्षाको लागि।

मेरो पढ्ने तरिका अनौठो थियो। म लाइब्रेरीमा बसेर पढ्ने। त्यहाँ भारतीय मूलका एक जना डाक्टर पनि बिहानदेखि बेलुकीसम्म बसेर पढिरहन्थे। यसो बुझ्दा खेरी प्लाबका  लागि तयारी गरिरहेका रहेछन्। जनरल मेडिकल काउन्सिल रजिस्ट्रेसनको तयारी गरिरहेका रहेछन्।

मैले उनलाई भनेँ, ‘तपाईलाई सर्जरी म पढाइदिन्छु, अरु आफै पढ्नुस्।’ मैले बुझेको थिएँ,  उनलाई पढाउन सकें भने म पनि जाँचमा पास हुन्छु। उनलार्ई सर्जरी पढाउन थालेँ। आफू पढ्यो, उनलाई पढायो। त्यो ठूलो अभ्यास थियो।

मलाई थाहा थियो, मैले हेल्थ असिस्टेन्टलाई नेपालमा पढाएकाले मलाई फाइदा भयो। प्राइमरीको ओरलमा पनि अनाटोमी फिजियोलोजीमा मैले राम्रोसँग बताउन सकेँ। यस्तै तयारीबीच म जनवरीमा जाँच दिन ग्लास्गो गएँ। जाडो, हिउँ परेको थियो। पुरानो आफू बसेको फ्ल्याट खालि थियो, घरबेटीलाई भनेर त्यहीँ बसें। आँखा पढ्न जानु भएको डा.जीवन श्रेष्ठ नजिकै बस्नुहुन्थ्यो।

त्यहाँ पनि थ्योरीको जाँच सकियो, राम्रै गरेँ। जाँचको दिन हलमा बस्दाखेरि बाहिर हिउँ परिरहेको थियो। ठूलो चर्च बुक गरेको थियो, परीक्षाका लागि। ढोकामा पस्नेबेलामा कफी राखिदिएको थियो। भित्र हलमा बसेर तातो कफी खाँदै मैले वरिपरि हेरें नजर दौडाएर, कस्ता-कस्ता मान्छे आएका रहेछन् नियाल्न। गोरा कम थिए, धेरै काला।

कति मलेसियन, सिंगापुरे। धेरैजस्तो अश्वेत नै देखिने। आँखा घुमाएर हेर्दा अनौठो फिल भो। यो हलमा यतिधेरै मान्छे छन्, तर मजति टाढाबाट कोही पनि आएका छैनन्।

त्यो बेला मेरो स्मृति पटलका विभिन्‍न दृश्यहरु आँखा अगाडि तेर्सिए । द्रव्य शाहले आफूलाई स्थापित गरेको लिगलिगे दौडको त्यो ऐतिहासिक क्षेत्र तथा मेरो जन्म थलो, हुर्काई, संघर्ष।

खाली खुट्टा स्कूल, त्यही बाल्यकालमा आली लगाउनेदेखि अरु शारीरिक श्रम, स्कूलमा कमाएको अब्बल हैसियत, कलेज पढाईको बिचमै आमा गुमाउनुको पीडा, छात्रवृत्तिमा एमबिबिएस अध्ययन भारतमा र अहिले बेलायतमा यो दुर्लभ अवसर।

सोचेँ, यो हलमा कोही पनि म जति खटेको छैन, दौडेको छैन । मेरो आत्मविश्वास उर्लियो । अब मलाई कसैले रोक्न सक्तैन आफ्नो लक्ष्य हाँसिल गर्नबाट।

यदि यो हलबाट एक जना मात्र पनि पास हुन्छ भने त्यो म नै हुनुपर्छ। मैले पहिलो अन्तर्वार्तामा पनि भनेको छु। मलाई त्यो उत्साह आयो भित्रबाट नै। प्रश्न बाँडे, प्रश्नपत्र हेरेँ।

त्यो बेलामा निबन्ध लेख्ने चलन थियो। पहिलो प्रश्नको उत्तर लेख्न सुरु गरेको त उनीहरुले दिएको कापी एउटै प्रश्नमा सकियो। कापी थप्दै, लेख्दै गरेर बुझाएँ। त्यसपछि ब्रेक भो। नजिकै डेरा भएकाले ब्रेकमा आएर हत्तपत्त एउटा चाउचाउ उमालेर खाई दोस्रो भाग जाँच दिन गएँ, थ्योरीको। दोस्रो भाग पनि राम्रो भयो। दुई दिनको ग्यापपछि अस्पतालमा एउटा प्राक्टिकल गर्नुपर्थ्यो।

प्राक्टिकलको दिनचाहिँ त्यहाँको चलन अनुसार राम्रो भएर सकेसम्म सुट टाई लगाएर जाने चलन थियो। म पनि सुट लगाएर गएको थिएँ। जाँचको अघिल्लो दिन अलिअलि पानी परिरहेको थियो। इस्त्री घरमै थियो। एउटा प्लास्टिकको झोलामा जुत्ता बोकेर जीवनकोमा गएँ। पालिस गरेपछि हिँडेर गएँ भने जुत्ता मैलिन्छ भनेर प्लास्टिकको झोलामा हालेँ। मेरो भोलि प्राक्टिकल थियो।

रुघा लाग्न आँटेकाले मैले जीवनकोमा अलिकति ‘ह्विस्की’ खाएँ। जीवनले भन्यो–कस्तो मान्छे, भोलि जाँच छ भन्छ, आज ‘ह्विस्की’ खान्छ! झोलामा जुत्ता बोकेर म फर्किएँ आफ्नो डेरामा। भोलिपल्ट बिहान ९ बजे पुग्नुपर्ने। आठ बजे उठेँ। तातोपानी हप्ताको एकपटक  दिन्थिन् घरबेटीले।

त्यो दिनका लागि बुक गरिसकेको थिएँ। नुहाइधुवाइ गरेँ। ठ्याक्क थ्रीपिस सुट अनि, अघिल्लो दिन पोलिस गरेर टल्काएका जुत्ता लगाएँ। फोन गरेर घरैमा ट्याक्सी बोलाएँ। अनि जाँचलाई चाहिने सामग्री बोकेर कतै हिलोमा नटेकी ट्याक्सीमा चढेर गएँ। मेरो जाँच भिक्टोरीया इन्फर्मरीमा थियो। समयमै पुगेँ।

मलाई के भनिएको थियो भने इक्जामिनरले यो-यो समस्या छ बिरामीको भनेर लिस्ट दिएको हुन्छ। त्यो भन्दा नयाँ या थप केही पत्ता लगाउन सकियो भने एक्स्ट्रा क्रेडिट आउँछ। उनीहरुले मिस गरेको १/२ वटा फाइन्डिङ मैले फेला पारेँ।

उनीहरुले क्रस चेक गरे, म ठिक निस्किए। उनीहरुको लिस्टमा थिएन तर बिरामीबारे मैले भनेको ठिक थियो। प्राक्टिकलमा लङ केस र सर्ट केस दुईटै राम्रो भयो। अनौठा केसहरु थिए। त्यो सकिएपछि मलाई जाँच्ने एक जना इक्जामिनर निक्कै फ्रेन्डली देखिनु भो। उहाँले लन्च खान मलाई अस्पतालको क्यान्टिनसम्म पुर्‍याउनुभयो। अनि हाम्रो जाँच दिन आएको भनी चिनाइ दिनुभो। नत्र सबैले त्यहाँ खान पाउँदैनथे।

त्यो पनि मलाई अनौठो लाग्यो। यति फ्रेन्डली हुनुको मतलब के? मैले कुनै एक्स्ट्रा इम्प्रेसन दिन सकेको छु कि जस्तो लाग्यो। रोयल कलेजमा दिउँसो भेटौंला भनेर मलाई क्यान्टिनमै छाडेर जानुभो। सायद त्यो सामान्य शीष्टता पनि हुन सक्छ उनीहरुको, तर हाम्रोतिर परीक्षकहरुले परीक्षार्थीलाई त्यसरी क्यान्टिनसम्म पुर्‍याएर ‘ल खाना खाऊ’ भन्ने चलन छैन।

सकेसम्म लपेट्ने, तर्साउने नै चलन छ। दिउँसो ओरलका लागि गएँ त्यहाँबाट ट्याक्सी लिएर। ओरल राम्रो भयो। एक जना इक्जामिनरले मलाई मल्टिपल इन्जुरीको बिरामी, त्यसपछि पेटमा चोट लागेको बिरामीको विषयमा सोध्न थाल्नुभो। मैले तथ्यांक दिएर जवाफ दिन थालेँ।

एउटा इन्ट्रेस्टिङ प्वाइन्टमा पुगियो। इक्जामिनरले एउटा कुरो भन्ने, म अलि फरक र हठी देखिएँ। उहाँले स्प्लिन (फियो) कसरी निकाल्छौ भन्नुभो। मैले असाध्यै तौलिएर एउटा शब्द प्रयोग गरेँ। स्लपी (त्यसको नेपाली झण्डै लतपते भन्न सकिन्छ) स्पेनेक्टोमी गर्छु, अलिकति स्प्लीनिक टिस्यू छुटे पनि वास्ता गर्दिन भनेँ।

इक्जिामिनरलाई त्यो कुरा थाहा रहेनछ क्यार, त्यो प्वाइन्ट पिकप नै गर्नु भएन। त्यसपछि अरु कुरा भयो, डिबेट भयो। अलिअलि छलफल भयो। त्यहाँको राम्रो के भने सोध्ने मान्छेले नम्बर दिन पाउँदैन। उसले सोधेकोमा अर्कैले नम्बर दिन्छ, अर्कोले सोधेकोमा उसले दिन्छ।

१० मिनेट सोध्नु भो, उहाँको पालो सकियो। उहाँले अर्को इक्जामिनरलाई ह्याण्डओभर गर्नुभयो। नयाँले आउनेबित्तिकै ‘तिमीले डेलिबरेटली स्प्लेनेक्टोमी गर्छु भनेको थियौ,  त्यसको केही कारण छ?’ भनेर सोध्नुभयो। मैले एकदम उचित रिजन छ भनेँ। के हो त्यो भनेको भनेर सोध्नुभो। स्प्लीनको चाहिँ इम्युनोलिकल फङ्सन हुन्छ। सबै स्प्लिन निकाल्यो भने त्यो इन्युनोलोजिकल फङ्सन इम्पेयर्ड हुन्छ र त्यो स्प्लेनेक्टोमी गर्दा कुनै पनि स्प्लिेनेक्टोमी टिस्यु छोडिएन भने बिरामीहरुलाई पछि गएर निमोकोकल इन्फेक्सन हुने सम्भावना बढी हुन्छ । र निमोकोकल भ्याक्सिन दिनुपर्ने हुन्छ।

तर, अलिकति स्प्लीन टिस्यु छाडिदियो भने पछि ग्रो गरेर स्प्लीनको सानोसानो अंश बन्न जान्छ। त्यसले इम्युनोलोजिकल फङ्सन टेकअप गर्छ र बिरामीलाई सेप्सीसबाट बचाउँछ। त्यसैले म अलिकति स्प्लिन टिस्यू छोडेर स्लपी स्पेनेक्टमी गर्छु भन्या हो भनेँ।

ओरल राम्रो भयो। तीन वटा टेबलमा जानुपर्ने। तीनै ठाउँमा राम्रो भयो। ओरल सिध्याएर डेरातिर लागेँ। कहाँ थ्री पिस सुट लगाएर बसिरहने! डेरामा गएर ड्रेस चेन्ज गरेँ। ५ बजे रिजल्ट टाँसिन्थ्यो।

म फर्केर त्यहाँ पुग्दा ढिलो भैसकेको थियो। जाँच सकिने बित्तिकै कम्पाइल गरेर टाँसिहाल्ने। डेरा र कलेज १५ मिनेटको दूरीमा थियो। क्याजुयल लुगामा रोयल कलेजतिर जाँदै गएँ, बाटोमा मलाई जाँच्ने एकजना फेला पर्नुभयो। मलाई चिन्नुभो, क्याजुअलमा पनि।

‘हेलो! गोइङ टु द रोयल कलेज टु सी द रिजल्ट्स?’ भन्नुभयो, मैले ‘एस’ भने। ‘अल द बेस्ट’ भने। मलाई के लाग्यो भने यो मान्छेलाई मैले प्रभाव पारेको रहेछु। त्यत्रा विद्यार्थी जाँचेको मलाई कसरी सम्झिए। फेरि म थ्री पिस सुट लगाउँदा र क्याजुअल लगाउँदा फरक देखिन्छु। अलि आशा पलायो।

रोयल कलेज पुग्छु त झिंगा पनि छैन, रिजल्ट हेर्न कोही बसेकै छैनन्। ओरलकै बेलामा गुन्टासुन्टा लिएर आउने अनि त्यसपछि ट्रेन बुक गरेर घर गइहाल्ने चलन रहेछ। किनभने त्यो अनप्लिजेन्ट रिजल्ट हुन्छ र धेरैजसोलाई घर नपुग्दै डिप्रेसन हुन्छ। पोस्टबाट आएपछि रिजल्ट थाहा भइहाल्छ नि भन्दा रहेछन्, भाग्दा रहेछन्। कलेजमा क्यान्डिडेट पनि थिएनन्, रोयल कलेज सबै सुनसान थियो, म काउन्टरमा पुगेँ र क्लार्कलाई सोँधे, ‘फेलोसिपको रिजल्ट भयो?’

‘भइसक्यो, मैले भर्खर टाँसेर आएँ’ भने। म हेर्न गए, एक्लै छु, कोही पनि छैनन्। मेरो रोल नं. २५ थियो। पासमा ‘टु, एट र जम्प गरेर ट्वान्टी फाइभ।’ बिचका सबै फेल भएछन्।

आफ्नो नम्बर देखेर मख्ख परेँ। त्यहाँ उभिदै थिएँ, ती क्लार्क फेरि आइन् र सोधिन्, ‘डिड यू फाइन्ड योर्स?’

‘यस आइ पास्ड, कङ्ग्याचुलेशसन्स्’ भनिन् उनले।

फेलोसिपको रेकर्ड के हुन्छ भने फस्ट टाइम प्राइमरी १५ प्रतिशतले मात्र पास गर्छन्। अरु सेकेन्ड टाइम या थर्ड अटेम्टमा पास गर्छन्। फाइनल पनि १५ प्रतिशतले नै पास गर्छन्।

पहिलोपल्ट १५ को १५ प्रतिशतभित्र अथवा ३ प्रतिशतमा पर्‍यो भने मात्रै फेलोसिप पाइन्थ्यो। प्राइमरी पनि फस्ट र फाइनल पनि फस्ट ‘गो’ मा  पास गरेँ। मलाई त्यो तथ्यांक थाहा थियो। त्यसमा पर्न पाएकोमा धेरै खुसी लाग्यो।

बाहिर निस्कदाँ पाँच बजेको थियो। त्यहाँको पाँच भनेको नेपालको रातिको ११ बजे जति हो। नेपालमा त खबर गर्नु पर्‍यो। साँझमा पार्टी पनि गर्नु पर्‍यो। जनवरीमा चाँडै अँध्यारो हुन्छ, लण्डनमा डाक्टर राधव धिताललाई फोन गरेँ। उहाँ गोरखाको दाइ, मेरो लोकल गार्जियन।

१० पेन्स क्वाइनबक्समा खसालेर मैले एकोहोरो, ‘दाइ मेरो एफआरसिएसको रिजल्ट भयो, म पास भएँ’ भनेँ। उहाँले ‘ल बधाई’ भन्नुभयो। उहाँले कुरा सुन्नुभएको थाहा भइहाल्यो। फोन काटियो।

त्यसपछि के के गरेर अल्मलिएँ र नेपालमा भोलिपल्ट दिउँसो अढाइ बज्ने बेलामा फोन गर्न लगाएँ। त्यसको कारण के थियो भने डा. गङ्गोल असाध्यै अनुशासित।

२ बजे वीर अस्पतालमा काम सक्काएर साढे २ अथवा ३ बजे निजी क्लिनिकमा पुग्नुहुन्थ्यो। ४ बजेसम्म पढ्नुहुन्थ्यो अनि मात्र बिरामी जाँच्न थाल्ने। मेरो अन्दाजमा उहाँ अढाइ बजेदेखि ४ बजेसम्म खालि हुनुहुन्छ र एक घण्टीमै नै फोन उठाउनु हुन्छ। लङ् डिस्टेन्स कल त्यो बेलामा ५० पेन्स पर्थ्यो।

उहाँले उठाएर ‘हलो’ भन्ने बित्तिकै मैले एकोहोरो ‘हलो म देवकोटा बोलेको, मेरो एफआरसीएसको रिजल्ट भयो, मैले पास गरेँ, घरमा दाइहरुलाई पनि भन्दिनु होला’ भनेँ, राखिहाले। मैले नेपालमा पनि ५० पेन्समा खबर पठाएँ। डाक्टर गङ्गोलले खबर गरिदिनुभएछ दाइहरुलाई।

डा. धिताललाई मैले फेलोसिप पास गरेको खबर लण्डनमा गर्दा नेपाली डाक्टरहरु जम्मा हुनुभएको रहेछ। उहाँहरु नेपलिज् डाक्टर्स एसोसियसन (युके) गठनका लागि प्रारम्भिक विधान बनाउने भनेर जम्मा हुनुभएको रहेछ। धेरै डाक्टरहरु भएको बेलामा खबर आयो।

उहाँले फोन आन्सर गरेपछि सबैलाई सुनाउनुभएछ, ‘देवकोटाको फोन आको जाँच पास गरेछ, बेलायत आएको १८ महिनामा नै।’ अरुले राम्रो भनेछन्। तर नाम चाहिँ नभनौँ एक जना डाक्टरसाबले चाहिँ ‘त्यसलाई प्रोफेसरले हेल्प गरेर पास गर्‍यो, प्रोफेसरले हेल्प गरेको भए हामीले पनि परीक्षा पास गर्थ्यौँ’ भनेर कमेन्ट गर्नुभएछ।

यो कुरा डाक्टर राघव धितालले मलाई पछि भन्नुभयो। जाँच पास गरिसकेपछि म लण्डन गए, उहाँसँग एक दिन साँझमा लामो कुरा भयो। त्यहाँ त नेपाली डाक्टरहरुको बिचमा मलाई बौलायो समेत भन्न थालिसकेका रहेछन्। उहाँहरुको भनाई के रहेछ भने त्यस्तो नेपालजस्तो टेक्नोलोजी नभएको ठाउँबाट आएर ग्लास्गोमा काम गरिराखेको छ, एडजस्टमेन्टको प्रब्लम हुनुपर्ने, यो डाक्टर केही पनि नभएको जस्तो बहाना गरेर ‘स्माइल्स अल द टाइम्स, प्रिटेन्डिङ ही इज ह्याप्पी।’

अब यो चाहिँ साइकोलोजिकल ब्रेक डाउन हुन लाग्यो भनेर पछाडिपछाडि कुरा गर्नु हुँदो रहेछ उहाँहरु। दुईवटा परीक्षा पास गरिसकेपछि उहाँहरुले विश्वास गर्नुभयो, ‘आइ एम ट्रुली एडजस्टेड।’ म पागल थिइन्, तर म एउटा लक्ष्यको पछाडि दौडिरहेको थिएँ ।

मैले ग्लास्गो गएको १८ महिनाभित्र फेलोसिप पास गरेँ, दुईओटा रेकर्ड कायम गरे छु। पहिलो, छोटो समयमा कुनै पनि नेपालीले फेलोसिपको परीक्षा पास गरेको थिएन, सायदै ओभरसिजको अरु कमैले यस्तो गरेका थिए।

दोस्रो, बेलायतमा सर्जरी नै नगरीकन सर्जरीको फेलोसिप पाएको कसैले पनि थिएन। सबैले जनरल सर्जरीको काम गरेपछि मात्र फेलोसिप पाएका थिए। यो दुईओटा कारणले मैले केहि कीर्तिमानी कायम गरेँ कि भन्ने एउटा सानो दम्भ छ।

एउटा महत्वपूर्ण कुरा के छ भने  मैले फेलोसिप पास गरेको रेकर्डसँगै मलाई एक्जम्सन दिइएको चिठी, जसमा लेखिएको थियो, ‘ग्लास्गो कलेजले जनरल सर्जरी नगरीकन जाँच देऊ, तिम्रो काठमाडौँको एक्सपिरियन्स पर्याप्त छ।’ यो चिठी मैले डाक्टर गंगोललाई पठाएँ।

त्यसपछि उहाँले पत्राचार गर्न थाल्नुभयो, बेलायतका रोयल कलेजहरुलाई, ‘एउटा ट्रेनीले बेलायतमा गएर सर्जरी नगरीकन जाँच पास गर्‍यो,  ग्लास्गोको कलेजले सहयोग गर्दा यो नतिजा देखाउन सकियो, तिमीहरुले यहाँ आएर एफआरसीएसको जाँचको व्यवस्था किन नगर्‍या?’ भनेर ।

अन्ततोगत्वा नेपालबाटै एफआरसिएस प्राइमरी र फाइनल जाँच पनि दिन पाउने अवस्था आयो। त्यसमा मेरो ब्याकग्राउन्डले पनि धेरै भूमिका खेलेको क्लेम गर्छु। पछि १७ जना नेपालीले नेपालमा नै फेलोसिप पास गरे। प्राइमरी पनि यहीँ गरे। वीर हस्पिटलमा काम गर्दै फाइनल पनि यहीँ दिए।

जेठ १०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्