नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग अन्तर्वार्ता

‘ममाथि अन्याय भयो तर धैर्यता गुमाएको छैन’

‘ममाथि अन्याय भयो तर धैर्यता गुमाएको छैन’

तस्बिरहरु: बर्षा शाह

काठमाडौँ: पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेपाल कम्युनिष्ट पार्टीभित्र उठाएको वरियता विवाद न्याय तथा विवेकसम्मत तरिकाबाट पार्टी नेतृत्वले सुल्झाउने आशा व्यक्त गरेका छन्।

पार्टी एकीकरणपछि वरियता निर्धारणका क्रममा आफूलाई चौथो नम्बरमा राखेको भन्दै आफ्नो असहमति पार्टी सचिवालयमा दर्ता गरेका खनालले न्यायका लागि आफू धैर्यताकासाथ प्रतीक्षा गर्ने समेत बताएका छन्।

तत्कालीन एमाले गठन हुनुपूर्व नेपाल कम्युनिष्ट पार्टी मालेमा दोस्रो वरियतामा रहेको, त्यो हैसियत एमालेमा रहेको तर हालै गठन भएको नेकपामा त्यसलाई बेवास्ता गर्दै आफू अगाडि माधवकुमार नेपाललाई राखेको भन्दै उनले आपत्ति जनाएका छन्।

आफ्नो वरियता विवाद, नेकपाको चुनौती र आफ्नै स्वास्थ्य लगायत विषयमा देशसञ्चारकी संवाददाता दीपा दाहालसँग उनले खुलेर कुराकानी गरेका छन्।

१) धेरैपछि तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएको छ। के अब यसले राजनीतिक स्थायीत्व सुनिश्चित गर्छ?

सबैभन्दा पहिला त नेपालको कम्युनिष्ट आन्दोलले ७० वर्ष पार गरेपछि यो एकीकृत अवस्थामा आइपुगेको छ। हामी २००६ सालमा नेपाल कम्युनिष्ट पार्टी स्थापना भइसकेपछि २०२१ साल सम्म एकतावद्ध नै थियौं। त्यसपछि कम्युनिष्ट आन्दोलनमा ठूला विभाजन भयो।

अनेकन टुक्राहरु देखा परे। त्यसमध्ये दुई मुख्य धारहरु देखा परे। एउटा धार माले थियो। अर्को माओवादी थियो। यी दुई धारहरु ३०, ४० र ५० को दशकमा पुग्दै गर्दा हामीबीच तीव्र प्रतिस्पर्धा भयो।

तर ६० को दशक लाग्दै गर्दा खासगरी राजतन्त्रविरुद्धको संघर्ष, २०६२/६३ को शान्तिपूर्ण जनक्रान्ति, संविधान निर्माण, संविधान कार्यान्वयनको प्रक्रियामा आएपछि हामीबीचमा कार्यदीशा, नीति र सिद्धान्तमा एकरुपता कायम हुन पुग्यो।

त्यो एकरुपताले हामीलाई संगठनात्मक एकताको निम्ति जग हाल्न सहयोग गर्‍यो। त्यो जगमा उभिएर हामीले यी दुई पार्टीलाई एकतावद्ध गरे मात्रै नेपालको कम्युनिष्ट आन्दोलन नयाँ उचाइमा पुग्छ र हामी मुलुकलाई स्थिरता र स्थायीत्व दिन सक्छौ भन्ने निष्कर्शमा पुग्यौं। त्यसपछि यी दुई पार्टीहरुमा एकीकृत पार्टी निर्माण गर्ने निर्णय भयो।

यो एउटा ऐतिहासिक घटनाक्रम हो। यो दुरगामी महत्वको घटना पनि हो। यो निर्णायक क्षण पनि हो। यो पार्टीलाई अब तलसम्म सम्पूर्णरुपमा एकीकरण गर्ने भन्ने अभियानमा लागेका छौं। त्यसले निरन्तरता पनि पाउनु पर्छ। यसले नेपाली राजनीतिलाई दीगो र स्थिर दिसातर्फ अगाडि बढाउने छ।

२) भनेपछि जनतामा जुन किसिमको आशा पलाएको छ। त्यो पूरा हुन्छ त ?

पक्कै पनि यो पार्टी एकीकरण भएपछि त्यो आशा पलाएको छ। विशेषगरी पछिल्लो पटक स्थानीय, प्रदेश र राष्ट्रिय तहको निर्वाचनमा हामीहरुले जुन प्रकारको परिणाम प्राप्त गरेका छौं अर्थात झण्डै दुई तिहाइ मत ल्याएका छौं यसले गर्दा मुलुकलाई स्थायीत्व दिने, स्थिर सरकार दिने र अव स्वाभाविकरुपले राज्यका नीतिहरु, कार्यक्रमहरु र योजनहरु पनि प्रभावकारीरुपमा अगाडि बढ्न सहयोग गर्छ।

यसले जनतामा भारी उत्साह छाएको छ। राष्ट्रव्यापीरुपमै अब नेपालमा राम्रो काम हुन्छ भन्ने भावना जागृत भएको छ। त्यो भावनालाई सही ढंगले संपादन वा सही ढंगले कार्यान्वयन गर्नेतर्फ लाग्नुको विकल्प छैन। हामी त्यसमा अघि बढिसकेका छौं।

३) नेपाल कम्युनिष्ट पार्टीको जन्म भएपछि शीर्ष नेताहरुले मुलुक नयाँ युगमा प्रवेश गर्‍यो भनिएको छ। तर परिवर्तनको महसुस सबैभन्दा पहिले जनतामा हुनु पर्दैन र ?

वास्तवमै हो। किनभने २०६२/६३ साल पछिको जनक्रान्ति नेपालमा लोकतान्त्रिक क्रान्तिको अन्तिम चरण थियो। लोकतान्त्रिक क्रान्तिको सुरुवात २००७ सालपछि सुरुवात भयो। त्यो क्रान्तिले अनेकन मोडहरु लिँदै कहिले २०१७ सालको मोडमा पुग्नु पर्‍यो, कहिले २०४६ सालको मोडमा पुग्नुपर्‍यो। अन्तत: २०६२/६३ सालको जनक्रान्ति राष्ट्रव्यापीरुपमा भयो जुन करोडौं जनताको सहभागितामा सम्पन्न भयो।

त्यो क्रान्ति सम्पन्न भएपछि नेपाली समाजले जनवादी क्रान्तिको चरण पूरा गर्‍यो। त्यसपछि हामीले त्यसका उपलब्धीहरुलाई लिएर संविधान निर्माण गर्ने अभियान चलायौं। हामीले १० वर्ष लगाएर संविधान पनि बनायौं। त्यो संविधान कार्यान्वयन गर्ने शिलशिलामा पहिलो आम निर्वाचन सम्पन्न गर्‍यौँ। त्यसमा जुन प्रकारकाले हामीले विजय प्राप्त गरेका छौं यो नेपालको इतिहासमा अभूतपूर्व उपलब्धि हो। पहिलो पटक नेकपाले यस्तो विजय प्राप्त गर्‍यो।

संविधानले भनिसकेको छ कि अब समाजवाद उन्मुख हुनुपर्छ। समाजवाद उन्मुख भएरै जानेतर्फ हामी प्रवेश गरिसकेका छौं। आन्दोलनको क्रान्तिको युगलाई समाप्त गरेर अब हामी निर्माण र रुपान्तरणको युगमा प्रवेश गरेका छौं। त्यसैले हामी नयाँ युगमा गइरहेको कुरा सत्य हो।

झलनाथ खनाल।

४) तर यो एकीकरण प्रक्रिया नीतिगत एजेण्डाभन्दा पनि दुई शीर्ष नेता वा केही सीमित नेताहरुबाट अगाडि बढाइयो भन्ने गुनासो छ, त्यसलाई कसरी संवोधन गर्ने ?

एकताको प्रक्रियामा स्वाभाविकरुपले दुवै पार्टीका तर्फबाट धेरै मानिस बस्न मिल्दैन। तर, एकता प्रक्रियामा दुवै पार्टीका केन्द्रीय समिति वा कमिटीको बीचको संवादलाई विभिन्न तहमा पनि गरिएको थियो। कतिपय ठाउँमा औपचारिक र कतिपय ठाउँमा अनौपचारिक वार्ता समेत भएका छन्।

वार्ता प्रक्रियालाई अगाडि बढाउने सिलसिलामा दुवै पार्टीले आआफ्ना अध्यक्षलाई अधिकार दिनु स्वाभाविक नै हो। त्यसका आधारमा वार्ता प्रक्रिया अगाडि बढेको हो। यो दुई शीर्ष नेताको मात्रै साँठगाँठ होइन। त्यसमा दुवै पार्टीको प्रतिनिधित्व भएको हुनाले नै यो एकता भएको हो।

यो एकता मात्र नेताको चाहना मात्र होइन, यो आम कार्यकर्ता, समर्थक, शुभेच्छुक र मतदाताको चाहना पनि हो। सबैको चाहना परिपूर्ति हुने हिसावले एकता भएको छ। यसकारणले यो ऐतिहासिक एकता हो।

५) तर दुई शीर्ष नेताकै कारण एकतामा धेरै समय लाग्यो र अन्य नेताको आवाज गौण भयो। त्यहाँ कमिकमजोरी भयो भनिन्छ ?

एकता प्रक्रियामा कतिपय कमिकमजोरी पनि देखा परेका होलान्। त्यसलाई पनि स्वाभाविक मानिन्छ। किनकी यो दुई ठूला पार्टीको मिलनको कुरा थियो। तर समग्रमा भन्नु पर्दा एकता प्रक्रिया जुन ढंगले अघि बढ्नुपर्थ्यो, त्यो भएको छ।

कार्यदिशा, नीति र सिद्धान्त हामीले साझारुपमा विकास गर्‍यौँ। यद्यपि पूर्व एमाले र माओवादी पार्टीमा कतिपय मतभिन्नता पनि थिए, दृष्टिकोण र अडान पनि फरक थिए। तर अहिले आएर तिनीहरुबीचमा एकरुपता कायम भएको छ।

एकरुपता कायम गरेर एउटै कार्यदिशा, नीति र सिद्धान्तका आधारमा हामी अगाडि बढेका छौं। यो दुई पार्टीको एकीकरण व्यक्ति विशेषको होइन।

६) तपाईको असन्तुष्टिको बारेमा कुरा आयो। यसको वास्तविकता के हो ? यसको असर के पर्छ एकतामा अथवा पार्टीको दीगोपनमा ?

मेरो असन्तुष्टिको कुरा के हो भने हाम्रो पहिलेको पार्टी अर्थात पूर्वनेकपा मालेभित्र म दोस्रो नम्बरको वरियतामा थिएँ। कमरेड केपी ओली अध्यक्ष भएको हुनाले उहाँ पहिलो हुनुहुथ्यो। र, त्यसपछाडिको वरिष्ठ नेता म मात्रै थिएँ। वास्तवमा भन्ने हो भने पार्टीको नवौं अधिवेशनले मलाई मात्रै वरिष्ठ नेताको रुपमा अगाडि सारेको हो।

तर, अहिले एकीकरणको प्रक्रियामा आएपछि माधवकुमार नेपाललाई अगाडि लग्ने र मलाई तेस्रो नम्बरमा लाने काम भयो। ममाथि अन्याय भयो तर धैर्यता गुमाएको छैन मैले। औचित्यहीन काम भएको छ। अझ भन्नु पर्दा अनावश्यकरुपमा अगाडि सारियो। यो विवादास्पद समेत बन्न पुग्यो।

यो गलत हो भन्ने मेरो मान्यता हो। यही मान्यतालाई मैले बाहिर ल्याएको छु। कस्तो आउँछ प्रतिक्रिया भन्नेमा प्रतीक्षा गरिहेको छु।

७) अव के गर्नु हुन्छ तपाई या के हुन पर्छ भन्ने लाग्छ ?

मैले त त्यसबारेमा पार्टीमा असन्तुष्टि जाहेर गरिसकेको छु। त्यसबारेमा छलफल होस भन्ने मेरो माग हो। त्यसबारेमा पुर्नविचार होस् र नयाँ ढंगबाट अघि बढ्नु पर्छ भनेर मैले आफ्नो कुरा स्पष्ट राखेको छु। पार्टीले अव कसरी सुन्छ? त्यो कुरा म हेर्छु।

म वाच डगकारुपमा अघि बढेको छु यतिबेला। तर म यसकै लागि व्यापक हल्ला मच्चाउने योजनामा छैन र त्यो चाहन्न पनि। मैले पार्टीसँग कुरा राखिसकेको छु र पार्टीले मलाई न्याय दिनुपर्छ। कम्युनिष्ट पार्टीको नेतृत्वमा अन्याय हुने काम नहोस्।

कम्युनिष्ट पार्टीले पनि अन्याय गर्छ भन्ने कुरा कसैले देख्ने स्थिति नआओस् भन्ने मेरो चाहना छ।

८) तपाईका शुभचिन्तकले त तपाईले बाहिर भनेपनि पार्टीभित्र आवाज नउठाएको भन्दा चिन्ता गरेका छन् नि?

त्यस्तो होइन भित्र जे भनेको छु त्यही कुरा बाहिर आएको छ। मलाई लुकाउनु पर्ने केही छैन। किनकी मेरो वास्तविकता सबैलाई थाहा छ। यो विषयलाई लिएर मेरा शुभचिन्तकलाई पनि पीर पर्नु स्वाभाविक हो। त्यो कुरा मैले बुझ्छु। मैले धैर्य गरेको छु। हेर्छु अब के हुन्छ।

९) तपाईले अव जे भयो भयो भनेर सहमतिका लागि हस्ताक्षर पनि गर्नु भयो भन्ने कुरा आइहरेको छ त ?

विल्कुल त्यस्तो कुरा होइन। मैले आफ्नो असहमतिका कुरा पार्टी सचिवालमा दर्ज गरिकसकेको छु र त्यसबारे मैले विमति राखेको छु।

१०) तपाईले दर्ज गरेको असहमितलाई लिएर पार्टी नेतृत्वले के प्रतिक्रिया दिएको छ ? 

त्यो छलफल गर्न बाँकी नै छ । अहिले कुनै प्रतिक्रिया आएको छैन । सायद, छलफल गर्ने तयारीमा उहाँहरु हुनुहुन्छ होला ।

११) राज्य र पार्टीको प्रोटोकलमा विवाद आएदेखि कसले प्राथमिकता पाउनुपर्छ तपाईले कि माधव नेपालले ?

स्वाभाविकरुपले पार्टीको मर्यादाको कुरा हो यो । पार्टीको मर्यादामा पार्टीको ‘स्ट्यान्डिग’ जे छ, त्यसको आधारमा मर्यादाक्रम निर्माण गर्नुपर्छ। राज्यको प्रोटोकल अलि बेग्लै हुन्छ। राज्यको प्रोटोकलमा राज्यले अघि सारेको मापदण्डको आधारमा हुन्छ। पार्टीको प्रोटोकल पार्टीको अधारमा निर्धारण हुन्छ। त्यहीरुपमा मिलाउनु पर्ने हुन्छ ।

१२) नेपालको राजनीति र छिमेकीको भूमिको निकै चर्चा हुने गरेको छ। खासगरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई लिएर परस्पर विरोधी विश्लेषण आइरहेका छन् । किन ?

पहिले संविधान घोषणा भइसकेपछि भारत र नेपालबीचको सम्बन्धमा अलिकति तनाव देखा परेको थियो । त्यतिमात्र होइन नेपालमा नाकाबन्दी पनि लगाइयो । त्यसै सन्दर्भलाई लिएर झन बढी तनाव उत्पन्न भएको थियो । त्यसपछि नेपालको आन्तरिक परिस्थिती बदलिदै गयो । आम निर्वाचन भयो र नयाँ सरकार आयो ।

नयाँ सरकार आइसकेपछि स्वाभाविकरुपले संसारभरीका अरु देश र छिमेकीहरुसँगको सम्बन्ध नयाँरुपले सुधार गरेर लाने कुराहरु पनि हामीले सरुवात गर्यौ। त्यही शिलशिलामा भारतसँग वार्ता प्रक्रियाहरु अगाडि बढे। वार्ता प्रक्रिया अगाडि बढ्ने शिलशिलामा तत्काल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउनु भयो ।

उहाँलाई हामीले स्वागत पनि गर्यौं । उहाँले पनि राम्रा कुराहरु गरेर जानु भएको छ । नेपाल र भारतबीच धेरै ठूला सहमति वा सम्झैता भन्दा पनि सद्भावना भ्रमणका रुपमा त्यो भ्रमण देखा परेको छ ।

त्यसले दुई मुलुकबीच भएको तनावलाई शिथिल गर्न, सम्बन्धलाई सामान्यकरण गर्न र समझदारी गर्न महत्वपूर्ण भूमिका खेलेको छ । मेरो मुल्यांकन त्यही हो ।

१३) अव नेपालको स्वतन्त्रता र सार्वभोमसत्तामा दुवै मुलुकले हस्तक्षेप नगर्ने अवस्था आएको हो ?

नेपाल एउटा स्वतन्त्र, सार्वभोमसत्ता सम्पन्न मुलुक हो । यसको आफ्नै स्वाधिनता छ ।राष्ट्रिय अखण्डतायुक्त मुलुक हो। कहिल्यै पनि उपनिवेशवादीको छायाँमा नपरेको स्वतन्त्र राष्ट्र हो। त्यसैले हामीलाई स्वतन्त्रताको मुल्य धेरै ठूलो लाग्छ । र हामी दुवै छिमिकी राष्ट्र चीन र भारतसँग सन्तुलित सम्बन्ध राख्न चाहान्छौं ।

समानता र स्वतन्त्रताको आधारमा हामी सम्बन्ध कायम राख्न चाहन्छौं र त्यो जुन ढंगको चीनसँग सम्बन्ध छ त्यसमा कुनै समस्या देख्दैनौं। र अहिले भारतसँग पनि पहिले जे जे समस्या थिए ती पनि सुल्झिदै गएका छन् । त्यसो हुनाले दुवै देशको सम्बन्ध राम्रो हुँदै गइरहेको छ। त्यो अवस्थालाई हामीले कायम राख्नु पर्छ । त्यही ढंगका सन्धि र सम्झौता गर्नु पर्छ हामीले । त्यसो गर्दै गयो भने दुवै देशबाट ठूला ठूला सहयोगहरु लिन सक्ने सभावना पनि रहेको छ ।

१४) अहिले पनि एकथरीले विश्लेषण गरिरहेका छन् भित्रभित्र छिमेकी मुलुकबाट प्रतिस्पर्धा जस्तै गरी हस्तक्षेप भइरहेको नेपालमाथि । यसमा हाम्रै नेता कति दोषी छन् ?

विगतलाई मुल्यांकन गर्ने हो भने भने निसन्ध्य नै हाम्रा देशका नेताहरुमा पनि दोष छ ।बाहिरी हस्तक्षेप ल्याउनका लागि देशभित्रैका नेताहरुमा भएका कमिकमजोरीलाई हामीले मुल्यांकन गर्नु पर्छ । त्यस्ता कमिकमजोरी रहन दिनु हुँदैन । हरेक काम एउटा नीति र सिद्धान्तका आधारमा गर्नु पर्छ । त्यसो भयो भने कसैले पनि हस्तक्षेप गर्ने स्थिती आउँदैन । पहिलो कुरा आफ्नो घर ठिक ठाउँमा राख्नु पर्छ । आफ्नो घर ठिक ठाउँमा राखेपछि छिमेकीहरुले यताउता चलाउन सक्दैनन् ।

१५) नेपाल कम्युनिष्ट पार्टीको अवको सबैभन्दा ठूलो चुनौति के हो ?
अवको चुनौति भनेको हामीले सरकार गठन गरेका छौं । उपयुक्त नीति र कार्यक्रम पनि ल्यायौं । यो नीति र कार्यक्रमका साथसाथमा बजेट पनि आउँछ ।

यो नीति तथा कार्यक्रमलाई दृढतापूर्वक सही र पारदर्शीरुपमा लागू गर्ने विषय सबैभन्दा ठूलो चुनौति बनेको छ । त्यसलाई लागू गर्नका लागि हामीले प्रशासनलाई त्यही ढंगमा परिचालन गर्नु पर्यो । सूशासन दिन सक्नु पर्यो । भ्रष्टचारलाई शुन्य बनाउन सक्नु पर्यो । त्यसैअनरुप हामीले काम गर्नु पर्छ । त्यो नै सबैभन्दा ठूलो चुनौति हो ।

१६) तपाई बारम्बार चीन गहिरहनु भएको छ कारण?

म चीन गएको पारदर्शी कुरा नै हो । कहिले मरो स्वास्थ्य जाँचका लागि जान्छु कहिले विभिन्न महत्वपूर्ण कार्यक्रममा सहभागि हुन जान्छु । त्यसले सद्भाव नै बढाएको छ दुई मुलुकबीच। पछिल्लो पटक त्यहाँ आयोजित सांस्कृति सम्मेलनको उद्घाटनका लागि मलाई बोलाइएको थियो। त्यसमा म सहभागि भए । त्यही बेला मेरो स्वास्थ्य जाँच पनि सँगै गरे ।

१७) साँच्चै तपाईको स्वास्थ्य कस्तो छ ?

मलाई थाइराइड र प्याराथाइराइड दुवैको समस्या छ। त्यसको उपचार गराइरहेको छु। आयुर्वेद औषधि खाइरहेको छु। यो रोगले अलि धेरै अल्छि लगाउँछ । निन्द्रा लागिरहन्छ । थकान महसुश हुन्छ । तर पनि मैले आफ्नो सक्रियातलाई घटाएको छैन।

अर्थात मरो कामलाई निरन्तरता दिइनै रहेको छु। मलाई यस्तो हुनुमा राजनीतिक भागदौैढ हो या अरु केही त्यो चाही पत्तो लागेको छैन। यो समस्या पहिचान भएको ४÷५ महिना भयो। यसका लक्ष्णहरु त धेरै वर्ष पहिले देखिएका थिए तर व्यस्त भइराख्नु पर्ने बाध्यता छ । पुरानो समस्या तीन वर्ष अघि अमेरिकामा गएर उपचार गर्दा ठिक भएको थियो।

त्यो बेला नै चिकित्सकले अहिलेको मलाई देखिएको समस्याको आशंका गरेका थिए। उपचारका क्रममा पहिले भन्दा प्रगति भएको छ ।

आशा छ यसमा अझै प्रगति हुने छ । मैले बोल्दा मेरो अनुहार काप्ने पनि यही थाइराइडसँग सम्बन्धित समस्याले नै हो।

मलाई मेरो स्वास्थ्य भन्दा धेरै मुलुकको चिन्ता छ। अव नेपाल एउटा ऐतिहासिक चरणमा प्रवेश गरिसकेको छ। यो अवस्थामा हामी सबै नेपाली एकतावद्ध भएर राष्ट्रको पुननिर्माण गर्नुपर्छ ।

जेष्ठ १०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्