वार्ताको वातावरण बन्यो ?

उत्तर कोरियाको परमाणु परीक्षण क्षेत्रको सुरुङ्ग ध्वस्त

प्योङ्ग-री क्षेत्रको टनेल ध्वस्त हुनु अघिको स्याटेलाइट इमेज । तस्बिर : रोयटर्स

उत्तर कोरियाको एक मात्र परमाणु परीक्षण क्षेत्रको सुरुङ्ग ध्वस्त भएको छ । उत्तर कोरियाले क्षेत्रीय तनाव कम गर्नका लागि आफ्नो परमाणु परीक्षण क्षेत्रको सुरुङ्ग पारेको देखिएको छ ।

उत्तर कोरियाको परमाणु परीक्षण क्षेत्र प्योङ्ग-रीमा रहेको ठूलो विस्फोट भएको र आफूहरु त्यसको प्रत्यक्षदर्शी रहेको त्यहाँ रहेका विदेशी पत्रकारले बताएको बिबिसीले उल्लेख गरेको छ ।

उत्तर कोरियाको उत्तर पूर्वी क्षेत्रमा रहेको परमाणु परीक्षण क्षेत्रमा विस्फोट भएको हो । दक्षिण कोरिया तथा अमेरिकासँग यो वर्षको सुरुमा औपचारिक तथा अनौपचारिक रुपमा भएको कूटनीतिक छलफलको क्रममा उत्तर कोरियाले यो परमाणु परीक्षण क्षेत्र बन्द गर्ने वा नष्ट गर्ने प्रस्ताव गरेको थियो ।

तर वैज्ञानिकहरुले भने उत्तर कोरियाले गएको वर्षको सेप्टेम्बरमा गरेको पछिल्लो परमाणु परीक्षणको क्रममा नै यो क्षेत्रको केही भाग ध्वस्त भएको थियो ।

प्योङ्ग-री परमाणु परीक्षण क्षेत्रको सुरुङ्ग ध्वस्त पार्ने क्रममा वा त्यसपछिको अवस्था अवलोकनका लागि स्वतन्त्र अनुगमनकर्तालाई स्वीकृति दिइएको छैन । यो क्षेत्र देशको पहाडी इलाकामा रहेको र सजिलै बनाउन सकिने खालको पनि रहेको हुन सक्ने अनुमान पनि छ ।

उत्तर कोरियाका नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिच आउँदो जुन १२ मा सिंगापुरमा हुने भनिएको वार्ताको अघि उत्तर कोरियाले परमाणु परीक्षण क्षेत्र ध्वस्त पारेको खबर आएको हो ।

तर पछिल्ला दिनहरुमा दुवै देशले वार्तामा ढिलाइ हुने वा रद्द हुन सक्ने बताउने गरेका छन् ।

उत्तर कोरियाले आफूले छनौट गरेका झण्डै २० विदेशी पत्रकारको उपस्थितिमा परमाणु परीक्षण क्षेत्रका श्रृङ्खलाबद्ध विस्फोट गराएर बिहीबार सुरुङ्ग ध्वस्त पारेको हो ।

बिहान दुई तथा अपराहन्नमा चारवटा विस्फोट गरिएको बताइएको छ । त्यहाँ उपस्थित भएका मध्ये स्काई न्युजका पत्रकार टम केशिएर पनि एक हुन् । उनका अनुसार सुरुङ्गको द्वारमा तारहरु राखिएका थिए र त्यसपछि विस्फोट गराइएको हो ।

उत्तर कोरियाले सन् २००६ यता ६ वटा परमाणु परीक्षण गरेको छ । यसमा जमिनमुनि खनिएका सुरुङ्गको प्रयोग गरिएको थियो ।

यो उत्तर कोरियाको प्रमुख परमाणु क्षेत्र र विश्वमा रहेको एक मात्र चालु परमाणु परीक्षण क्षेत्र हो । यो राजधानी पोङ्गयाङ्गबाट ३७० किलोमिटर उत्तर पूर्वमा रहेको छ ।

जेठ १०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्