गोरेसँग १६ पेजको बयान, शुक्रबार पनि लिइने

सुन तस्करीका अभियुक्त चूडामणि उप्रेती गोरेलाई बयानपछि फर्काउँदै सुरक्षाकर्मीहरु। तस्बिर: देशसञ्चार

विराटनगर –  चर्चित सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणका मुख्य योजनाकार चूडामणि उप्रेतीसँग दोस्रो दिन बिहीबार दिनभर बयान लिइए पनि लम्बिएको छ।

मोरङ जिल्ला अदालतस्थित न्यायाधीश नारायणप्रसाद शर्माको रोहबरमा  भईरहेको बयान दोस्रो दिन पूरा हुँदा १६ पृष्ठ तयार भएको छ।  बयान  शुक्रबार पनि जारी रहनेछ। तर अदालत स्रोतका अनुसार  बयान कहिलेसम्म सकिन्छ भन्ने तत्काल यकिन गर्न गाह्रो छ।  बयान लिएर वादी र प्रतिवादीका वकिलबीच थुनछेक बहस सकिएपछि अदालतले उप्रेतीलाई थुनामा राख्ने की तारेख वा धरौटीमा छाडेर मुद्धाको सुनुवाइ गर्ने भन्ने विषयमा आदेश गर्छ ।

विज्ञापन

गोरेका पिता नेत्रप्रसाद उप्रेती भन्छन्:
‘छोरा चुडालाई यसपटक देख्दा निक्कै फरक लाग्यो’, मलिन स्वरमा पिता नेत्रप्रसादले भने। उनी छोरा भेट्न बिहीबार दिउँसो काठमाडौंबाट सिधै विराटनगरस्थित अदालत आइपुगेका थिए, लुगाफाटोसहित। बयानका क्रममा गोरेले पाएको केही क्षणको विश्रामका समय बाबुछोराको भेटघाट भएको थियो। त्यसपछि अदालत बाहिर कुरा गर्दै उनले आफ्नो छोरा केही सुस्त भएको महसुस गरेको बताए। उनले भने, ‘मलाई त मेरो छोरोले मानसिक सन्तुलन गुमाए जस्तो लागिरहेको छ।’  प्रहरी निकायमा समेत कार्य गरिसकेका नेत्रले सञ्चारकर्मीसामू गोरे सुन ओसार पोसार कार्यमा लागेको समेत परिवारलाई थाहा नभएको बताए। उनले आफनो छोराको ज्यान जोखिममा रहेको बताए। ‘ऊ अझै त्रासमा छ’, बुबा नेत्रले भने,’ उसको ज्यान जोखिममा रहेको छ त्यसैले हामीहरुले मानवधिकारवादीको निगरानीमा उसलाई राखिनुपर्नेमा जोड दिइरहेका छौँ।’

लुगा फेरेको अवस्था
मंगलबार काठमाडौंमा सार्वजनिक गर्दा गोरे कालो भेष्ट, रातो टोपी, चश्मा, कालो मास्क र खैरो पेन्टमा देखिएका थिए। बुधबार पनि उनी जिल्ला अदालत मोरङमा उही लुगामा देखिए। बिहीबार पनि खैरो पेन्टमै अदालत पुगेका उप्रेतिले कालो मास्कको स्थानमा सामान्य आकाशे निलो मास्क र सोही रंगको हाफ सर्ट लगाएको थिए। यस घटनामा जोडिएका अभियुक्त प्रहरीहरुलाई भने अदालतमा ल्याउदा हतकडी लगाइएको थिएन्। तर, मुख्य योजनाकार उप्रेतिलाई मंगलबारदेखि हतकडीमै राखिएको छ।

अदालतले गोरेको सुरक्षा गर्न दियो आदेश

अभियुक्त उप्रेतिको सुरक्षामा ध्यान दिन न्यायाधीश नारायणप्रसाद शर्माले आदेश दिएका छन्। निवेदन माग बमोजिम निवेदकलाई शान्ति सुरक्षाको ब्यवस्था मिलाइदिनु भन्दै जिल्ला प्रशासन कार्यालय मोरङलाई लेखि पठाइदिनु भन्ने ब्यहोरा रहेको छ। अदालतमा बयानका लागि बुधबार उपस्थित गराइएका उप्रेतिले आफू असुरक्षित रहेको र विभिन्न धम्कीहरु आइरहेको बताउँदै मानव अधिकारकर्मीहरुको निगरानीमा आफू हिरासतमा बस्न पाउनु पर्ने आवाज उठाएका थिए।

जिल्ला अदालत मोरङले सुन तस्करी र शाक्य हत्यामा मुछिएका २८ अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राख्न मंगलबार नै आदेश दिइसकेको छ । जसमा एक जना धरौटी र एक जना साधारण तारेखमा रिहा भएकाछन् । ६३ प्रतिवादी मध्ये मुख्य अभियुक्त उप्रेति गोरेसहित पक्राउ परेकाको संख्या ३१ पुगेको छ । एसएसपी श्यामबहादुर खत्रीसहित ३२ अभियुक्त अझै फरार छन् ।

जेष्ठ १०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्