च्याम्पियन्स लिग फाइनल

रियल मड्रिड भर्सेस लिभरपुल : रोनाल्डो वा सालह? या अरु कोही ?

क्लब फुटबलमा यो सिजनको सबै भन्दा महत्वपूर्ण तथा विश्वभरका फुटबल फ्यानको प्रतिक्षा रहेको फाइनल खेल शनिबार युक्रेनको राजधानी किएभमा हुँदैछ ।

च्याम्पियन्स लिग फुटबल युरोपका क्लबबिचको प्रतिस्पर्धा रहे पनि यसले विश्वभरका फुटबल समर्थकलाई एक सुत्रमा बाँधेको छ । यो सिजन प्रतिष्ठित उपाधिका लागि स्पेनिस ला लिगा क्लब रियल मिड्रड जो साबिक विजेता पनि हो र इंग्लिस प्रिमियर लिग क्लब लिभरपुलबिच प्रतिस्पर्धा हुँदैछ ।

फाइनल खेलका लागि दुवै टिमका किएभ तर्फ लागेका छन् । रियल मड्रिड टिमका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले बिहीबार बेलुका बोर्डिङ्गका लागि निस्कन लागेको तस्बिर पोस्ट गरेर, अन माइ वे लेखेका थिए ।

रियल मड्रिड र लिभरपुलको किएभ यात्रा कीर्तिमानका लागि हुँदैछ । तर फरक फरक । रियल मड्रिड कीर्तिमानी १३ औँ तथा लगातार तेस्रो सिजन युरोपियन च्याम्पियने बन्ने लक्ष्यसहित बर्नाबेउबाट किएभका लागि उडान भरेको छ ।

यस्तै लिभरपुल पनि च्याम्पियन्स लिगमा आफूलाई पुनः स्थापित गरेर युरोपमा आफूलाई बलियो टिमका रुपमा चिनाउन चाहन्छ ।

फुटबलका दुई सुपरपावर रियल मड्रिड र लिभरपुल युरोपको इलाट प्रतिस्पर्धामा आफूलाई प्रमाणित गर्ने ध्यानमा छन् ।

यी दुई क्लबबिच पछिल्लो पटक सन् २०१४ को नोभेम्बर ४ मा च्याम्पियन्स लिग समूह चरणको खेलमा भेट भएको थियो । बर्नाबेउमा भएको खेलमा २७ औँ मिनेटमा करिम बेन्जिमाले गरेको गोलबाट रियल विजयी भएको थियो ।

त्यो खेलबाट अहिलेसम्म धेरै परिवर्तन भएको छ । तर रियल मड्रिडको टिममा भने त्यो खेलमा रहेका ९ खेलाडी अहिले पनि छन् तर लिभरपुलको अवस्था भने फरक छ ।

हेड–टू–हेड

रियल मड्रिड अहिले युइएफए क्लब बरियतामा शीर्ष स्थानमा छ भने लिभरपुल २२ औँ स्थानमा रहेको छ । यी दुई क्लबबिच यसअघि पाँच पटक भेट भएको छ ।

त्यसको नतिजा हेर्दा लिभरपुलको पक्ष बलियो छ । तीन खेलमा लिभरपुल तथा दुई खेलमा रियल मड्रिड विजयी भएको छ । यसमा लिभरपुलले ६ तथा रियल मड्रिडले चार गोल गरेको छ ।

लिभरपुलले सन् १९८०–८१ को सिजनमा युरोपियन कपको फाइनलमा रियल मड्रिडलाई १–० ले हराएर उपाधि जितेको थियो ।

त्यसपछि सन् २००८–०९ को सिजनमा यी दुई क्लबबिच फेरि भेट भयो । च्याम्पियन्स लिग नकआउट चरणमा भएको भेटको पहिलो लेगमा रियल मड्रिड १–० ले पराजित भयो । दोस्रो लेगमा झन रियलको अवस्था खराब देखियो, उ ४–० ले पराजित भयो ।

तर पछिल्लो पटक सन् २०१४–१५ को सिजनमा भने रियलको दबाब लिभरपुलमाथि रह्यो । समूह चरणको पहिलो भेटमा रियलले ३–० को तथा दोस्रो भेटमा १–० को जित निकाल्यो ।

झण्डै साढे तीन वर्षपछि दुई टिमबिच फेरि भेट हुँदैछ त्यो पनि फाइनलमा ।

गएको वर्षको विजेता रियल मड्रिडका लागि यो प्रतिस्पर्धा उपाधि बिहीन नबन्ने र आफूलाई युरोपको बादशाह बनाइरहने मौका हो । यस्तै सन् २००७ पछि पहिलो पटक फाइनलमा पुगेको लिभरपुलका लागि उपाधिमा फर्किने अवसर ।

लिभरपुलले सन् २००७ मा फाइनल खेलेको थियो । तर त्यसमा मिलानसँग २–१ ले हारेर लिभरपुल उपाधिबाट चुकेको थियो ।

विगत

युरोपियन कपको फाइनलमा रियल मड्रिडको यो १६ औँ सहभागिता हो । यसअघि भएका १५ फाइनलमा १२ मा जित निकालेको रियल मड्रिड तीन फाइनलमा भने पराजित भएको थियो । पछिल्लो पटक गएको सिजन युभेन्टसलाई ४–१ ले हराएर रियल मड्रिड युरोपियन च्याम्पियन बनेको हो ।

लिभरपुलको कुरा गर्दा यो उसकाो आठौँ फाइनल यात्रा हो । यसअघि भएका सात फाइनलमा पाँचमा जित तथा दुईमा हार बेहोरेको छ । पछिल्लो पटक सन् २००७ मा मिलानसँग २–१ ले हारेको थियो लिभरपुल ।

रोनाल्डो भर्सेस सालह

किएभमा हुने फाइनललाई लिभरपुल भर्सेस रियल मड्रिड जस्तै सालह भर्सेस रोनाल्डोको रुपमा पनि लिइएको छ ।

यो सिजन निकै उच्च फर्ममा रहेका साहलले रोनाल्डोलाई माथ दिने कतिको विश्लेषण छ भने घरेलु लिगमा जे भए पनि च्याम्पियन्स लिगमा उच्च स्तरमा रहेका रोनाल्डोले फेरि एक पटक आफूलाई युरोपको बलियो खेलाडीका रुपमा प्रस्तुत गर्ने पनि देखिन्छ ।

रोनाल्डोल यो सिजन अहिलेसम्म च्याम्पियन्स लिगमा १५ गोल गरिसकेका छन् । सालहले भने १० गोल गरेका छन् । तर घरेलु लिगमा भने सालहले ३२ गोल गरेका छन् भने १० गोलका लागि सहयोग गरेका छन् । रोनाल्डोले ला लिगामा २६ गोल गरेका छन् भने पाँच गोलका लागि सहयोग गरेका छन् ।

फाइनलमा रियल मड्रिडका लागि रोनाल्डोसहित करिम बेन्जिमा, ग्यारेथ बेल, मार्सेलो, सर्जियो रामोससहितका खेलाडी महत्वपूर्ण छन् । यस्तै लिभरपुलका लागि सालहसहित रोबर्टो फिरमिनो, जेम्स मिल्नरसहितका खेलाडी महत्वपूर्ण छन् ।

जेठ ११, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्