ट्रम्पले किमसँगको वार्ता रद्द गरेपछि उत्तर कोरियाले के भन्यो ?

उत्तर कोरियाले अझै पनि आफू वार्ताका लागि तयार रहेको बताएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आउँदो जुन १२ मा सिंगापुरमा हुने भनिएको उत्तर कोरियाका नेता किम जोङ–उनसँगको वार्ताका रद्द गरेपछिको प्रतिक्रियामा उत्तर कोरियाले यो निकै दुःखद कुरा रहेको भन्दै अझै कुनै पनि समय र कुनै पनि स्तरमा वा स्वरुपमा वार्ताका लागि तयार रहेको बताएको छ ।

निकै प्रयास गरेर तय भएको वार्ता रद्द हुनु दुःखद रहेको उत्तर कोरियाले जनाएको छ ।

उत्तर कोरियाको तर्फबाट थाम्नै नसकिने क्रोध र खुला रुपमा शत्रुता प्रदर्शन भएकाले वार्ता रद्द गरेको अमेरिकी राष्ट्रपति ट्रम्पले बताएका छन् ।

हुने भनिएको ट्रम्प–किम वार्ताले कोरियाली प्रायद्विपमा परमाणु हतियारका कारण उत्पन्न तनाव कम गर्ने अपेक्षा गरिएको थियो । वार्ता भएको भए कार्यालयमै रहेका बेला उत्तर कोरियाका नेतालाई भेट्ने पहिलो अमेरिकी राष्ट्रपति बन्ने थिए ट्रम्प ।

प्योङ्ग-री क्षेत्रको टनेल ध्वस्त हुनु अघिको स्याटेलाइट इमेज । तस्बिर : रोयटर्स

उत्तर कोरियाको सरकारी समाचार संस्थाले जारी गरेको उप–विदेश मन्त्री किम किइ ग्वानको वक्तव्यमा आफ्नो देशले ट्रम्पसँगको वार्ताका लागि उच्च सम्मानका लागि तयारी गरेको उल्लेख गरिएको छ ।

वक्तव्यमा भनिएको छ, ‘हामीले अमेरिकालाई फेरि एकपटक भनेका छौँ कि हामी समस्या समाधानका लागि कुनै पनि समय र कुनै पनि तरिकाले वार्ताका लागि तयार छौँ ।’

सन् २०१७ भर ट्रम्प र किम एकअर्काको उछितो काट्नमा तल्लिन देखिए । तर सन् २०१८ लागेपछि सम्बन्ध सुधार तथा न्यानो बन्दै गएको देखियो । वार्ताको तयारी भयो ।

माइक पोम्पेओ पहिलो सिआइएको निर्देशक हुँदा गोप्य रुपमा र विदेश मन्त्री बनेपछि औपचारिक रुपमा नै उत्तर कोरिया पुगे र वार्ताको तयारी गरे । उत्तर कोरियाले आफ्नो देशमा बन्धक रहेको तीन अमेरिकी नागरिकलाई रिहा गर्‍यो । तर अहिले आएर फेरि वार्ता रद्द भएको छ ।

उत्तर कोरियाले आफ्नो एकमात्र परमाणु परीक्षण क्षेत्रको सुरुङ्ग ध्वस्त पारेको खबर आएको केही घण्टा भित्र ट्रम्पले वार्ता रद्द गरेका हुन् ।

जेठ ११, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्