१३ वर्षदेखि बन्द साँफेबगर विमानस्थलमा आज विमान पुग्यो

माओवादीले ध्वस्त बनाएको साँफेबगर विमानस्थल। फाइल तस्बिर

अछाम- विगत १३ वर्षदेखि बन्द रहेको अछामको साँफेबगर विमानस्थलको शुक्रबार परीक्षण उडान गरिएको छ।

विमानस्थलको कालोपत्रे, रनवेलगायतको काम सम्पन्न भएपछि शुक्रबार समिट एयरको १९ सिटे विमानले प्राविधिक परीक्षण गरेको हो।

समिट एयरको जहाज बिहान १०ः३० बजे हुम्लाको सिमिकोटबाट साँफेबगर विमानस्थल साँफेबगर विमानस्थलमा अवतरण भएको थियो। विमानका चालक एडी शेर्पाले उडानका लागि साँफेबगर विमानस्थल निकै उपयुक्त विमानस्थल रहेको प्रतिक्रया दिएका छन्।

‘यो विमानस्थल उडानका लागि उपयुक्त छ,’ उनले भने।  ‘नेपाल नागरिक उड्डयन प्राधिकरणलाई दुई दिनमा प्रतिवेदन बुझाउने छु। यदि सम्झौता भए यही विमान यहाँ उडान भर्न तयार छ।’

तत्कालीन विद्रोही माओवादीले २०५८ फागुन ४ गते साँफेबगर विमानस्थलको टावर ध्वस्त बनाएको थियो। बीचमा केही समय विमानस्थल सञ्चालन आए पनि पुन २०६२ सालदेखि पूर्णरूपमा बन्द विमानस्थल गौचरनमा परिणत भएको थियो।

निर्माण जिम्मा पाएको अमर कन्स्ट्रक्सनले निर्माणको काम करिब पूरा भएको बताएको छ। विमानस्थलको ५५० मिटर लम्बाइ र २० मिटर चौडाइ भागमा कालोपत्रे गरिएको छ। विमानस्थलको भ्याटसहित रु ११ करोड ५० लाखको लागतमा कालोपत्रे भएको हो।

साँफेबगर नगरपालिकाका प्रमुख कुलबहादुर कुँवरले विमानस्थल सञ्चालनमा आएपछि जनतामा निकै उत्साह र आशा पलाएको बताए।

‘आज अछामी जनताको लागि निकै खुशीको दिन हो,’ उनले भने, ‘अब हप्तामा दुई वा तीन उडान भर्नका लागि पहल गर्ने छु। न्यूनतम् टिकटमा यहाँका जनतालाई सेवा उपलब्ध गराउने प्रयासमा छु।’

पहाडी क्षेत्रका विमानस्थलमध्ये साँफेबगर विमानस्थल विमान अवतरणका लागि सबैभन्दा उपयुक्त मानिएको छ। प्रदेश नं ७ को दुईवटा विमानस्थल रहेको एक मात्र पहाडी जिल्ला अछाम हो।

अछामको मुख्य व्यापारिक केन्द्र साँफेबगर र कमल बजारमा गरी दुई स्थानमा विमानस्थल छन्। जिल्लामा दुईवटा विमानस्थल भए पनि कुनै पनि सञ्चालनमा नहुँदा स्थानीयवासीले लाभ लिनसकेका छैनन्।

विमानस्थल सुचारु भए आवतजावतमा सजिलोका साथै विमानस्थल सुचारु भएपछि उपचार नपाएर अकालमै ज्यान गुमाउनु पर्नेमा कमी आउने स्थानीयवासीको बुझाइ छ।

विसं २०२४ मा निर्माण शुरु भएको साँफेबगर विमानस्थल २०३२ सालबाट सञ्चालनमा आएको थियो। २०४४ सालदेखि २०५८ सालसम्म साँफेबगर विमानस्थल निरन्तर सञ्चालनमा रहेको थियो। तर, कमलबजार विमानस्थल सञ्चालनका लागि भने कुनै पनि पहल नहुँदा गौचरनमा परिणत भएको छ।

जेठ ११, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्