ढुङ्गेल विरुद्धको रिटमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी

बालकृष्ण ढुंगेल

काठमाडौं- कर्तव्य ज्यान मुद्दामा आजीवन कैद सजाय काटिरहेका बालकृष्ण ढुङ्गेलको आचरण ठीक भएको भन्दै कारागार व्यवस्थापन विभागले गरेको कैद मिनाहाक‍ो सिफारिस बिरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा कारण देखाऊ आदेश जारी भएको छ।

सर्वोच्च अदालतका न्यायाधीश दीपककुमार कार्कीको  एकल  इजलासले कारण देखाउ आदेश जारी गर्दै आगामी आइतबार बिपक्षीलाई समेत छलफलका लागि बोलाएको छ।

बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले ढुङ्गेललाई आम माफी दिनु संविधानको धारा १६ को सम्मानपूर्वक बाँच्न पाउने र धारा २१ को अपराध पीडितको हक विपरीत भएको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए।

रिट निवेदनमा कारागार व्यवस्थापन विभागको सिफारिस संविधानको धारा १३३ को उपधारा २ अनुसार उत्प्रेषणको आदेशद्वारा बदर गर्दै ढुङ्गेललाई आम माफी दिने सरकारको तयारी प्रतिषेधको आदेशबाट रोक्न माग गरिएको  थियो।

सर्वोच्चले बिपक्षी प्रधानमन्त्री कार्यालय, राष्ट्रपति कार्यालय, गृह मन्त्रालयसँगको छलफलपछि मात्र अन्तरिम आदेश जारी गर्नुपर्ने नपर्ने टुङ्गो लगाउने  बरिष्ठ अधिवक्ता त्रिपाठीले जानकारी दिए।

जेठ ११, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्