५० वर्षभन्दा बढी योगदान गरेका चार सेफहरु सम्मानित

काठमाडौं– होटल व्यवसाय क्षेत्रमा करिब ५० बर्ष योगदान दिएका ४ जना बरिष्ठ सेफहरुलाई सम्मान गरिएको छ।

ललितपुरको सातदोबाटोमा रहेको कलेज अफ इन्टरनेशनल होटल मेनेजमेन्ट (आइएचएम)ले कलिनरि टुरिजमका क्षेत्रमा अनवरत योगदान पुर्‍याउने पहिलो पुस्ताका ४ जना बरिष्ठ सेफहरुलाई शुक्रबार एक बिशेष समारोहका बीच सम्मान गरेको हो ।

यसरी सम्मानित हुनेहरुमा सन् १९९७ मा विश्वका उत्कृष्ट ५ सेफहरुमा पर्न सफल सेफ गणेश श्रेष्ठ, सन १९९१ मा होटल हिमालयको एक्जुकेटिभ सेफ तथा हाल प्राध्यापन पेशामा सक्रिय केदार सिलवाल, होटल मल्लमा ३० वर्ष सेवा गरी एक्जुकेटिभ सेफ भएका रामकृष्ण पन्त तथा सेफ एसोसिएसनका सस्थापक तथा होटल शेर्पामा १७ बर्ष एक्जुकेटिभ रहेका हाल प्राध्यापन क्षेत्रमा क्रियाशील सेफ पुष्प थापा मगर छन्।

सन् ६० को दशकमा होटल लाइन प्रवेश गरी निरन्तर नेपालको होटल, हस्पिटालिटी र पर्यटनका क्षेत्रमा करिब ५० वर्ष निरन्तर क्रियाशील  उनीहरुलाई कलेजका सल्लाकार एवम् नेपालको पहिलो एक्जुकेटिभ सेफ गोबिन्द नरसिंह केसी र कलेजको फाउन्डर एवम् सिइओ सुराच प्रसाईले सयुक्त रुपमा सम्मान गरेका हुन्।

सम्मानित हुने चारै जना सेफहरुले सोल्टी क्राउन प्लाजाबाट व्यवसायिक जीवन सुरु गर्दाताका साथीहरुलाई पुर्नमिलन गराएकोमा आभार प्रकट गरे।

कलिनरी टुरिजमको पहिलो पुस्ताको योगदानको कदर र नयाँ पुस्तासँग परिचित गराउने उदेश्यले उनीहरुलाई सम्मान गरिएको आयोजकले जनाएको छ।

उक्त अवसरमा लण्डनमा रहेर हाल व्यवसाय गरिरहेका सेफ श्रेष्ठले आफुहरुले गरेको मेहनत र संघर्ष स्मरण गर्दै यो क्षेत्रमा आउने युवा पुस्ताका लागि असिमित सम्भावना रहेको औँल्याए।

जी एट सदस्य राष्ट्रका राष्ट्र प्रमुख र सरकार प्रमुखलाई सेवा दिने अवसर पाउनु आफ्नो जीवनकै सबै भन्दा ठूलो उपलब्धि भएको उनले बताए।

त्यस्तै सेफ पन्तले आफूले ५० वर्ष यो क्षेत्रमा काम गरेपनि अझै युवा अवस्थाको जस्तै जोस र जाँगर रहेको बताए। अहिले यस क्षेत्रमा लाग्ने युवाहरुका लागि सिक्ने र आफूलाई अब्बल साबित गर्ने धेरै मौका रहेको भन्दै हातमा सीप भएपछि कहिले बेरोजगार हुन नपर्ने धारणा राखे। आफू सँगैका साथीहरु विदेश पलायन भई धेरै उपलब्धि हासिल गरेको स्मरण गर्दै सेफ पन्तले आफू देशको मायाले कतै जान नसकेको उल्लेख गरे।

हाल प्राध्यापन पेशामा सक्रिय सेफ सिलवालले यस क्षेत्रमा आउने बिद्यार्थीहरुमा सधै नयाँ कुरा सिक्ने जाँगर हुनु पर्ने भन्दै राम्रो सिप सिक्न सके स्वदेशमै सेफहरुले २ लाख सम्म मासिक आम्दानी गर्न सक्ने सम्भावना रहेको बताए।

उक्त अवसरमा आइएचएम कलेजको झण्डा लिएर सगरमाथाको सफल आरोहण गर्न सफल आरोही राकेश लामालाई समेत सम्मान गरिएको थियो।

कलेजका सिइओ प्रसाईले पहिलो पुस्ताका सेफलाई एउटै मञ्चमा सम्मान गर्न पाउँदा समग्र कलिनरी क्षेत्र नै सम्मानित भएको बताउँदै भान्छे र भाडा माझ्ने काम हो भन्ने मानसिकताबाट माथि उठ्न सक्नु पर्ने उल्लेख गरे।

उक्त अवसरमा डिप्लोमा कोर्समा भर्ना लिएका नयाँ ब्याचका विद्यार्थी र उनीहरुका अभिभावकहरुलाई अभिमुखीकरण समेत गरिएको थियो।

जेठ ११, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्