उपचारका क्रममा दुई बिरामीको मृत्यु भएपछि तनाव

मोरङ- विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचारका लागि भर्ना गरिएका दुई बिरामीको मृत्यु भएपछि शुक्रबार अवस्था तनावपूर्ण बनेको छ। टाउकोमा समस्या देखिएपछि भर्ना गरिएकी झापा निवासी सविता राई र आन्द्राको उपचारका क्रममा भर्ना गरिएकी चैता मण्डलको मृत्यु भएपछि स्थिति तनावपूर्ण बनेको हो।

गत बिहीबार आन्द्राको शल्यक्रिया गरिएको मण्डलको एक सातापछि शुक्रबार बिहान मृत्यु भएको हो। मण्डलका आफन्त सुरजकुमार मण्डलले आन्द्रामा घाउ भएको भन्दै चिकित्सकले सुझाव दिएपछि एक साताअघि शल्यक्रिया गरिएको बताए। शल्यक्रिया गरिएपछि बिरामीको अवस्था झन् बिग्रिएको भन्दै भेन्टिलेरमा राखेर थप उपचार सुरु गरिएको उनले बताए। उनले भने, ‘शल्यक्रियाले छातीमा संक्रमण बढेको जनाउँदै हिजो बिहीबार पुन दोस्रो पटक शल्यक्रिया गरिएको थियो।’

बिहीबार शल्यक्रिया गरिएको चैताको शुक्रबार बिहान मृत्यु भएको हो। मण्डलका आफन्तले चिकित्सककै लापरवाहीले एउटा बिरामीको दुईपटकसम्म शल्यक्रिया गर्नुपरेको र मृत्यु भएको आरोप लगाएका छन्। त्यसैगरी सुरजले उपचारका क्रममा १ लाख ५३ हजार रुपैया खर्च तिर्नुपरेको दुखेसो गरे।

त्यसैगरी बिर्तामोड निवासी ३० वर्षीया राईलाई टाउको र ज्वरोको समस्या देखिएपछि उपचार गर्ने क्रममा आफन्तले बिहीबार अस्पतालमा भर्ना गरेका थिए। उनको उपचारकै क्रममा बिहीबार मृत्यु भएको थियो। उनका आफन्तले भने उपचारमा हेल्चेक्र्याइँ र चिकित्सकको लापर्वाही भएको आरोप लगाएका छन्। सो क्रममा राईको शव बुझ्न नमानेका आफन्त दिलबहादुर राईले भने, ‘चिकित्सकको लापर्वाहीमा सविताको मृत्यु भएको र अस्पतालविरुद्ध आफूहरु आन्दोलनमा होमिएका छौँ।’

उनले भने, ‘बिरामी भर्ना गरेपछि उपाचारका क्रममा अपरान्ह ४ बजे चिकित्सकले औषधी दिएको केही समयमा नै राईको मृत्यु भएको हो।’

बिरामी अवस्थामा अस्पतालमा भर्ना गरेको धेरै समयसम्म चिकित्सक बिरामीलाई चेकजाँच गर्न नआएको आफन्तको आरोप छ। उनीहरुका अनुसार बिरामीलाई सुइ लगाइदिएपछि अवस्था झन् बिग्रँदै गएको थियो।

सविताका आफन्तले अस्पतालको लापरवाही रोकिनु पर्ने, दोषी चिकित्सकमाथि कारवाही हुनुपर्ने र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने लगायतका मागसहित आन्दोलन गरेका छन् । शुक्रबार दिउँसो अस्पताल प्रशासन र मृतकका आफन्तबीच भएको बार्ता पनि निस्कर्ष विहीन बनेपछि परिवारका सदस्य र आफन्तले शव जिम्मा लिन मानेका छैनन्।

यता अस्पतालका प्रबन्धक नारायण दाहालले उपचारमा चिकित्सकले कुनै पनि लापरवाही नगरेको प्रस्टोक्ति दिए। अस्पतालले सविताको मृत्यु हृदयाघातका कारण भएको र चैताको मृत्यु पारिवारिक लापरवाहीका कारण भएको दाबी गरेको छ।

जेठ ११, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्