दुर्गम बाजुराको चिन्ता

घरमा पाहुना आउनै छाडे हजुर, लक्षिनै पो गयो कि!

कुराको मेलो बस्दै थियो। पलाउँदै गरेको जुँगा, मिलेका कत्ति छैनन् तर असाध्यै सुहाएको थियो मिनबहादुर साउदलाई।

भर्खर उमेरले दुई दशक भएका तर गाडी चलाउने, डरलाग्दो बाटोमा। डर अनि उनकै भरमा धेरैले आफ्नो गन्तव्य भेट्टाएका छन्। मलाई भने उनको कुरामा मैले खोजेका कथाहरुको एउटा प्लट भेटिए जस्तो लाग्दै थियो।

लाज छोरीलाई मात्रै होइन छोरालाई पनि लाग्छ। अझ ड्राइभरलाई लाजै लाग्दैन भन्नेहरु कति भेटिन्छन् कति। तर मिनबहादुर लाज मान्दै थिए। कुरो खोतल्दै जाँदा उनी अघिल्लो दिन मात्रै घरमा जुम्ल्याहा छोराको न्वारन गरेर आएका रैछन्। २० वर्ष भएर के, उनी दुई सन्तानका बाउ भइ सके। नाम राखेका रैछन्, लव कुश।

अछाम घरमा सुत्केरी श्रीमती राम्रै छन् भन्दै थिए मिनबहादुर। उनकै कुरा सुनिरहेको मलाई नजिकै बसेर कुरा गर्दै गरेका बाको कुराले तान्यो।

मिनबहादुर साउद। सबै तस्बिरहरु: टंक ढकाल

मिनबहादुर खुशीमा थिए, नजिकै बोल्दै गरेका बा चिन्तामा। तर उनको चिन्ताले मलाई भने रोमाञ्चित बनायो।

‘अचेल भोलि त घरमा पाहुना आउनै छोडे, घरको लक्षिनै पो गएको हो कि, के हो के हो ? पाहुना नआएको महिनौँ भइसक्यो’, ती बा भन्दै थिए।

यसो भनिरहँदा उनको चाउरिँदै गरेको निधारका धर्साहरुमा अनौठो चिन्ता थियो । मलाई भने उनको चिन्ताले अचम्ममा पारेको ।

मिनबहादुरसँगको कुरा हतारमै निप्ट्याएर नजिकै सरेँ बा भएतिर।

‘समय फेरिन्छ भन्थे, हो रैछ क्यार । न पाहुना आउँछन् । न बात मार्न पाइन्छ न सुन्न पाइन्छ । मिठो मसिनो, रुखो सुखो बाँडेर खान पनि पाइएको होइन । फेरिए छ जादै समय’, नजिकै बसेका अर्का बा सँग कुरा गर्दै थिए उनी ।

हामी कसैकोमा एक दिन बस्न जानु पर्दा अर्काकोमा जानै नपरे हुन्थ्यो भन्छौँ । घरमा आएकालाई मुखले त ठिक्क पारौँला तर मनमनै कहिले जालान् वा किन आएका होलान् भन्छौँ।

यहाँ त कुरो उल्टो, बास माग्न आउने जति सबै आफ्ना वा आफ्ना भन्दा पनि प्यारा । तर समस्या के भने अचेल पाहुना आउनै छोडे ।
त्यसपछि कुरो नगरी भएन भनेर नाम सोधेँ ।

बालाराम खड्का

बालाराम खड्का र अन्य गाउँले।

उमेर अघि मैले कुरा गरेका मिनबहादुरको भन्दा दुई बिस बढी अर्थात ६० वर्ष । देख्दा हट्टाकट्टा नै छन् । तर उनी आफूलाई डाँडो भन्दा अलि तल झरेको घामजस्तै भन्दै थिए ।

मैले पाहुना नआएर परेको पिरको कुरो फेरि उप्काएँ । बालाराम बा त्यसपछि फेरि सुरु भए, ‘कहाँ, अचेल त सबै पैसामै खपत भए । कोही आउँदैनन् । मेरामा मात्रै नआएका हुन् कि भनो, ओल्लापल्ला घर पनि पाहुना आएको चालचुल पाएको छैन । धेरै भयो, नयाँ मान्छेले बास माग्न नआएको । घरै सुनो लाग्न थालिसक्यो ।’

उनले भन्दै गए । कहिले टनकपुर नुन बोक्न गएको, कहिले भात खान पाउँदा रमाएको त कहिले गाई भैँसी चराएका कुराहरु । ति सबैमा उनका घरमा पाहुना आउने र उनीहरुका कुरा सुन्ने, उनीहरुलाई आफ्ना कुरा सुनाउने क्रम कहिले टुटेन ।

अहिले जीवनको ६० हिउँद बर्खा काटेर यहाँसम्म आइपुग्दा धेरै कुरामा सजिलो भएको छ । तर मन रमाउने कुरो भने हराउँदै गयो, पाहुना ।
‘जस्तो माग्यो त्यस्तै गफ गर्छु । बुढासँग बुढै जस्तो । केटाकेटी, ठिटा तरुनासँग उनीहरुकै जस्तो, खपत हुने कुरो गर्छु । तर के गर्नु कुरा गर्न पाइएकै होइन । धेरै भयो पाहुना आएकै छैनन्’ उनले भने ।

खासमा खपत हुने कुरो भनेको बिक्ने कुरा रे । उनलाई आफ्ना कुरा बिकेको अर्थात अरुले सुनिदिएको अनि उनीहरुबाट पनि नयाँ कुरा सन्न पाएको रमाइलो लाग्ने । जस्तो मान्छे उस्तै कुरा गर्ने बालाराम ।

पाहुना आउँदाका केही रमाइला कुरा पनि सुनाए उनले । कोही कोही त खाने, त्यसपछि सुतिहाल्ने । उनलाई सुतिहाल्ने पाहुना त्यति निको लाग्दैन । पिर चिन्तामा परेका छन् वा शरीरमा आराम छैन भने त सुत्न दिन्छन् रे । होइन भने लामो समय बातमारेर बस्नु पर्ने ।

बालारामसँग त्यसको उपाय पनि छ, शरीर र मनमा निको हुँदाहुँदै पनि चाँडै सुत्ने पाहुनालाई आफ्ना कुरा सुनाउन र उनीहरुका कुरा सन्नका लागि ।

‘निदाउन थाले भने म अलिबेर कुरा नगरी राम्रो लुगानै दिन्न । कुरा सकिएपछि मात्रै न्यानो लुगा दिने । अनि त भइहाल्यो नि’ उनी हाँस्दै भन्दै थिए ।

यसरी भातभान्छा पछि पाहुनासँग .गफिन नपाएको धेरै भयो बालारामले । ‘पहिला साग सिस्नो, आटो पिठो हुँदा त कति आउँथे आउँथे ।

अहिले त कोही आउँदैनन् । सबै थोक छ तर पाहुना छैनन् बाबु अहिले गाउँमा’, अघिसम्म हाँस्दै गरेका बालारामको अनुहारमा फेरि चिन्ताको अँध्यारो छायो ।

बालाराम खड्का।

पाहुना संस्कार हराउँदै जानुमा पैसा दोषी हो कि जस्तो लाग्छ उनलाई । ‘अहिले त जे पनि पैसा तिरे आइहाल्छ । खान पैसा तिरे भयो । बस्न पनि पैसा तिर्नु पर्ने । पैसा आउने भएपछि बसाल्नेको पनि मनमा लोभ पलायो । बस्न आउनेहरुलाई पनि भने जस्तो सुविधा चाहियो । सुख दुःखका कुरा, बाँडिचुडी वा आलोपालो त हराउँदै गयो’ उनले भने, ‘हाम्रा पालामा आफू पनि पाहुना लागियो । अरुलाई पनि कति बसालियो । अहिले त खै, दिन ढल्किँदै जान्छ म बाटो हेर्दै बस्छु तर कोही आउँदैनन् ।’

पाहुनाको यस्तो माया गर्ने बालाराम बासँग मध्य वैशाखमा बाजुरा गएका बेला भेट भएको हो । रजाली गाउँका बालाराम बासँग पाहुना गफ गरेको ठाउँ हामी खाना खानका लागि पुगेको सानो गाउँको होटल थियो ।

संयोगले त्यो होटल उनकै छोराले चलाएका रैछन् । छोराले होटल चलाएर के भो, उनीले माथि डाँडामा रहेको शेरगाउँको घरबाट ठेकीभरी मोही लिएर आएका थिए । छोराकै होटल अगाडि गर्मीले धापिएका बटुवालाई सोधी सोधी मोही खुवाए ।

मसित कुरा गरे । सायद रमाइलो लागेछ क्यारे, ‘कि बाबु जाउँ आज मेरै घर, जे छ खाउँला, धित मरुन्जेल बात मारौँला’ भने ।

मैले उनको कुरा स्वीकार त गरिन तर अस्वीकार पनि गरिन ।

‘अहिलेलाई यस्तै भयो बा, अर्को पटक पक्का पाहुना बनेर आउँला । अनि अली समयलाई पुग्ने गरी बात मारौँला’ भन्दै बिदा भएँ रजालीमा भेटिएका रसिला बा बालाराम खड्कासँग ।

जेठ १२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्