उत्तर कोरिया र दक्षिण कोरियाका शीर्ष नेताबिच आकस्मिक भेटवार्ता

उत्तर कोरिया तथा दक्षिण कोरियाका नेताबिच आकस्मिक रुपमा भेटवार्ता भएको छ । उत्तर कोरिया नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनबिच दुई देशको सीमा क्षेत्रमा भेटवार्ता भएको हो ।

उत्तर र दक्षिण कोरियाको सीमा क्षेत्रमा रहेको डिमिलिटराइज्ड क्षेत्रमा भेटवार्ता भएको हो । दुई देशका शीर्ष नेताबिच भएको यो दोस्रो वार्ता हो ।

यसअघि गएको अप्रिलको अन्तिममा यी दुई नेताबिच पहिलो पटक भेटवार्ता भएको थियो र सम्बन्ध सुधारका लागि प्रयास गर्ने सहमति पनि बनेको थियो । तर झण्डै दुई हप्ता अघिका लागि तय भएको फलोअप वार्ता भने उत्तर कोरियाले रद्द गरेको थियो ।

दक्षिण कोरिया र अमेरिकाले गरेको संयुक्त सैन्य अभ्यासबाट निराश भएको उत्तर कोरियाले वार्ता रद्द गरेको थियो । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार किमसँगको वार्ता रद्द भएको घोषणा गरेपछि शनिबार उत्तर र दक्षिण कोरियाका नेताबिच आकस्मिक रुपमा भेटवार्ता भएको हो ।

ट्रम्प र किमबिच आउँदो जुन १२ मा सिंगापुरमा वार्ता हुने भएको भएको थियो । तर ट्रम्पले वार्ता रद्द गरेका छन् । अहिले फेरि उनले वार्ता हुन सक्ने संकेत पनि दिएका छन् । यहि बिचमा दुई कोरियाका नेताबिच भएको वार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

वार्ता उत्तर कोरिया तर्फको पानमुनजोममा भएको हो । वार्ता नेपाली समय अनुसार शनिबार दिउँसो पौने १२ बजेदेखि पौने दुई बजेको बिचमा भएको दक्षिण कोरियाका राष्ट्रपति मुनको कार्यालयले जनाएको छ ।

जेठ १२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्