मेरो माटो, मेरो चन्दन (अनुभव र अनुभूतिको श्रृंखला- १७)

बेलायतमा मैले रेसिस्ट षड्यन्त्र पनि भोग्नुपर्‍यो

खोला तरिसकेपछि स्कूलको हेडमास्टरलाई भेट्न गएँ म। आफूले बेलायत पास गरेर आएको जाँचबारे संक्षेपमा बताएँ। हेडमास्टरले पहिलोपल्ट एक्सप्रेस गर्नुभयो, ‘मलाई थाहा छ, तपाईं स्कूलमा ल्याएको नम्बरभन्दा धेरै बलियो हुनुहुन्छ। तपाईको मूल्यांकन ठीक भएको छैन भन्ने मलाई थाहा थियो।’

त्यो स्कूलबाट जानेमध्ये, त्यो लेबलको पोस्ट ग्र्याजुएट ट्रेनिङ सिध्याउने म नै थिएँ पहिलो, त्यसपछि अरुले गरे, प्रधानाध्यापक खुसी हुनुभयो। एक किसिमले एडमिट गर्नुभयो, पब्लिकली हैन, मसँग मात्रै। ‘उपेन्द्रले अलि मेहेनत गर्‍यो भने कसैले पनि सक्दैन ऊसँग, उहाँले अरुसँग पनि भन्ने गर्नुहुन्थ्यो। ‘जति मेहनत गरे पनि किताबको घोकेर लेख्ने बानी छैन मेरो।’ आफ्नो ओरिजिलन लेख्दा नम्बर काटिन्थ्यो। क्रियटिभ थिकिंङ्गलाई मार्ने खालेको पढाइ थियो त्यो बेलाको। म क्रियटिभ थिकिंङ्गमा विश्वास गर्ने मान्छे। त्यही कुरा आज एक तरिकाले लेख्छु, भोलि अर्को तरिकाले लेख्छु। बारम्बार एउटै कुरा गरे मोनोटोनस भइहाल्यो नि। यस्तो क्रियटिभिटीलाई ध्वस्त पार्ने खालको सिस्टममा मेरो धेरै नम्बर आउने सम्भावना नै थिएन। बेलायतमा गएपछि मैलै आफैँलाई एक्सप्लोर गरेँ। नम्बरले जज गरेको भन्दा म धेरै माथि रहेछु भन्ने मैले सावित गरेँ। बेलायती सिस्टमको तीन प्रतिशत टप स्टुडेन्टभित्र पर्न सक्नु चानचुने कुरा थिएन।

विज्ञापन

एक महिना जति छुट्टी बिताएर लण्डन फर्केँ। साथमा राघव दाइको बुवालाई लिएर गएँ। उहाँ चाहिँ छोरालाई भेट्न जाने, साथमा लिएर गएँ। नेपालबाट लैजाने बुढाबुढीलाई अरु भन्दा पनि इस्कालेटरमा गार्‍हो हुने। बल्लबल्ल पुर्‍याएँ। पुगेको ३ दिनजति म राघव दाइकै घरमा बसेँ। उहाँको बुवासँग दिनभर गफ गरेर बस्यो, साँझमा पार्कतिर घुम्न निस्किने रुटिन जस्तै बन्यो। बेलायतको सिस्टम बुझ्नुभएछ, अलिअलि दुध पनि खानुभएछ। एकदिन मलाई भन्नुभयो, ‘हैन बाबु, रामायणमा रामराज्य भन्थे, बेलायत त रामराज्य नै रहेछ कि के हो? सबैकुरा सरकारले हेर्छ, दुध पनि कति मिठो, प्रदूषण नभएको। सबै कुरा सरकारले जिम्मा लिने, बेरोजगारलाई पनि सरकारले हेर्ने, घर नभएकालाई घर दिने, स्वास्थ्य सेवा निशुल्क सरकारले गर्दिने। रामराज्य रहेछ नि!’ उहाँको राम्रो असेसमेन्ट थियो सोसल सिस्टमको।

मैले लण्डनमा काम गर्न सुरु गर्ने अघिल्लो दिनमा माइतबाट बिदा गर्न लागेको छोरीजस्तो दाइहरु त बिदा गर्न नै नचाहने। भोलि बिहान ८ बजेदेखि काम गर्नु छ। अघिल्लो दिन खानासाना खाएर १० बजे बल्ल इस्ट लण्डनबाट निस्केँ। राघव दाइले ड्रप गर्नुभयो। बा पनि छोड्न जानुभयो। दोस्ती बनिसकेको थियो, लामो समय सँगै बस्दा। राति ११ बजे मलाई ड्रप गरेर फर्कनुभयो। अनि आफ्नो क्वाटरमा सुतेँ।

 नम्बरले जज गरेको भन्दा म धेरै माथि रहेछु भन्ने मैले सावित गरेँ। बेलायती सिस्टमको तीन प्रतिशत टप स्टुडेन्टभित्र पर्न सक्नु चानचुने कुरा थिएन।

त्यसपछि मलाई बुझ्न कत्ति पनि समय लागेन कि एट्किन्सन मोर्ले त धुनधानको यातना गृह पो र’छ त, त्यै भएर त्यहाँ कोही पनि तग्दो रहेनछ। भोलिपल्ट म सामान्य दिनजस्तै नौ बजे काम सुरु हुने हुनाले साढे ८ बजेतिर जाने हिसाबले भनेर ७ बजे उठेर नुहाउँदै थिएँ ‘सावर’ मा। मेरो फोन आयो अप्रत्यासित। पछि विचार गर्दा त्योचाहिँ डेलिबरेट नै थियो कि जस्तो लाग्छ। फोन उठाएँ, त्यो अस्पतालको स्वीचफोर्डबाट आएको रहेछ। सिनियर रजिस्ट्रारले मलाई खोज्नु भएको सन्देश पाएँ।

सिनियर रजिस्ट्रारले फोन लिएपछि, सुरुमा नै अपोलोजाइज गर्नुभयो। ‘सरी तपाईँलाई चाँडै उठाएकोमा दुखी छु। तर, विशेष परिस्थिति आइपर्‍यो। तपाईँलाई मिस्टर अट्लीको अन्डरमा काम गर्न राखेको छु मैले। (सिनियर रजिस्ट्रारले रोटा फिक्स गर्ने हो) र, आज मिस्टर अट्लीले मलाई अलि कम्प्लीकेटेड सर्जरी चाँडै सुरु गर भन्नुभयो। म रगतको नशाको गुजुल्टो फ्याँक्नुपर्नेमा। चाँडै सुरु गर्न खोजेको, तपाईँ कष्ट गरेर आइदिनुभयो भने म खुसी हुन्थेँ। सरी अबाउट इट।’ ‘मलाई असिस्ट गर्दिनुस्’ भन्छ, ‘नाइ भन्न भएन।’

क्यान्टिन कहाँ छ, थाहा छैन, खाना कहाँ खाने, थाहा छैन, अघिल्लो दिन राति ११ बजे आएर सुतेको हुँ। नुहाइसकेको थिएँ। त्यसपछि ‘ल भनेँ’ र लुगा लगाएर पुगेँ। हामी दुई जनामात्रै छौँ। एनेस्थेसिस्ट बिरामी सुताउँदै छ, उहाँले सोध्दा पनि सोध्नु भएन, ‘खाना खाएर आइस्, नखाएको भए खाएर आइज, म पोजिसन मिलाउँदै गर्छु’ पनि भन्नुभएन। त्यसपछि आठ नौ बजेतिर केस सुरु भयो, मैले उहाँलाई असिस्ट गरेँ। धेरै कम्प्लिकेटेड निस्कियो, सक्नुभएन। एभी एम (आर्टेरो भेनस माल्फर्मेसन) अर्थात् जन्मदेखि नै मस्तिस्कमा रगतको नशा जुगुल्टो परेको केस ह्याण्डल गर्नु भन्नुभा छ। त्यो फुटेमा बिरामीको मृत्यु हुने खतरा हुन्छ।

सिनियर रजिष्ट्रारले सामान्यतया: ४ बजे राउण्डमा आउने चलन रहेछ। त्यहाँ उभिएको छु, असिस्ट गरेको छु। अघिल्लो दिन लरिस्टन रोडमा राघव दाइको घरमा जे खाएर आएका थिएँ, यसैको भरमा थिएँ। पानी पनि पिएको छैन। अनि साढे तीन, पौने चार भएपछि चाहिँ उहाँले बोलाउनुभयो। ‘डाक्टर अट्लीलाई बोलाइदेऊ मैले निकाल्न सकिन, लेट हिम कम एण्ड टेक ओभर’ भनेर उहाँले हेल्प माग्नुभयो। मिस्टर अट्ली आउनुभयो। ‘तपाईँ गएर राउन्ड गर्नुहोस्, म सिध्याउँछु’ भन्नुभयो।

अट्लीले टेकओभर गरेर फटाफट आधा घण्टामा एभीएम ‘एक्साइज’ सक्नुभयो। अनि मलाई ल ‘क्लोज’ गर भन्नुभयो। ‘क्लोज गर्न एक घण्टा लाग्दो रहेछ। मैले क्लोज गरेर सिद्याउँदा खेरि छ, साढे छ बज्यो। मुख प्याकप्याक, पानी पनि खाएको छैन। पिसाब बन्द भइसक्यो। आइसियूको नर्सहरुले खाने किचनमा स्क्वास पाउँथ्यो। नर्सहरु कन्सिडरेट हुन्छन् जहिले पनि, उनीहरुले मैले केही पनि खाएको छैन भन्ने थाहा पाए र त्यहाँ गएर स्क्वास खानुस् भने। स्क्वास खाएँ, पाउरोटीको एक टुक्रासँगै, त्यो त निलिँदै निलिँदैन। त्यहाँ एउटा स्याउ रहेछ, त्यो पनि दिए। त्यति टोकिसकेपछि राउण्ड सिद्ध्याएर आएका सिनियर रजिस्ट्रार भन्नुहुन्छ, ‘मिस्टर अट्लीको आज ८ ओटा एडमिसन छन् नयाँ, उहाँको टोटल बिरामी २२ जना छन् वार्डमा। उहाँले भोलि राउण्ड गर्नुहुन्छ, तपाईले राउण्डमा प्रेजेन्ट गर्नुपर्ने हुन्छ।’

यो यो बिरामी भर्ना भएका छन्, एउटा चाहिँ अप्रेसन गर्नुपर्ने बिरामी छ। टाउकोमा रगत जमेको, त्यो अहिले नै गर्नुपर्छ। त्यो सकेर समय पाउने बित्तिकै ८ जना नयाँ एडमिसनका र २२ जना बिरामी हेर्नुहोला।

भोलि बिहान ९ बजे मिस्टर अट्लीको राउण्ड हुन्छ। मजा हेर्नुस्, एउटा अप्रेसन गर्न बाँकी नै छ। त्यसपछि आठओटा नयाँ एडमिसन जाँच्न नै बाँकी छ। अनि २२ जना बिरामी के के हुन् त, थाहा पाउनुपर्‍यो।

उहाँहरु जानुभयो, पहिला त्यो एक्स्ट्रा ड्युरल हिमाटोमा अर्थात रगत जमेको बिरामीको अप्रेसन गरेँ। त्यहाँ रजिस्ट्रार बाहेक कोही पनि हुँदैनथ्यो, जुनियरको सपोर्ट छँदै थिएन, सिंगल रजिस्ट्रारले गर्नुपर्ने। त्यसपछि नयाँ ८ ओटा एडमिसन निदाइनिदाई हेरेँ। अनि २२ जना बिरामीको नोट्सहरु हेरे, आइडिया बनाउन। सुत्न गएँ, के निद्रा लाग्छ। खाएको छैन केही पनि। भोलिपल्ट बिहान नुहाईधुवाई गरेर क्यान्टिन खोजेँ, नजिकै रहेछ। क्यान्टिनमा गएर ब्रेकफास्ट खाएर राउण्डको लागि गएँ।

अट्लीले सोध्नुहुन्छ, धेरै थाहा नै छैन, अलिकति भनेँ। सिद्धियो। त्यत्रोबिधि बिरामीको कुरा राति ११ बजे सर्जरी अनि कसले क्याच गर्न सक्छ! त्यो दैवी कुरा मसँग एक्सपेक्ट गर्नुभयो। अट्ली फेरि केही कुरा मनमा राख्दै नराख्ने। बाह्र/चौध जना बिरामी हेरिसकेपछि भन्नुभयो, ‘इन्टरभ्यूको बेलामा धुनधान इम्प्रेसन दिएको थिइस्, के भयो, बिरामीकै बारेमा थाहा नै थाहा रहेनछ तँलाई।’ मैले सिनियर रजिस्ट्रारले यस्तो बदमासी गर्‍यो भन्ने कुरा आएन, ‘मलाई खान नै दिएन, बिहान चाँडै बोलाइदियो।’ आफू पनि कतिको लायक रहेछ नि, बिहान ८ बजेदेखि ४ बजेसम्म जाबो एभिएम निकाल्न नसक्ने।

अट्लीले आएर कमेन्ट गर्नुभयो, स्क्रब गर्ने बित्तिकै ह्वाट द हेल वाज ही डुइङ फर द लास्ट ८ आवर्स, यू उड ह्याभ बिन एबल टू डु इट।

पछि बुझ्दाखेरि त्यो तिनीहरुको चलन नै रहेछ। नयाँ मान्छेको परीक्षा गर्नलाई कृतिम तरिकाले असाध्यै अफ्ठ्यारो परिस्थिति बनाउने। त्यहाँ कोप गर्न नसके छोडेर भाग्थे नयाँहरु। एट्किन्सन मोर्लेको ट्रेनीहरुको डेथ रेट (करियर नसिध्याई भाग्ने रेट) उच्च थियो। त्यहाँ ज्वाइन गरेकामध्ये ३० प्रतिशतचाहिँ करियर नै छोडेर भाग्ने। त्यस्तो खालको स्ट्रेस हुन्थ्यो। त्यसपछि बिस्तारै क्याचअप गर्न थालेँ। मसँग समय छँदै थियो नि। यसरी सुरु भयो, एट्किन्सन मोर्लेमा मेरो परीक्षा र काम सँगसँगै।

त्यो असाध्यै बिजी युनिट हो। प्राक्टिकल्ली बिजी युनिट। ट्रेनिङ गर्न पाइने तर स्ट्रेसको इलेमेन्ट चाहिँ असाध्यै हाई। मैले त्यो जब पाएको पनि, ‘मिस्टर हाइड’ त्यहीँको ट्रेनीले रेकमेन्ड गरेको भएर। स्पेसल रेकमेन्डेसन पनि भयो। मैले इन्टरभ्यू पनि राम्रो गरेको। उनीहरुले पनि एउटा नेपालीलाई ट्रेन गर्न पाए। इन्डिया, पाकिस्तान, नेपालमा आफ्ना चेलाहरु हुन्छन्। मलाई अलिकति लालच पनि भयो। अहिले सम्झँदा भने त्यो समय बर्बाद भएको हो जस्तो लाग्दैन, मेरो इन्डोरेन्स चेक भयो, त्यसपछि मलाई कोप गर्न गार्‍हो भएन। म छँदाछँदै दुई जना साथी रजिष्ट्रारहरु कोप गर्न नसकेर छोडेर भागे।

कताकता मलाई पनि अट्याक गर्छन् कि जस्तो लागेको थियो। तर म बँचे। त्यो यूनिटमा काम गर्दा कन्सल्ट्यान्ट प्राय: प्राक्टिस पनि गर्ने, प्राक्टिसमा हेल्प गरेबापत अलिअलि पैसा पनि दिन्थे। यसो हेर्दा त्यो पैसाले खान पुग्थ्यो। ८०/१०० पाउण्ड जति हुन्थ्यो। ‘थ्यांक्यू फर हेल्पिङ विथ प्राइभेट पेसेन्ट’ भनेर चेक आउने गर्थ्यो। अनि यति बिजी कि शनिबार आधा दिन नभई फुर्सद नै नपाउने। ड्युटी नभएको दिनमा पनि।

त्यहाँ एक वर्ष काम गर्दा तलब त केही पनि खर्च नै भएन मेरो। सपिङ गर्न जानै पाइन। त्यो बेलामा सबै पसल ५ बजे बन्द हुने, मेन सपिङ सेन्टरचाहिँ लण्डनको मेलनवाटर जाँदा अक्सफोर्ड स्ट्रीट पुग्दा तीन/चार बजिहाल्ने, दुई बजे काम सिध्याएर हिँड्दा, आधा घण्टामा के सपिङ गर्ने? त्यो कमाएको पैसा पनि खर्च गर्न पाइन मैले।

त्यो जोगिएर बस्यो र त्यही पैसाले पछि काठमाडौँमा जग्गा किनेँ, घडेरी। कन्सल्ट्यान्टले दिएको खानाले खान पुग्ने। आफ्नो तलब सोझै जोगियो। जम्मा तीन लाख पैसाले ४ रोपनी जग्गा किनेको हुँ, जहाँ अहिले म बस्छु।

त्यो जग्गाको पनि कथा छ, धेरैले यति टाढा किन किनेको? बरु महाराजगञ्जमा नै ८ आना जग्गा किनेर बसेको भए हुन्थ्यो भने।

मैले साँचे, शहर एक्सपाण्ड हुँदै गएर साँघुरो हुन्छ। आठ आना जग्गामा घर बनाएर कहाँ पार्किङ गर्ने, कहाँ गार्डेन बनाउने, त्यसै भएर टाढा जग्गा लिने र धेरै जग्गा लिने भनेर चार रोपनी जग्गा लिएँ। घर बनाएपछि।

एट्किन्सन मोर्लेमा दुई वर्षजति काम गरेँ। दुई/तीन महिनामा एडजस्ट भइहालेँ, म फेरि त्यही क्वाटरमा बस्थेँ, नजिकै जहिले बोलाए पनि पुग्न सक्ने, त्यहाँ षडयन्त्र पनि गर्थे साथीहरुबिरुद्ध।

डेढ वर्षपछि म एक्टिभ सिनियर रजिष्ट्रारमा प्रोमोट गरेँ। प्रोमोट भएपछि रजिष्ट्रार ड्युटीमा पनि बोलाउने चलन थियो। एकजना त्यहीँका रजिष्ट्रार चाहिँ अलि बढी नै महत्वाकांक्षी। अहिले फर्केर हेर्दा कताकता रेसिस्ट जस्तो पनि लाग्छन्।

पहिलो कुरा, उनले अर्को सिनियर रजिस्ट्रारलाई खबर गर्नु नै बदमासी हो। दोस्रो कुरा उनी आए, ड्युटी नहुँदा पनि। त्यो अर्को बदमासी भयो।

एक दिन अचम्म के भयो भने शनिबार म ड्युटीमा। उनी पनि ड्युटीमा। १२/१ बजेसम्म एउटा पनि कल आउँदैन। त्यो त बिजी ठाउँ, १५, २० मिनेटमा त कल आइरहनुपर्ने। म त्यहीँ क्वाटर नजिकै बसिरहेको थिएँ, १२ बजेसम्म पनि कल नआएपछि मलाई अनौठो लाग्यो। अलि छट्पटी भयो। ‘के भएको रहेछ’, बुझ्नुपर्‍यो, सोचेर हस्पिटल पसेँ। तीन चार मिनेटको वाकमा थियो।

हस्पिटल पस्दाखेरि ती रजिष्ट्रारले त गर्न पनि महाउट्पट्याङ गरिछिन्। उनी महिला थिइन्, म उनको नाम लिन चाहन्न। पछि उनी ब्रिटिस न्युरो सर्जरी सोसाइटीको प्रेसिडेन्ट पनि भइन्।

असाध्यै ‘पुसी’ थिइन्। दोस्रो उनलाई सपोर्ट गर्ने चाहिँ अर्का सिनियर रजिस्ट्रार थिए। के गरे यिनीहरुले भने एउटा फ्रन्टल ब्लिडिङको बिरामी आइछिन्। उनले मलाई बोलाउनुको साटो अर्का सिनियरलाई बोलाइछिन्, जो ड्युटीमा थिएनन्। म ड्युटीमा थिएँ, मलाई नै खबर नगरी अर्कालाई खबर गरिन्।

पहिलो कुरा, उनले अर्को सिनियर रजिस्ट्रारलाई खबर गर्नु नै बदमासी हो। दोस्रो कुरा उनी आए, ड्युटी नहुँदा पनि। त्यो अर्को बदमासी भयो। म ड्युटीमा छैन आज डेब (मलाई देवकोटा नभनेर डेब भन्ने गर्थे) भनेर बोलाउनुपर्छ कि पर्दैन? इम्प्लाइड के भयो, मलाई बोलायो, म गइन अनि ड्युटीमा नभएकालाई आउनुपर्‍यो भन्ने पर्‍यो नि।

त्यसरी फिट गर्ने क्या यिनीहरु, सब्बै मिलेर कन्सपायर गरे। म यहाँ बस्नुपर्ने मान्छे नै होइन, मेरै देशमा मेरो भविष्य बनाउनु छ मैले। तर यस्तो षड्यन्त्रमा पनि परेँ यहाँ।

त्यहाँ एक जना १९ वर्षको केटी आइपुगेको थिइन्, नाम नलिऊँ, अफ्रो-क्यारेबियन लेडीमात्र भनौँ। त्यो केटीको रगत जमेको रहेछ टाउकोमा। युजल्ली त्यस्तो रगतचाँहि आर्टेरो भेनस माल्फर्मेसन फुटेर हुन्छ। त्यसपछि त्यो रजिष्ट्रारले म ड्युटीको ‘सिनियर’ रजिष्ट्रारलाई खबर नगरिकन अर्को ‘सिनियर’ रजिष्ट्रारलाई खबर गरेछन्। त्यो सिनियर रजिष्ट्रार र ऊ मिलेर आएर एन्जियोग्राम गरिसकेका रहेछन्। एन्जियोग्रामपछि एबिएम देखिइसकेपछि अनि के गर्ने भनेर कन्सल्ट्यान्टलाई बोलाएछन्। कन्सल्ट्यान्ट पनि आइपुगेको बेलामा म पुगेछु। सबैले मतिर हेरेँ। दुई जनाले षड्यन्त्र गरेको भएर मलाई अचम्म मानेर हेरेँ। रजिष्ट्रार र सिनियर रजिष्ट्रारले यो अल्छी कसरी आएन भन्ने सोचे होलान्। त्यसै पनि ओभरसिज अर्थात् इण्डिया-नेपालको मान्छे यस्तै हुन्छन् भन्ने सोचाइ उनीहरुको। ड्युटीमा भएको मान्छे आएन र ड्युटीमा नभएको मान्छे आयो भनेर उसलाई चाँहि, ‘नचाहिने पगरी गुथायो’ र मलाई चाहिँ ‘चाहिने नचाहिने दोष लगायो। उसको मुड पनि खराब। तर त्यहाँ तिनीहरुलाई एक्सप्लेनेसन दिन खोज्नुको अर्थै थिएन। जानाजानको रेसिस्ट षडयन्त्र थियो, त्यो अत्यन्त ‘तल्लो दर्जा’ को। आफूभन्दा अगाडि जान खोज्नेलाई तल झार्ने नियत थियो त्यसमा।

त्यसपछि मैले हेरेँ। त्यहाँ त्यसबेला मेरो रोल केही पनि भएन। अनि रिचर्डसन ‘यसरी गर अप्रेसन, अहिले एभीएम ननिकाल, प्लटमात्र निकाल, पछि बिरामी अलि निको भएपछि एभीएम निकाल्ने’ भनेर जानुभयो। ठीक पनि हो, बेठिक पनि। कन्फिडेन्ट मान्छेले एउटै सिटिङमा निकाल्नु पर्ने थियो। एनिवे, त्यो केटीको प्लट निकालेँ, अलिपछि ठिक भएपछि एभिएम एक्साइज गरेपछि घर गएँ। प्यारालाइज्ड भइन् तर बाँचिन्।

त्यसपछि मैले विचार गरेँ। नेपाल जाने सोच त थियो- तैपनि यस्तो तल झरेर षडयन्त्र गर्ने ठाउँमा कुनै हालतमा धेरै बस्ने वाला छैन। अरु दृढ बनेँ। अहिले म नेपाल जान्छुभन्दा त यो परिस्थिति भयो भने यहीँ बस्ने भए  पछि खुट्टै काट्न थाल्लान्। मैले अरु कसैलाई भनेर काम लाग्दैन भन्ने लागेर सबैभन्दा जुनियर कन्सल्ट्यान्टलाई यसबारे के भएको थियो वास्तविकता बताइदिएँ। उनले रिचर्डसनसँग त्यो कुरा पुर्‍याउन सके कि सकेनन्, त्यो थाहा छैन, तर डेबिड अट्लीलाई चाहिँ भनेछन्।

त्यसको एक महिनाजति पछि डेबिड अट्लीले मलाई भन्नुभयो, ‘तिमी अब सिनियर रजिष्ट्रार भएर क्विन स्क्वायरमा जाने।’ क्विन स्क्वायर भनेको न्युरोलोजिकल सेन्टर, नेसनल हस्पिटल।

वर्ल्डको पहिलो न्यूरोलोजिकल हस्पिटल हो, १८८२ तिर स्थापना भएको। ‘तिमी अब क्विन स्क्वायरमा जाऊ, सिनियर रजिष्ट्रार भएर, त्यहाँ खालि छ। म रेकमेण्ड गर्छु।’

अट्लीले यसो भन्नुको पछाडि सम्भवत: त्यो षड्यन्त्रको आभास पाउनु भएको थियो। अब यिनीहरुले अझ दुख दिन्छन् भनेर माया गरेर नै मलाई भन्नुभएको हो। त्यो सम्मानमा मैले यहाँ (न्यूरो अस्पताल बाँसबारी) अट्ली विङ पनि बनाएको छु। डेबिड अट्लीले मलाई राम्रो गर्नुभएको हो।

नेसनल हस्पिटलमा मेरो इन्टरभ्यू हुने भो, जबको लागि। इन्टरभ्यू चाँहि दिउँसो दुई बजेको लागि राखेको थियो।

यो पनि पढ्नुहोस्

जेष्ठ १२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्