ट्रम्प–किम वार्ता तोकिएकै मितिमा !

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ–उनबिचको वार्ता तोकिएकै मितीमा रहुने सम्भावना देखिएको छ ।

उत्तर कोरियाको सरकारी समाचार संस्था केसिएनएले वार्ता तोकिएकै मितीमा हुनेमा आशावादी रहेको र त्यसका लागि नेता किम प्रतिबद्ध रहेको उल्लेख गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको बिहीबार उत्तर कोरियाको तर्फबाट शत्रुताको वातावरण बनेको भन्दै वार्ता रद्द गरेका थिए । तर त्यसपछि शनिबार भने उनले वार्तालाई पुनः गर्नका लागि सकारात्मक छलफल भएको भन्दै तोकिएकै मिती जुन १२ मा सिंगापुरमा वार्ता हुने सम्भावना देखिएको ट्रम्पले ट्वीट गरेर बताएका थिए ।

उत्तर कोरिया र दक्षिण कोरियाका नेताबिच शनिबार आकस्मिक वार्ता भएको थियो । त्यो वार्ता ट्रम्प–किम वार्ताको तयारीका रुपमा रहेको विश्लेषण गरिएको छ । दुवै देशका नेता बेलाबेलामा वार्ता गर्नका लागि सहमत भएको उत्तर कोरियाको सरकारी समाचार संस्था केसिएनएले जनाएको छ ।

उत्तर कोरिया नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनबिच दुई देशको सीमा क्षेत्रमा भेटवार्ता भएको हो । दुई देशका शीर्ष नेताबिच भएको यो दोस्रो वार्ता हो ।

यसअघि गएको अप्रिलको अन्तिममा यी दुई नेताबिच पहिलो पटक भेटवार्ता भएको थियो र सम्बन्ध सुधारका लागि प्रयास गर्ने सहमति पनि बनेको थियो । तर झण्डै दुई हप्ता अघिका लागि तय भएको फलोअप वार्ता भने उत्तर कोरियाले रद्द गरेको थियो ।

दक्षिण कोरिया र अमेरिकाले गरेको संयुक्त सैन्य अभ्यासबाट निराश भएको उत्तर कोरियाले वार्ता रद्द गरेको थियो । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार किमसँगको वार्ता रद्द भएको घोषणा गरेपछि शनिबार उत्तर र दक्षिण कोरियाका नेताबिच आकस्मिक रुपमा भेटवार्ता भएको हो ।

वार्ता उत्तर कोरिया तर्फको पानमुनजोममा भएको हो । वार्ता नेपाली समय अनुसार शनिबार दिउँसो पौने १२ बजेदेखि पौने दुई बजेको बिचमा भएको दक्षिण कोरियाका राष्ट्रपति मुनको कार्यालयले जनाएको छ ।

जेठ १३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्